भक्तपुरमा कसिमला र चेस प्रतियोगिताको उद्घाटन
मंसिर २२, २०७८, बुधबार | विहान १०:१८ बजे | 45
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत कसिमला पायँ र बुद्धिचाल प्रतियोगिताको संयुक्त रुपमा बुधबार दत्तात्रय परिसरमा उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले यहाँका लोपोन्मुख स्थानीय मौलिक खेललाई जीवन्तता दिँदै उक्त खेलहरुको तालिम सञ्चालन गर्दै प्रतियोगिताहरु समेत गर्दैै आइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तरनगर प्रतियोगिता आयेजना गर्दै विद्यार्थीहरुलाई उत्साहित गर्दै आइरहेको बताउनुहुँदै भक्तपुरको मौलिक परम्परा र संस्कृतिलाई मजबुट बनाउन र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न विविध गतिविधि अगाडि सार्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विद्यालय तहबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले खेलकुद प्रतियोगिता आयोजनामा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बुद्धिचाल संघका निर्मल प्रजापति, कसिमला पायँका तर्फबाट रोशनराज तुइँतुइँ, भनपा वड नं. ९ खेलकुद समितिका अध्यक्ष निर्मल प्रजापतिले खेलको बारे प्रष्ट पार्नुभएको थियो ।