पुस्तकालय कार्यदलको प्रतिवेदन हस्तान्तरण
मंसिर २१, २०७८, मङ्गलबार | दिउँसो ०२:२५ बजे | 25
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७८ असोज १९ गते बसेको भक्तपुर नगरक्षेत्रभित्रका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको सुधारको लागि सुझाव पेश गर्न गठित कार्यदलले नगर प्रमुख सुनिल प्रजापतिलाई सोमबार पुस्तकालय कार्यदलले प्रतिवेदन हस्तान्तरण ग¥यो ।
टोलीले भक्तपुर नगरमा रहेका ३२ वटा पुस्तकालयमध्येबाट २६ वटा पुस्तकालयको तथ्यांक स्थलगत अध्ययन गरेको थियो । प्रतिवेदन ग्रहण गर्दै नगर प्रमुख प्रजापतिले सार्वजनिक पुस्तकालयले देशमा सामाजिक न्याय, सभ्यता र समानतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका रहने हुँदा सबैले अपनत्व ग्रहण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
साथै पुस्तकालयले नागरिकहरुमा चेतना फैलाउने मुख्य आधार भएकोले टोलीबाट प्राप्त सुझावका नगरमा रहेका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको स्तरोन्नति गर्न भौतिक तथा आर्थिक सहयोग गर्न सकिने कुरा बताउनुभयो ।
यसका लागि हरेक वडामा कम्तिमा एउटा पुस्तकालयको विकासमा जनप्रतिनिधिहरुले पनि विशेष पहल र ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा संचालित जनज्योति पुस्तकालयका पुस्तकालय अधिकृत भूपाल मूलको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको थियो भने सदस्यहरुमा रविन्द्र प्रसाद कुसी, (प्रगति पुस्तकालय), दिनेश खड्गी (लेनिन पुस्तकालय), कृष्ण प्रसाद सुवाल( सहिद राजकुमार स्मृति पुस्तकालय), रामकृष्ण मूलगुठी (मंगलाछें युवा क्लब तथा पुस्तकालय) को रहेको छ ।
कार्यदलले पुस्तकालय सुधारको लागि पुस्तकालयहरुलाई नगरपालिकाले आर्थिक र भौतिक सहयोग गर्नुपर्ने, प्राथमिक चरणमा भक्तपुर नगरपालिकाबाट प्रकाशित सबै पाठ्यसामाग्री र भक्तपुर मासिक, ख्वप पौ, मजदुर र श्रमिक पत्रिका उपलब्ध गराउन, पुस्तकालयमा काम गर्ने जनशक्तिलाई पुस्तकालयसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्नेलगायत ११ वटा सुझावहरु दिएको छ ।