नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेजको २० औं र ख्वप कलेज अफ इन्जिनियरिङ्गको १३ औं वार्षिक उत्सव कार्यक्रम बुधबार कलेज प्राङ्गणमा भव्यताका साथ सम्पन्न भयो ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले विद्यार्थीहरुले ज्ञान र चिन्तनलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुहुँदै विद्यार्थीहरुले देश र जनताको सेवा गर्ने भावनाले राजनीति गनुपर्ने बताउनुभयो ।
डाक्टर र इन्जिनियरहरुले राजनीति गर्दैनन् भन्दै बौद्धिक व्यक्तिहरुलाई राजनीतिबाट टाढा राख्न भ्रम फैलाइरहेको उल्लेख गर्नुहुँदै प्रमुख अतिथि विजुक्छेंले राजनीतिबाट कोहि पनि अछुतो नरहने र देशमा निस्वार्थ सेवा गर्ने राजनीतिकर्मीको खाँचो रहेको स्पष्ट पार्नुभयो ।
उहाँले कार्ल माक्र्सको सिद्धान्तको चर्चा गर्नुहुँदै माक्र्सले “पूँजीवादको ठाउँमा सर्वहारा वर्गको शासन सत्ता आउँछ भनी उल्लेख गरेको हो । वर्ग संघर्षको बारेमा पूँजीवादीहरुले पत्ता लगाएको हो” भन्नुभयो । “पूँजीवादी राजनैतिक व्यवस्था ध्वस्त नगरी समाजवाद आउँदैन” भन्नुहुँदै उहाँले समाजवादी व्यवस्थामा उत्पादनका साधनहरु राष्ट्रियकरण हुने चर्चा गर्नुभयो ।
नेमकिपाका सचिव एवं माननीय सांसद माननीय प्रेम सुवालले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यका साथ २३ वर्ष अगाडि ख्वप उच्च मावि, २० वर्ष अगाडि ख्वप इन्जिनियरिङ्ग कलेज र १६ वर्ष अगाडि ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सिटिभिटी अन्तर्गत नर्सिङ्ग र सब–इन्जिनियरिङ्ग विषय अध्यापनको स्विकृति लिई हाल ख्वप सर्कलका ७ वटा कलेजहरु सञ्चालनमा रहेको चर्चा गर्नुहुँदै ७ वर्ष अगाडि मेडिकल कलेज सहितको ख्वप विश्वविद्यालय सञ्चालनको लागि ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता भइसकेको जानकारी दिनुभयो ।
उहाँले शासक दलहरु संसदबाट एमसीसी पारित गरी नेपाललाई भारतको नवउपनिवेश बनाउन लागि परेको जानकारी दिनुहुँदै एमसीसीको विरोधमा नेपाल मजदुर किसान पार्टीले सडक र सदनमा निरन्तर आवाज उठाईरहको स्पष्ट पार्नुभयो ।
ख्वप इन्जिनिरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गका सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने र २१ औं शताब्दीका लागि योग्य नागरिक तयार गर्ने उद्देश्यले २ वटा इन्जिनियरिङ्ग कलेज सहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताउनुहुँदै ती कलेजहरुमा देशभरका झण्डै ६ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुभयो ।
“समाजवादी व्यवस्थमा शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ” भन्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित २ वटै इन्जिनियरिङ्ग कलेजबाट उत्तीर्ण विद्यार्थीहरुले देशको कुना काप्चामा पुगेर जनताको सेवा गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
“देशको विकासमा प्राविधिकहरुको ठूलो हात रहन्छ” भन्नुहुँदै उहाँले पैसाको लोभमा ठेकेदारको मिलोमत्तोमा कमजोर निर्माण गरी गुणस्तरहीन निर्माण कार्यले गर्दा पुलहरु भत्किएको उदाहरण दिनुहुँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित इन्जिनियरिङ्ग कलेजहरुबाट उत्पादित जनशक्ति नपासँग जोडिएको हुँदा गलत प्रवृत्तिहरुबाट टाढा रही देशभर नमूनाको रुपमा प्रस्तुत हुन उत्प्रेरित गर्नुभयो ।
बागमती प्रदेशका सभासद् माननीय सुरेन्द्रराज गोसाईले भनपाद्वारा सञ्चालित दुई वटै इन्जिनियरिङ्ग कलेजहरु नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्यस्थलमध्ये एक रहेको चर्चा गर्नुहुँदै देश निर्माणको लागि ख्वप सर्कलका कलेजहरुले विद्यार्थीहरुको स्तर उकास्न गरेको प्रयासको जनताको शिक्षालयको रुपमा परिचय दिन प्रशंसा गर्नुभयो ।
उहाँले ख्वपको राजनैतिक, साँस्कृतिक र आर्थिक पहिचान बनाउनमा नेपाल मजदुर किसान पार्टीको योगदानलाई स्मरण गर्नुहुँदै विगतको इतिहासबाट नयाँ पुस्ताले सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भनपा उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं रजनी जोशीले भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापनको लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्नुहुँदै शिक्षा नै विकासको आधार हो भन्नुभयो । उहाँले सर्वसाधारणको शिक्षाको पहुँच अभिवृद्धिको लागि नपाले गरिरहेको प्रयास र शिक्षाको आवश्यकताको विषयमा चर्चा गर्नुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका डिन प्रा.डा. देवी प्रसाद भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयले गरिरहेको गतिविधिको बारेमा चर्चा गर्नुहुँदै भनपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ्ग कलेज पहिलो समुदायमा आधारित कलेजको भएको उल्लेख गर्नुभयो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयको नारा जोड “पूर्वाञ्चल विश्वविद्यालय जनसमुदायमा” रहेको समेत जानकारी दिनुभयो ।
नेपाल इन्जिनियरिङ्ग काउन्सिलका रजिष्ट्रार शिवमंगल गिरीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटै इन्जिनियरिङ्ग कलेजको परिणाम स¥हानीय रहेको उल्लेख गर्नुहुँदै इन्जिनियरिङ्ग काउन्सिलको तर्पmबाट पेशागत र गुणस्तर सुधारका लागि आवश्यक सहयोगको लागि प्रतिवद्धता जाहेर गर्नुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नगरपालिकाबाट सञ्चालित कलेजहरुमा थोरै शुल्कबाट गुणस्तरीय शिक्षा प्रदान गर्नु प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै ख्वपका विद्यार्थीहरु सबै क्षेत्रमा प्रतिस्पर्धी बनिरहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सय वर्ष पछिको भक्तपुरको अवधारणालाई मूर्त रुप दिन शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिई भक्तपुर नगरपालिका अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै नगरभित्रका विद्यार्थीहरुको उच्च शिक्षा प्राप्तिको सहजताका लागि भनपाले शैक्षिक ऋण सहुलियत ब्याजदरमा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य ई. सुजन माक र ख्वप कलेज अफ इन्जिनियिरिङ्गका प्राचार्य ई. सुनिल दुवालले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कलेजका शिक्षक नवराज बुढाथोकी र राजन जतिले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले सम्पदा संरक्षणमा योगदान गर्ने डकर्मी रामचन्द्र अवाल, सिकर्मी लक्ष्मीभक्त राजचल र लोहकर्मी काजीराम रंजितकारलाई तथा ख्वप माविमा दस वर्ष निरन्तर सेवा गरेका २२ जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो ।
संघीय सांसद माननीय प्रेम सुवाल र बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले कलेजबाट आयोजित बास्केटबलका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो भने कलेज सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले आर्किटेक्चर, इलेक्ट्रीकल इन्जिनियरिङ्ग, कम्प्युटर र सिभिल इन्जिनियरिङ्गमा स्नातक तथा अर्बन डिजाईन एण्ड कन्जर्भेसन र अर्थक्वेक इन्जिनियरिङ्गमा स्नातकोत्तर तह उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई सम्झनाको चिनो प्रदान गर्नुभएको थियो ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रमको समापन पश्चात सांस्कृतिक प्रस्तुतिहरु पनि देखाइएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments