किन गरे विद्यार्थीले अदालत अगाडि नाराबाजी ?
मंसिर ९, २०७८, बिहीबार | दिउँसो ०२:२१ बजे | 55
कानुन व्यवसायीहरुले सर्वाेच्च अदालत काठमाडौंमा प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जवरोको राजीनामाको माग राखी दैनिक प्रदर्शन गरिरहेको छन् । यही बेला विहीबार विद्यार्थीले पनि अदालत अगाडि धर्ना दिएका छन् । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण दुवाकोट भक्तपुरका विद्यार्थीले जिल्ला अदालत भक्तपुर अगाडि धर्ना दिएका हुन् ।
कलेजका तत्कालिन अध्यक्ष लम्वोदर न्यौपानेले कलेजविरुद्ध ठगी गरेको र उनलाई नबचाउन चेतावनीसहित विद्यार्थी विद्यार्थीले अदालत गेट अगाडि दिनभर धर्ना दिएका हुन् । तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई प्रभावमा पारी कलेज निजीकरण गर्न ७८ लाख घुस दिएको आरोपमा लम्वोदर त्यति नै रकम धरौटी तिरेर त्यो बेला जेल पर्नबाट जोगेर लम्वोदर बदनाम भएका थिए ।
दुई तीन सयको संख्यामा आएका विद्यार्थीले अदालत गेट अगाडि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए । विहान ११ बजेबाट धर्ना सुरु गरेका उनीहरु साँंझसम्म पनि धर्नामै थिए ।
ठगलाई उन्मुक्ति नदिई कारबाही गर्न माग गरी उनीहरु धर्नामा बसेका थिए । धर्नामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायतका ठूला तथा साना राजनीतिक दल निकटका विद्यार्थी संगठनका नेताहरु, स्थानीयबासी तथा कलेजका शुभचिन्तकहरुसमेत सहभागी थिए ।
कलेजका तत्कालिन अध्यक्ष लम्वोदर न्यौपानेले मुनाफारहित कलेजलाई नाफामूलक कलेज बनाउने वदनियत गरी कलेजको सम्पत्ति आप्mनो एकल नाममा पार्ने दुश्प्रयास गरेको र अधिकार क्षेत्र मिचेर कलेजको सम्पत्ति ठगी गरेको आरोपमा बिहीबार जिल्ला अदालत भक्तपुरमा परेको मुद्धाको सुनुवाई भएको थियो । केन्द्रिय अनुसन्धान व्युरो (सीआईवी)ले दायर गरेको सरकारबादी मुद्धामा त्यहाँं बहस भएको थियो । अदालतकोसमेत मिलेमतोमा ठगलाई उन्मुक्ति दिने षडयन्त्र नहोस् भनी सचेत पार्न विद्यार्थी स्वतस्फुर्ट रुपमा अदालत परिसरमा आई धर्नामा बसेका थिए । विहीबारको सुनुवाई हेर्दाहेर्दैमा पुगेर टुंगिएको छ । मुद्धामा आइतबार पुनः बहस हुने जनाइएको छ ।
मुनाफारहित संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता गरी चलेको कलेजका कागजपत्रहरु जिल्ला प्रशासन कार्यालय भक्तपुरबाटसमेत लुकाई गायव गरी निजी गर्ने प्रयास भइरहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता गरिएको कागजपत्रहरु प्रशासनबाट गायव गरे पनि दर्ताको सक्कली प्रमाणपत्र कलेजसँंग सुरक्षित रहेको कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ बताउँंछन् ।