इन्दुल केसी
कवि पदम दाहालज्यू एक उदीयमान साहित्यकार हुनुहुन्छ । नेपाली साहित्य भण्डारमा कवि पदम दाहालज्यूको ‘आँसुको दह’ कविता सङ्ग्रहको रूपमा एउटा नयाँ कृति थपिएको छ । दाहालजीका रचनाहरू नेपाल भूमि, हिमालय टाइम्स, गोरखापत्र, मधुपर्क आदि विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइरहने भएकोले साहित्यिक पाठकहरूको माझ वहाँ चिरपरिचित हुनुहुन्छ । यसभन्दा पहिले वहाँको ३ वटा कृति ‘बादलका तरेलीहरू’ कविता सङ्ग्रह संस्मरण) ः डम्बरुप्रसाद ढुंगाना (सम्पादन, २०७६), किताबहरू प्रकाशित भइसकेका छन् ।
    शब्दयात्रा प्रकाशनबाट प्रकाशन पुष्प १४० औं पुस्तकका रूपमा प्रकाशित यस किताबमा छन्द शास्त्रीय छन्दमा रचिएका ५३ वटा कविताहरू सङ्ग्रहमा स्रग्विणी छन्द, भुजङ्गप्रयात छन्द, अनुष्टुप छन्द, उपजाति छन्द, वसन्ततिलका छन्द, शार्दूलविक्रीडित छन्द, चित्रा छन्द, र वंशस्थ छन्द गरी ८ वटा छन्दहरू आफ्ना कवितामा पदमजीले पाठकका लागि पस्कनु भएको छ । छन्दले कवितालाई सरसता, ललितता, रोचकता र मधुरता प्रदान गर्छ ।
    यसमा सङ्ग्रहित रचनाहरूबारे शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीज्यूको प्रकाशकीय लेख पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाज्यूले समीक्षात्मक भूमिका तथा रचनाकार स्वयम् दाहालज्यूको अग्रलेखनमा विविध पक्षबारे राम्ररी प्रकाश पार्नुभएको छ । यस कृतिको शीर्षक ‘आँसुको दह’ प्रतीकात्मक छ । सङ्ग्रहित ५३ वटा कविताहरूमा अनगिन्ती आँसुका थोपाहरू छन् । ती आँसुहरूको एउटा दह नै बन्न पुगेको छ । एउटा कविताको शीर्षक नै आँसुको दह रहेको छ । किताबको आवरण इ. रोशन मञ्जुश्रीले तयार गरेको आकर्षक आवरण चित्रमा आँखाबाट झरिरहेका आँसुका थोपाहरू सहितको एउटा गहिरो दह रहेको छ ।
    मानिसको दुःख अवस्थाको हाँसोमा पनि आँसु निस्कन्छ, दुःखित अवस्थाको रुवाइमा पनि आँसु निस्कन्छ । यी दुई अवस्थाका आँसुहरूलाई तुलना गर्दा सुखी अवस्थाका हाँसोका साथ निस्केका आँसुले शीतलता र दुःखमा रुँदा निस्कने आँसु केही गरम र नुनिलो हुन्छ । रसायन शास्त्रको आधारमा विश्लेषण वर्गीकरण गरिएको आँसुले स्वास्थ्यमा पार्ने प्रभावबारे एउटा छुट्टै चर्चा गर्न सकिएला, तर यहाँ साहित्यिक कुराको विवेचनालाई मात्र समावेस गर्नु सान्दर्भिक ठान्दछु ।
    सङ्कलित कविताहरूका शीर्षकहरूलाई केलाउँदा भक्तिभाव, ईश्वर वन्दना, प्रकृति प्रेम, राष्ट्र प्रेम, जन्मथलो, मातृभूमिप्रति प्रेम, युवाप्रेम, (जवानीको रसरङ) नेपालीहरूका चाडबाड, संस्कृतिका साथै सन्देमूलक सचेतना प्रदान गर्ने आदि विषयमा कविताहरू रचिएका पाइन्छन् ।
    कविजीले उल्लेखित विषयहरूमा आफ्ना मनमा उब्जेका भावहरू ५३ वटा कवितामा रहेका छन् तीमध्ये एउटा कविताको शीर्षकनै आँसुको दह राखिएको छ । अनुष्टुप छन्दमा रचिएको यस कवितालाई १२ वटा श्लोकमा विभक्त गरिएको छ । कविताको शीर्षक स्वयम् प्रतीकात्मक छ ।
कविताको छैठौं र ११ औं श्लोकमा गरी २ पटक आँसुको दह शब्द प्रयोग भएको छ । भिक्षा माँग्न आउने भिक्षुकले शोकसुर्ताको कारणले, नव जात बालकले आफ्नो गर्भबाट निस्कँदा पर्ने शारीरिक कष्टका कारणले आँसु झार्छन्, आँसु झार्दै भित्र मनमा परेको पीडालाई शान्त पार्न खोज्दछन् । तर यसरी आँसु झर्दैमा आँसुको दहले के संसारको रडाको दूर हुन्छ र भनी कविजी प्रश्न गर्छन् ।
    आँसुको दुःखको कारण यौवनको अवस्थामा आफ्नी प्रियसीसँगको मिलनमा मनको पीर बोझ हटेको अनुभूति हुँदा आँखाबाट शीतल आँसु झर्ने कुरा यहाँ चर्चा गरिएको छ । आँसु बग्दा कविजी तेस्रो श्लोकमा भन्नु हुन्छ ।
“पीडा आँसु तप्केको मर्म बुझ्ने मनुष्य हौ
दुखेको दिलमा शान्ति छर्ने बुद्ध र शिष्य हौ ।”
    यस कविताको यो अन्तिम श्लोक कविजीले पाठकलाई दिनुभएको निचोड हो । चुनिएका सुन्दर शब्दहरू, छन्दोबद्ध लयात्मक भावभङ्गिमा र समाजलाई संसारको यथार्थ सत्य सन्देश यस कविताले दिन खोजेको पाउन सकिन्छ ।
    यस कृतिमा रहेका ५३ वटा छन्दोबद्ध कवितामध्ये ८ वटा प्रतिनिधि कवितालाई मैले समीक्षाका लागि छानेको छु । ती कविताहरूको संक्षिप्तरूपमा केही चर्चा गर्ने जमर्को गरेको छु । हाम्रो धार्मिक मान्यताअनुसार कुनै पनि कार्यको सुरूवातमा सर्वप्रथम मङ्गलाचरणको रूपमा स्रग्विणी छन्दमा रचिएको सरस्वती वन्दना शीर्षकको कविता रहेको छ । कविताको शीर्षकले नै यसको स्वरूपको आभास दिन्छ । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीको दिन विद्यादायिनी सरस्वतीको वन्दना, प्रार्थना गर्ने प्रचलन नेपाली समाजमा प्रचलित छ । हाँसको वाहन गरी हातले सङ्गीतको वाद्यवादन साधन वीणा, पुस्तक धारण गरेकी सरस्वतीको मूर्ति या चित्र हामी सबैले देखिआएका हौं । ज्ञानको भण्डारको रूपमा रहेकी सरस्वती मातालाई सबैकी आराध्य देवीका रूपमा पुजिन्छ ।
“बाहुमा तारबाजा लिने गीत हौ
ज्ञान भण्डारकी चाँदनी सीप हौ
भर्दिन्ू चेतना चेतमै उच्चता
सारथी देवकी धन्य हौ धीरता ।”
    आध्यात्मिक भक्तिभावले भरिएको यस कवितालाई सस्वर वाचन गर्ने बेलामा सबैलाई देवी प्रति भक्तिभाव प्रकट गरिन्छ भन्ने लागेको छ । नेपाली भाषामा रचिएको यस कवितामा धेरै संस्कृत शब्दहरूको प्रयोग भएको पनि देखिन्छ ।
    छनौटमा परेको अर्को कविता वंशस्थ छन्दमा रचिएको “अनन्य ईश्वर” शीर्षकको कविता रहेको छ । यस कवितामा ब्रह्म, ॐकार मन्त्र, आत्मा, हंसमा रहेको चेतन तत्व जस्ता आध्यात्मिक विषयसँग सम्बद्ध अति गहन कुरा राखिएका छन् ।
“मरेर मर्दैन जीवै मरे पनि
जलेर जल्दैन जीवै जले पनि
छ नित्य आत्मा हुनु छैन अन्त्य यो
छ हंसमा चेतनतत्व सत्वको ।”
    गहन आध्यात्मिक विषयवस्तुलाई सरलरूपमा यस कविताको माध्यमबाट कवि पदमजीले प्रस्तुत गर्नुभएको छ । प्रचलित एउटा कहावत् छ — बगेको खोला र बितेको समय फर्किदैन । समयका ३ वटा अवस्था भूत, वर्तमान र भविष्य हुन् । त्यसमा भूत र भविष्य मानिसका अधीनमा रहँदैनन् । केवल वर्तमान समयलाई मात्र हामीले उचित तरिकाले प्रयोग गर्न सक्नुपर्छ, त्यसैमा सबैको हित छ । तर प्रायः मानिसको स्वभाव आफूले गर्नुपर्ने कतिपय महत्वपूर्ण काम वर्तमान समयमा नगरी पछि गरुँला भनी समय साँचिरहेको हुन्छ । कवि पदम दाहालजीले वसन्ततिलका छन्दमा “वेला बितेपछि पछुतो” शीर्षकको कविता रच्नुभएको छ । यस कवितामा मानिसहरू कमाउ धन्दामा मात्र लागेर पाठ पूजा धर्म कर्मजस्ता पवित्र कार्य पन्साउनेहरूलाई बेला बितेपछि पछुताउनू पर्ला है भनी सचेत गराउन खोज्नुभएको छ ।
“दीर्घायु जीवन छ टन्न भनी बसेको
बेला छँदैछ पछि गर्छु भनी पखेको
लाग्थ्यो कमाउन सकेजति लान्छु थैलो
बोक्नै दिँदैन तर काल अनिष्ट पैरो ।।७।।
बेला बितेपछि कठै ! पछुतो सिवाय
आत्मा उघार्न नपसे सुख छैन हाय ! ।।८।।
भनिन्छ, समय नै धन हो ।”
यही सन्देश यस कविताले दिएको देखिन्छ ।
    वर्तमान समयमा हाम्रो देशका धेरै मानिसहरू रोजगारी ‘नोकरी’ गरी धन कमाउने इच्छाले विदेश जाने गरेका छन् । विदेश गएकाले विदेशमा पसिना बगाई कमाइ पनि गरिसकेका छन् । विदेश जान म्यान पावर कम्पनीलाई लाखौं रुपैयाँ बुझाउन आफ्नो भएको खेतबारी बन्धक राखी चर्को ब्याज मोली ऋणमा डुबिरहेका हुन्छन् । कतिपय नेपाली विभिन्न कारणले विदेशको कारागारमा परिरहेका पनि हुन्छन् । अर्कोतर्फ दिनहुँ जसो विदेशमा मृत्युवरण गरेका ठूलो संख्यामा नेपालीहरूको लास नेपाल ल्याइरहेको कुरा पत्रपत्रिका समाचार प्रकाशन गरेबाट नै अवगत हुन्छ । कवि पदम दाहालज्यूले भुजङ्गप्रयात् छन्दमा “म फिर्दैछु छोरो” शीर्षकको एउटा कविता यस सङग्रहमा राख्नुभएको छ । यस कवितामा एउटा विदेशमा बस्ने छोरो मान्छे आफू स्वदेश फर्कदैछु भनी फर्कनुको कारण कवितालाई माध्यम बनाएर नेपाली समाजलाई सन्देश दिइरहेझैं लाग्छ ।
“न सम्झेर माटो नफर्केर गाउँ
सबै शून्य भो शून्य सुन्दैछु ठाउँ
म फिर्दैछु छोरो ढिलो भो म फिर्न
छ बाँझै बिरौटो छ रुम्टो विदीर्ण ।।”
६ श्लोकको यस कविताले विदेशको मोहभङ्ग गरी स्वदेशसित माया बसाई ममताको बखान गरिएको यो कविताले वर्तमान विदेश जान लर्को लाग्नेको लागि सचेत तुल्याउँछ । यस कविताले विदेसिन खोज्नेहरूलाई एउटा गतिलो स्वदेशप्रेमको पाठ सिकाएको छ । कवितामा प्रयोग भएका केही शब्दहरू फिर्दैछु, फिरौं, राँटो, पाला, बिरौटो, रुम्टो, विदीर्ण आदिलाई आम नेपालीहरूले बोलिने चलन चल्तिका शब्दहरू यस कवितामा प्रयोग भएका छन् भन्ने लाग्छ । अनुप्रासयुक्त शब्द शब्दावली अत्यन्त मिठो शैलीमा उपयुक्त पारी राखिएका छन् भन्ने लाग्छ ।
    अब अर्को शार्दूलविक्रीडित छन्दको “मेरो आत्मीय सङखुवासभा” शीर्षकको कवितातर्फ लागौं । आफू जन्मेको जन्मथलो, जहाँ हुर्के बढेको ठाउँ हुनाले त्यस्तो जन्मथलो सबैलाई प्यारो लाग्नु स्वभाविकै हो । कवि हृदय भएकाहरूले कवितामा आफ्नो जन्मथलोको बयान गर्ने प्रचलन नेपाली साहित्यमा उल्लेखनीय उदाहरण पाइन्छन् । कवि पदमजीको यस कविताको चर्चा गर्दा प्रसङ्गवश युगकवि सिद्धिचरण श्रेष्ठज्यूको “मेरो प्यारो ओखलढुङ्गा” सम्झिन पुगिन्छ । त्यस कवितामा श्री सिद्धिचरण श्रेष्ठज्यूले जस्तै कवि पदम दाहालज्यूले पनि उक्त कविता रच्नुभएको भान हुन्छ । हाल मध्यपुर ठिमी लोकन्थली भक्तपुर बस्नु भएको छ तापनि जननी जन्मभूमिच स्वर्गादपी गरीयसी भन्ने महत्वपूर्ण श्लोकलाई आत्मसात् गरी आफू जन्मेको सङ्खुवासभाको प्राकृतिक सौन्दर्य, नदी, नाला, भौगोलिक अवस्था त्यहाँ भएका विभिन्न जडिबुटी लगायत प्राकृतिक कुराको वर्णन यस कवितामा उहाँले गर्नुभएको छ ।
“प्राणीले बलशक्ति उर्वरपना हावा र पानी लिने
हाम्रै भाग्य सजाउने जगत हो दामी दिलासा दिने
बाह्रैकाल विलुप्त छन् विविधता आह्लाद सम्पन्नता
चिन्तामा मुटुमै छ गर्व जननी ! को भुल्छ आत्मीयता ?”
    नेपाली भाषाको गीत गायन क्षेत्रमा दोहोरी गीतको प्रचलन नयाँ होइन । विशेष गरी गाउँघरको चौतारीमा गाउँका केही सङ्गीत प्रेमीहरूको उपस्थितिमा युवा र युवतीले एक अर्कालाई माया प्रीतिका कुरा, एकअर्कालाई अलिक छेड हान्ने गर्ने कुरा व्यङ्ग्यात्मक गीतको भाकामा मिलाई प्रस्तुत गर्ने पनि गरिन्छ । हिजोआज यो दोहोरी गीतको प्रचलन सहर बजारमा पनि दोहोरी साँझ, डान्सबारहरूमा प्रयोग हुन थालेको पाइन्छ ।
    ‘आँसुको दह’ कविता सङ्ग्रहमा “जवानीको राग र कल्पनाको दरबार” शीर्षकको उपजाति छन्दमा एउटा कविता रचिएको पाइन्छ । यस कवितामा युवतीले प्रस्तुत गरेका ३ चरण श्लोक र युवाले प्रस्तुत गरेका ३ चरणश्लोक छन्दोबद्ध कवितामा एक आपसको प्रेमिल सम्बन्ध झल्किन्छ । युवतीलाई लागेको जवानीको राग यस्तो छ ।
    “ म यारको खोज हजारमा छु
    म मूलढोका निर द्वारमा छु ।”
    जवानी उमेरमा युवती जो प्रकृतिको प्रतीक हो उसलाई पुरुषको आवश्यकता पर्छ र उसले कुन पुरुष जीवन साथी बनाउने खोजमा लागेकी हुन्छे । यो स्वाभाविक र प्रकृतिजन्य उद्गार हो । यस कवितामा युवकले दिएको जबाफ भने यस्तो छ ः
“मुहूर्त, बेला शुभ बारमा छु
मिठास मोहान्ध छ प्यारमा छु ।
नौलो जुनीको अवतारमा छु
म कल्पनाको दरबारमा छु ।”
    उक्त जबाफका हरफहरूले युवक मोहमा अन्धो बनेर प्यारमा परेको र अनेकौं कुराको कल्पनामा रहेको कुरा पोखिएको छ । जवानीमा माया प्रेम, भनेकै प्रकृतिले नै विपरीत लिङ्गीप्रति आकर्षित गर्नेे सत्य कुरालाई  दहालजीले यस कवितामा प्रस्तुत गर्नुभएको छ । हुन त सत्य र साँचो कुरा जुनसुकै उमेरकालाई पनि प्यारो लाग्दछ । माया प्रीतिका कुरा विशेषगरी युवा युवतीलाई नै अति प्रिय वस्तु हुन्छ । यस कवितामा प्रेम पाउन एकाङ्की झैँ बनेकी युवतीको आग्रहलाई युवकले सहर्ष स्वीकार गर्दैन । आफूले निज युवतीलाई बरु अर्को एकजना योग्य वर खोज्ने इच्छा प्रकट गर्दै युवतीको पे्रममा आफू फँस्न नचाहेको विचार अभिव्यक्त भएको छ ।
    यस लेखको लागि छनौटमा परेको अन्तिम कविता “कोकोहोला कोरोना” हो । चित्रा छन्दमा रचिएको यो कविता हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना जुन अत्यन्त सोचनीय अवस्थामा कोकोहोलोको रूपमा छ । अति विकसित युरोप, अमेरिका मात्र होइन चाइना, बेलायत र अरू विकासोन्मुख एशियाका देशहरूमा पनि कोरोनाले लाखौ.ं मानिसको ज्यान गइसकेको अवस्थामा छ । यसको रोकथामको लागि अरबौं—खरबौं खर्च भइसकेको छ । उपचारको लागि कैयौं मानिस हस्पिटलमा उपचाररत छन्, कैयौं मानिस आइसोलेसनमा छन् । यस्तो विश्वकै लागि एउटा ठूलो समस्या र चुनौतीलाई विषय बनाएर पदमजीले यो कविता विश्व परिप्रेक्षलाई समेटेर लेख्नु भएको छ ।
“दन्क्यो ज्वालो, भुङ्ग्रालो भो अन्मियो देश देशै
कोकोहोलो भो, कोरोना विश्व साम्राज्य उस्कै
खायो, बुत्यायो, रित्यायो राक्षसी, राक्षसै भो
दौड्यो पौड्यो पस्ता खौलो भाग्य दुर्भाग्यझैं भो”
    कविजीले कोरोनालाई राक्षसको प्रतीकको रूपमा लिनु भै त्यो राक्षसको ताण्डव नृत्यलाई यहाँ बडो रोचक ढङ्गले प्रस्तुत गर्नुभएको छ भन्ने लाग्छ । कोरोनाले आज विश्वलाई तहसनहस बनाइरहेको परिप्रेक्ष्यमा कोरोनाले मानव जगत्मा तहल्का मच्चाएको वास्तविक यथार्थलाई काव्यात्मक भावमा उनेर यो कविता उहाँले रच्नु भएको
छ ।
    उपर्युक्त प्रतिनिधिमूलक आठ कविताहरू भिन्न भिन्न छन्दमा रचिएका उहाँका उत्कृष्ट कविता हुन् भन्ने मलाई लाग्दछ ।  

...

All Comments.......


Please Login/Register To Comments