जीवन साँच्चै अचम्मको छ।
सुरक्षा निकायमा काम गर्ने मेरा केही साथी रिटायर्ड भैसके। केही छिट्टै निवृत्त हुँदैछन्। म चाहिँ भर्खर जागिर खाने सूर कस्दै छु। आज म जागिर पाउनका लागि मैले गरेका प्रयास र अनुभवको कथा लेख्दैछु।
मेरो विद्यालय र विश्वविद्यालय अध्ययनको अनुभव अत्यन्तै सुखद रह्यो। सानैदेखि मेहनत गर्न सिकेको थिएँ। किन थाहा छैन। सायद लोकलाजले होला! अलि अलि लेखनसीप पनि विकास भएको थियो। परीक्षाको परिणाम मेरो मेहनतमा गुणान भएर आउँथ्यो। सधैं अपेक्षाकृतभन्दा अब्बल परिणाम। सधैं सफल। जीवन अब यत्तिकै सहज तरिकाले कट्छ भन्ने मेरो अनुमान थियो।
तर जीवन मलाई अर्कै पाठ सिकाउन तम्तयार भएर बसेको थियो।
एमएमसीको अध्ययनपछि मैले पिएचडी अध्ययनका लागि गरेका केही प्रयास असफल भए।
जर्मनीमा प्रि–पिएचडी  ट्रेनिङबाट पिएचडीका लागि छनोट हुन सकिनँ। जर्मनीको विश्वस्तरीय न्युरोसाइन्स ल्याबमा रहँदा मलाई कहिल्यै त्यो काम गर्ने उत्साह र ऊर्जा प्राप्त भएन। जर्मनीको निराश बसाइबाट फर्केपछि मेरो निष्कर्ष रह्यो – म विज्ञानका लागि जन्मेकै होइन।
त्यसपश्चात् मेरो बेरोजगार जीवन सुरू भयो  र त्यो नै मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो।
२०६९ साल माघमा गाउँमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ भयो। सप्ताहको दुई दिनअघि गाउँ जाँदा सप्ताह हुने–नहुने अन्योल थियो। पैसाको अभाव थियो, गाउँमा थरिथरि स्वार्थको द्वन्द्व थियो। तर युवाको जोडबलमा सप्ताह भयो। पैसा उठ्यो। सामुदायिक भवन बन्यो। पुस्तकालय बन्यो। चौतारो चिनियो। राधाकृष्ण मन्दिर प्राङ्गण विस्तार भयो। उक्त परिसर वडाको केन्द्रबिन्दु बन्यो। त्यसमा धेरै थोरै योगदान भएको मेरो जीवन पनि बदलियो।
मैले थाहा पाएँ – मेरो उत्साह र रूचि व्यवस्थापनतिर छ।
म व्यवस्थापनको मान्छे हुँ।
’तिमीले तिमीलाई मनपर्ने काम खोज्यौ भने जीवनमा कहिल्यै काम गर्नुपर्ने छैन’ कन्फ्युसियसको यही विचार अनुसरण गर्दै म लोक सेवा अधिकृतको परीक्षा दिने निर्णयमा पुगेँ। तयारी थालेँ।
त्यही साल दिएको पहिलो लोक सेवा अधिकृतको प्रारम्भिक परीक्षामा म असफल भइसकेको थिएँ।
अलि बढी दृढताका साथ अर्को तयारी थालेँ। कसोकसो निजामती कर्मचारी अस्पतालमा दिएको खुला प्रतियोगितात्मक परीक्षामा नायब सुब्बा सरहको प्रशासन सहायक पदमा नाम निस्कियो। त्यो जागिरले मलाई आर्थिक रूपमा राहत दियो।
दैनिक जीवनयापन सहज भयो। तर करार थियो पद। कार्य सम्पादनका आधारमा बर्सेनि करार थपिँदै जाने अनि चौथो वर्षपश्चात् आन्तरिक प्रतियोगितामार्फत् स्थायी हुने प्रावधान भएको। पक्का स्थायी थिएन जागिर तर त्यो मेरो चिन्ताको विषय थिएन। म अधिकृतमै नाम निकाल्न चाहन्थेँ।
वर्षभरि मेहनत गरेको लोक सेवा अधिकृत दोस्रो चरणको परीक्षाको ब्यग्र पर्खाइ थियो। नतिजा आउँदा फेल भएँ। पहिलोचोटि त आकाश खसेर थिचेजस्तो भयो। अकल्पनीय, अविश्वसनीय। फेरि अर्को वर्ष दिएँ। फेरि फेल। अब अलि डर लाग्न थाल्यो। आत्मविश्वास घट्यो। नाम निकाल्नै पो सकिन्न कि भन्ने चिन्ता बढ्यो। तर मैले लगातार परीक्षा दिइरहेँ।
सायद २०७४ सालमा लोक सेवा खुलेन। त्यसपश्चात् फेरि खुल्यो, फेरि दिएँ। प्रारम्भिक परीक्षा पास गर्थेंँ तर दोस्रो चरणमा सधैं फेल।
२०७० सालदेखि नै म सार्वजनिक संस्थानहरूको परीक्षा पनि दिन थालिसकेको थिएँ । संविधान जारी भएपछि त्यहाँ पनि लोक सेवाको संलग्नता हुन थाल्यो, परीक्षाको विश्वसनीयता बढ्यो। तर मेरो फेल हुनुको नियति रोकिएन, दोहोरिरह्यो।
यो अवधिमा मेरो जीवन पनि बदलिरहेको थियो।
सुरूमा जीवन खुबै अप्ठ्यारो भयो। असफलतालाई सहजै स्वीकार्न गाह्रो भयो, लेस ब्राउनको चिनियाँ बाँसको कथाजस्तै। चिनियाँ बाँस जसलाई  प्रत्येक दिन पानी हालिरहनुपर्छ। प्रत्येक दिन मल छरिरहनुपर्छ। तर पाँचौं वर्ष नपुगेसम्म टुसासम्म पनि पलाउँदैन।
जब पाँचौं वर्षमा चिनियाँ बाँस उम्रन्छ, पाँचै हप्तामा ९० फिट अग्लो रूख बन्छ। देख्नेहरूले बाँस पाँच हप्तामा उम्रेको देख्छन् तर वास्तवमा उक्त बाँस ५ वर्षमा बढेको हुन्छ।  
यदि कुनै पनि दिन उक्त बाँसमा मलपानी नहालिएको थियो भने उक्त बाँस मर्ने थियो। मानिसहरूको गिज्याइमा अल्झेको भए उक्त सपना मर्ने थियो। त्यसैले लडाइँ जति गाह्रो हुन्छ, जीत त्यति नै मीठो हुन्छ। जीवनमा जति ठूलो आँधी आउँछ, त्यति नै चहकिलो हुन्छ इन्द्रेणी। आँधीहरू बाटो छेक्न मात्र आउँदैनन्, बाटो देखाउन पनि आउँछन्।
अप्ठ्याराहरूले बाटो छेक्दैनन्, अप्ठ्याराहरू आफैंमा बाटो पनि हुन्। अप्ठ्याराहरूले नै भविष्यको चुनौतीहरूसँग जुध्न हामीलाई तयार बनाउँछ। संघर्षको अवधिमा जे बनिन्छ, त्यो जीतभन्दा पनि महत्त्वपूर्ण हुन्छ। जस्तो मान्छे हामी बन्छौं, जस्तो चरित्रको हामी निर्माण गर्छौं, जुन साहस हामी विकास गर्छौं, जुन आत्मविश्वास हामी आर्जन गर्छौं त्यसले हामीलाई अर्कै मानिस बनाउँछ।
तर त्यसका लागि आफूमा विश्वास राख्नु जरूरी छ, आफ्नो कर्ममा विश्वास गर्नु जरूरी छ। विश्वासले धैर्य सिकाउँछ। जबसम्म हामी रोकिँदैनौं, तबसम्म हामी कति ढिलो वा चाँडो हिँडेका छौं भन्ने कुराको खासै अर्थ हुन्न।
युट्युबमा र इन्टरनेटमा यत्रतत्र यस्तै उत्प्रेरणात्मक प्रवचनहरू हेरेर सुनेर म उत्प्रेरित हुन्थेँ। स्टिभ जब्स, गान्धी, मन्डेला, सदगुरू, रविशंकर, सोनु शर्माले मलाई उक्साइरहे। मैले मेहनत गरिरहेँ। असफलताबाट सिकिरहेँ। मेरो परिश्रमभित्र एउटा खजाना लुकेको छ भन्ने विश्वास गरिरहेँ। जबसम्म आशा रहन्छ, तबसम्म हारिँदैन भन्ने सम्झिरहेँ। कि त जित्छु कि त सिक्छु भन्ने कुरा ठानिरहेँ। हरेस नखाएसम्म जुनसुकै पुलहरू तर्न सकिन्छ भन्ने कुरा मानिरहेँ।
असफलताबाट कहिलेकाहीँ अत्यास नलागेको होइन तर मलाई थाहा भयो – जुन काम गर्न अत्यास लाग्छ, त्यो नै गर्नका लागि सबैभन्दा उपयुक्त काम हो। जीवनमा सुरूआती पाइला नै सबभन्दा अप्ठ्यारा हुन्छन्। ती पाइला कष्टकर भएनन् भने हिँडिरहेको बाटो गलत हुन सक्छ। त्यसैले गाह्रो हुन्छ। गाह्रो हुनै पर्छ। सजिलो बाटो त जोसुकै हिँड्न सक्छ। जहाजको लागि सजिलो र  सुरक्षित त समुद्रको तट नै  हुन्छ, तर जहाज त्यसको लागि बनेको हुँदैन। जहाज त जानैपर्छ समुद्रको बीचमा आँधीबेहेरीसँग पौंठेजोरी खेल्न।
यो अवधिमा कुनै विद्यालय वा विश्वविद्यालयमा नसिकेको कुरा सिकियो। धेरै–थोरै अध्यात्मिक कुरा पनि जानियो। हामीले प्रकृतिको गतिलाई स्वीकार्नु पर्छ,जसको रहस्य हो– धैर्य।
यो विश्वास गर्नुपर्छ कि सही बाटो हिँडेको खण्डमा एउटा अलौकिक शक्तिले हामीलाई डोहो¥याउनेछ। भागवत गीतामा भनिएको छ– तिमी धैर्य गर, जो तिम्रो हो, त्यो तिमीले पाउनेछौ।’
हामीले जीवनमा त्यही पाउँछौं, जसको हामी हकदार छौं। त्यसैले मनले चाहेको हुनु राम्रो हो। नहुनु अझै राम्रो हो। किनभने दुबै ईश्वरको मर्जी हो।
म त एउटा मान्छे थिएँ, अर्कै मान्छे बन्दै गएँ।
म सँगसँगै अर्को एउटा संस्था पनि बदलिरहेको थियो। म काम गर्ने मेरो कार्यालय– निजामती कर्मचारी अस्पताल। म त्यहाँ काम गर्न रमाउथेँ। आफ्नो कामलाई माया गर्थेँ। तर अस्पताल भने मैले सोचेजस्तो बन्न सकिरहेको थिएन।
कुनै समय राम्रो ख्याति भएको मेरो कार्यालयको सेवा दिनानुदिन खस्किँदै गयो। एक समयको अब्बल कार्य सम्पादन भएका कर्मचारी निरुत्साहित हुँदै गए। कारण थियो – अस्पतालको विनियमावली।
खुला प्रतियोगितामार्फत् जाँच लिएर चार वर्षपश्चात् आन्तरिक प्रतियोगितामार्फत् स्थायी गराउने विनियमावलीको व्यवस्था अस्पतालले पूरा गरेन। २०७२ को संविधानअनुकूल हुने गरी विनियमावली संशोधन गर्ने काम २०७७ सालसम्म पूरा हुन सकेन। २०७८ सालमा जब विनियमावली संशोधन भएर आयो, सबलाई चकित पार्ने गरी आयो।
नियमानुसार करारलाई स्थायी गर्ने प्रावधान हटाइयो। अनि अस्पताललाई भर्ती केन्द्र बनाउने उद्धेश्यले करार कार्यविधि नामको नयाँ कानुन ल्याइयो। देशको प्रशासकीय प्रमुख मुख्य सचिव संचालक समितिको अध्यक्ष रहेको समितिविरूद्ध कर्मचारीहरू अदालत गए।
निजामती अस्पतालमा जे भयो त्यो नै यो देशको शासन–प्रशासनको सूक्ष्म प्रतिबिम्ब हो। देशको राज्य संयन्त्र नै सुशासन र विकासभन्दा बढी नागरिकका मौलिक हक अधिकार हननमा बढी उद्धत देखिन्छ। त्यसैले अदालतमा राज्यविरूद्धका मुद्दाका चाङ छन्।
अनि यसरी देशको शासन–प्रशासनबारे पनि बुझियो। जानियो। पढियो।
मेरो कार्यालयको झमेला र देशको अस्तव्यस्तताबीच म अर्को अप्ठ्यारोतिर पनि अघि बढिरहेको थिएँ । मेरो उमेर ३५ पुग्दै थियो– सरकारी सेवा प्रवेशको अधिकतम उमेरहद। तर असफलताले पछ्याउन छाडेको थिएन। व्यवस्थापकीय काममा मेरो रूचि थियो। आत्मविश्वास भरपुर थियो। परीक्षा राम्रै दिन्थेँ तर पास हुन्नथेँ। अब उमेरले पनि मलाई भिरतिर धकेलिरहेको थियो।
तै पनि म हार मान्नेहरूमा थिइनँ। मेहनत गर्न छाड्नेहरूमा थिइनँ। मलाई थाहा थियो– हाम्रो वर्तमानको परिस्थितिले हामी कहाँ पुग्छौं भन्ने कुराको निर्क्यौल गर्दैन। यसले फगत हामी कहाँबाट सुरू गर्छौं भन्ने कुराको निर्क्यौल गर्छ। चुचुरोमा पुग्नेहरू त्यहीँ जन्मेका हुँदैनन्। अनवरत परिश्रमले मात्र त्यहाँ पुग्ने हुन्। त्यसैले अन्तिमसम्मै प्रयास गर्ने दृढता मनमा थियो।
मलाई प्रभावित गर्ने मध्येको अर्को एउटा कथा थियो– कुकुर र हात्तीको। जो राम्रा साथी थिए। दुबै एकैचोटि गर्भवती भए। कुकुरले ३ महिनामा आधी दर्जन छाउरा जन्माई। अर्को तीन महिनामा फेरि अर्को आधा दर्जन छाउरा। अर्को तीन महिनामा फेरि अर्को आधा दर्जन छाउरा। १८ महिनामा ३ दर्जन छाउरा। तर दुई वर्ष पुग्न लाग्दा पनि हात्तीको सुरसार छैन। कुकुर दौडेर हात्तीको सामु पुगी र भनी– तिमी  साँच्चै गर्भवती छौ त? मेरो त तीन दर्जन बच्चा भइसके। तिम्रो अहिलेसम्म एउटै भएको छैन।
हात्तीले उसलाई भनी– हेर ! जे चिज मेरो पेटमा हुर्किँदै छ, त्यो गज्जबको छ। यो छाउरा हैन, हात्ती हो। जब यो मेरो पेटबाट खस्नेछ, धर्तीले थाहा पाउनेछ। पृथ्वी काँप्नेछ। जब बाटोमा मेरो बच्चा हिँड्नेछ, संसार उसलाई हेर्न झुम्मिनेछ। उसको तारिफ हुनेछ। म हात्ती जन्माउँदै छु, छाउरा हैन। त्यसैले समय लाग्छ। हात्ती जन्माउन राम्रै समय लाग्छ।
मेरो पनि समय लाग्यो। अधिकृत तहको परीक्षा दिन थालेको नवौं वर्षमा नेपाल विद्युत प्राधिकरण, प्रशासन सेवाको सातौं तह (प्रशासकीय अधिकृत) मा नाम निकाल्न सफल भएँ, २०७८ कात्तिकमा।
म अधिकृत त बनेँ। तर त्यो भन्दा महत्वपूर्ण कुरा, यो क्रममा म रूपान्तरित मान्छे पनि बनेँ। मेरो जीवनलाई हेर्ने दृष्टिकोण बदलिएको छ। मैले आफ्ना कमीकमजोरी पनि स्वीकार्न सिकेको छु। आफ्नो अपूर्णतामा पनि रमाउन थालेको छु। त्यसैले मैले आफू लोक सेवा अधिकृतको परीक्षामा २१ पटक फेल भएको कुरा भनेँ, लेखेँ।
यसो भन्न ठूलो हिम्मत चाहिन्छ। भिडमा मिसिन केही आवश्यक पर्दैन, एक्लै उभिन ठूलो हिम्मत चाहिन्छ। समाजको खोक्रो ढर्रा अंगालेको भए मैले पनि भन्ने थिएँ होला– ’यसो ट्राइ मार्देको थिएँ, नामै पो निस्केछ।’

संघर्ष गर्दै गर्दा कहिल्यै आत्तिनु हुँदैन किनकि संघर्षको बखत मात्र मान्छे एक्लो हुन्छ, सफलता पाएपछि सारा संसार साथमा हुन्छ। हाम्रो सबभन्दा ठूलो डर असफल हुन्छु कि! भन्ने भयमा हुनुहुँदैन।
ठूलो डर त त्यस्तो सफलता प्राप्त गर्दा हुनुपर्छ, जसको कुनै अर्थ छैन। असफल हुने स्वतन्त्रताबाट नै सबैभन्दा ठूला–ठूला सफलता प्राप्त भएका छन्। जीवनमा सधैं सिकिरहनुपर्छ। सिक्नलाई कहिल्यै बुढो र नेतृत्व गर्नलाई कहिल्यै जवान भइँदैन।
मलाई लाग्छ हाम्रो समाजलाई यस्तै कथाहरूको जरूरत छ।
हाम्रो समाजले परम्परागत रूपमा नै ’हुने बिरूवाको चिल्लो पात’, ’बहुमुखी प्रतिभाको धनी’, ’जीवनमा कहिल्यै दोस्रो नभएको’, ’जता जाँच दियो , त्यतै नाम निकाल्ने’ जस्ता अपवादका कथालाई सफलताको मानक मान्दै आएको छ। तर समाजमा औसतमा मानिसहरू असफल हुन्छन्  र प्रयास गर्न छोड्छन्।
उनीहरूलाई उत्प्रेरित गर्न संघर्षका कथाहरू चाहिन्छ। मेहनतका कथा चाहिन्छ। पसिनाका कथा चाहिन्छ। किनभने जसले पानीले नुहाउँछ, उसले केवल छाला बदल्न सक्छ। जसले पसिनाले नुहाउँछ, उसले इतिहास बदल्न सक्छ।
(सेतोपाटी)

...

All Comments.......


Please Login/Register To Comments