ध्यानको ज्ञान र साधना


कार्तिक २२, २०७८, सोमबार | विहान १०:४० बजे | 35


ध्यानको ज्ञान र साधना

डा इन्दुल केसी
प्रारम्भ
नेपाली साहित्यका हजारौं किताबहरू प्रकाशन भइसकेका छन् । उपन्यास, कथा, नाटक, कविता, नियात्रा आदि विषयमा विभिन्न लेखकहरूले विभिन्न विधामा लेखिएका किताबहरू दिनहुँ जसो प्रकाशित भइरहेका छन् । यस क्रममा मलाई जानकारी भएअनुसार श्री एस.पी. आसाज्यूले २६ वटा किताबहरू लेखी प्रकाशित गरी सक्नु भएको छ । प्रत्येक प्रकाशित पुस्तकहरूका भिन्ना भिन्नै विशेषता हुने गर्दछन् । एस.पी. आसाज्यूले लेख्नु भएको “छयास्मिस” नामको पुस्तकमा रहेको ‘ध्यानका अनेक प्रकार’ शीर्षकको एउटा लेखमा म केन्द्रित हुन खोजिरहेको छु । एस.पी. आसाज्यू एक सुपरिचित लेखक हुनुहुन्छ भन्ने कुरा उहाँले लेख्नुभएका २६ वटा किताबका बारे हजारौं पाठकहरूलाई जानकारी भएको हुनुपर्छ । वहाँले लेख्नुभएका ती किताबहरूको साथै स्वदेश तथा विदेशमा रहनुभएका विभिन्न लब्ध प्रतिष्ठित विद्वान्हरूले एस.पी. ज्यूको बारेमा ८ वटा किताबहरू पनि प्रकाशित भइसकेका छन् ।
“छयासमिस” किताबमा रहेका १३१ वटा लेखहरूलाई निम्नअनुसार ५ भागमा विभक्त गरिएको छ । यसलाई सरलरूपमा बुझ्न एउटा तालिका बनाई पाठकहरूलाई जानकारी दिन खोज्नु सान्दर्भिक होला भन्ने ठान्दछु ।
तालिका
क्र.सं.    भागको नाम    रचनाको (सङ्ख्या)
१.    ऐतिहासिक संस्मरण    २४ वटा लेख
२.    लघु कथा    १३ वटा कथा
३.    कविता    ५९ वटा कविता
४.    गीत÷गजल    १३ वटा गीत÷गजल
५.    टुक्राटाक्री    २२ वटा विभिन्न रचना
    जम्मा    १३१ वटा रचनाहरू
मेरो यो लेख छयास्मिस किताबको टुक्रा टाक्री खण्डमा रहेको एउटा लेख ‘ध्यानका अनेक प्रकार’मासीमित हुन खोजिरहेको छ ।

ध्यानका अनेक प्रकार
श्री एस.पी.आसाज्यूको त्यो किताबको नाम नै छयासमिस रहेझै्ँ त्यो लेखमा पनि ध्यानका अनेक प्रकाहरू पनि वहाँकै शब्दमा छयासमिस छ । तर मैले यसलाई छयास्मिस भन्नुभन्दा पनि पायस(खिर) भन्नु उचित ठानँे । जसरी खिरमा दूध, चिनी, विभिन्न मसलाको रूपमा नरिवल, छोकदा, डाक, ऐलँैची, सुकुमेल आदि मिसाएर मीठो, स्वादिलो, पौष्टिक खाना तयार गरिन्छ, त्यसरी नै ध्यानका अति महत्वपूर्ण कुराहरू समिश्रण गरी यो लेख तयार गर्नुभएको छ ।
पूर्वीय अध्यात्मिक दर्शन, धर्मशास्त्र र केही महापुरूषहरूले ध्यानको बारे भन्नुभएका केही अंशहरू एस.पी. आसाज्यूले त्यो संक्षिप्त लेख तयार गर्नुभएको छ । उक्त लेखमा श्रीमद् भागवत, गीता, रजनीश, विपश्यनाका ध्यान, भावातीत ध्यान, जैन धर्मको – शरीर ध्यान, योग शास्त्र – हठ योग, सूक्ष्म शरीर र स्थूल शरीर, षडचक्र, इटा, पिङ्गला, सुषुम्ना नाडी, ब्रह्मकुमारी राज योगका अनेकौं ध्यान विधि, इस्कोनको हरेकृष्ण अभियान आदि कुराहरूको नामहरू उल्लेख गरेका छन् । लेखक एस.पी. आसाज्यू स्वयम् भन्नुहुन्छ – “मैले जानेका छोटकरी परिचय गराएँ । यहाँ ज्ञानको भण्डार छ । अझ कैयौं लुप्त छन् । जुन तपस्वी र साधकले यो समाजमा फैलाउने छन् ।”
छयास्मिस किताबमा रहेको यो लेख नै छयास्मिसको एउटा नमूना जस्तो भन्ने लाग्छ । ध्यानको एउटा विशाल समुद्रलाई एस.पी. आसाज्यूले लोहोटामा भर्नु भएको देखिन्छ । ध्यानको बारे जान्न चाहने व्यक्तिहरूको लागि त्यो संक्षिप्त लेखले ध्यान मार्गमा लाग्नेहरूको लागि मार्ग निर्देशन गर्नुभएको छ ।
हाम्रा ६ वटा वैदिक दर्शनहरूमा योग दर्शन पनि एउटा हो । भौतिक शरीरलाई र चैतन्य शरीरलाई ध्यानले जोड्छ । ज्ञानलाई आत्मासँग जोड्ने, द्रष्टा र दृश्यलाई जोड्ने गरिन्छ । यसरी ध्यानको चर्चा गर्दा योग दर्शनको कुरा आउँछ ।
ध्यानबारे अरू थप जानकारी
हाम्रा धर्म शास्त्रहरूमा उपनिषद्को विशेष स्थान छ । विभिन्न नामका १०८ वटा उपनिषदहरूमध्ये ध्यानको बारे चर्चा गर्दा (१) योग राजोपनिषद् (२) योग तत्वोपनिषद् (३) योग चूडामणिउपनिषद् (४) योग कुण्डली उपनिषद् (५) ध्यान विन्दू उपनिषद्हरूको अध्ययन पनि उपयोगी हुन्छ । यी कुराहरू एस.पी. आसाज्यूले त्यो किताबमा उल्लेख गर्नु नभएता पनि उपनिषद्का सार कुरालाई छयास्मिस रूपमा राख्नुभएको देखिन्छ । यसैले प्रसङ्गवश मैले उल्लेखित ५ उपनिषद्हरूको नाम जिज्ञासु पाठकको लागि उपयोगी हुने ठानी यहाँ उल्लेख गरेँ ।
१) रजनीश
    ओशो रजनीशज्यूको नाम पनि एस.पी. आसाज्यूले उक्त लेखमा उल्लेख गर्नुभएको छ । वास्तवमा ओशो रजनीशज्यूले ध्यानलाई वैज्ञानिकरूपले चर्चा गर्नुभएको पाइन्छ । उहाँले ध्यानका २१ वटा सक्रिय विधिहरू, २१ वटा निष्क्रिय विधिहरू पनि हामीलाई प्रदान गर्नुभएको छ ।
२) विपश्यना
    प्रसङ्गवश एस.पी. आसाज्यूले बुद्धको विपश्यना ध्यानको नाम पनि उल्लेख गर्नुभएको छ । शान्त, मौन भई आन पान – केवल श्वासको गति हाम्रो नाकको प्वालबाट प्रवेश गराउने र निष्काशन गर्ने कुरालाई केन्द्रित गरी गरिने क्रियालाई विपश्यना ध्यान भन्ने गरिन्छ ।
अन्तमा
    पतञ्जलि ऋषिले अष्टाङ्ग योगको प्रतिपादन गर्नु भएको हो । अष्टाङ्ग योगको ८ वटा अङ्गहरूमध्ये ध्यान पनि एक अङ्ग हो । ध्यानको सैद्धान्तिक पक्षको ज्ञान र उक्त ज्ञानलाई प्रयोगको रूपमा गरिने क्रिया नै साधना हो । यस साधनाले ब्रह्म तत्वको साक्षात्कार हुने बताइन्छ । ध्यानको बारे चर्चा गर्दा (१) शिव संहिता (२) घेरेन्द्र संहिता (३) पतञ्जलि ऋषिले देखाउनुभएको अष्टाङ्ग योग (४) खप्तड स्वामीज्यूको धर्म विज्ञान पुस्तक (५) स्वामी श्री विशुद्धदेवज्यूले रचना गर्नुभएको चरित्र विज्ञान किताब (६) महात्मा शुशीलज्यूले लेख्नुभएको पाशुपत योग किताब इत्यादिले दिएको ज्ञान हाँसिल गर्नु उपयोगी हुन्छ । किताब मात्र पढेर ज्ञान आर्जन गर्नुभन्दा ध्यानलाई स्वयम्ले प्रयोग गरी – साधनाद्वारा यसबाट पाइने फाइदा प्राप्त गर्नु अति उपयोगी हुन्छ ।
    आसा प्रकाशन केन्द्रबाट प्रकाशित यो छयास्मिस किताब नेपाली साहित्यका अनुरागीहरू तथा ध्यानका मुमुक्षीहरूको लागि ज्यादै उपयोगी पुस्तक सङ्ग्रहनीय भएको मैले पाएँ ।

Comments

ताजा खबर