ख्वप सर्कलका विद्यार्थी विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल
कार्तिक १७, २०७८, बुधबार | दिउँसो १२:३१ बजे | 0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपाबाट सञ्चालित कलेजको मुख्य उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलाई अनुशासित, इमानदार, देश र समाजमा समर्पित दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताउनुभयो ।
ख्वप मावि तथा शारदा क्याम्पस माविमा कार्यरत शिक्षक कर्मचारीहरुको नियमित बैठकमा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरमा चलेको सफाइ आन्दोलनकै कारण आज देशकै सुन्दर नगरको रुपमा भक्तपुर परिचित भएको बताउनुभयो । उहाँले ख्वप सर्कलबाट उत्पादित विद्यार्थीहरुले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल भएको बताउनुहुँदै अनुशासन र गुणस्तरीय शिक्षा नै कलेजको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेले व्यापक जनताहरु राजनीतिक रुपले सचेत र संगठित भए समाजमा आमूल परिवर्तन सम्भव हुने बताउनुहुँदै विद्यालय तथा कलेजहरुले विद्यार्थीहरुमा असल संस्कार र व्यवहारको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
राजनीतिबाट कोही पनि अलग रहन नसक्ने बताउनुहुँदै उहाँले भन्नुभयो, योग्य र अध्ययनशील विद्यार्थीहरुलाई राजनीतिक गतिविधिमा अगाडि ल्याउनुपर्ने बताउनुभयो ।
विदेशी भाषा र संस्कृतिहरुबारे विद्यार्थीहरुलाई अवगत गराउनुपर्ने भन्दै उहाँले परीक्षामा नक्कल र चोरी गरेर उत्तीर्ण भएका विद्यार्थीहरुले विवेकपूर्ण तरिकाले काम गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कलेजको मुख्य उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीलाई देशभक्त बनाउने हो भन्नुभयो ।
आस्थाको केन्द्रको रुपमा चिनिएको न्यायपालिकामाथि जनताको विश्वास घट्दै गएको बताउनुहुँदै संसद पुनःस्थापनाले देशमा राजनीतिक अस्थिरता बढाएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख एवम् कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यले कलेजहरुका शैक्षिक गतिविधि अगाडि बढाइरहेको प्रष्ट पार्नुहुँदै कोभिड महामारीबीच पनि नपाबाट सञ्चालित कलेजहरुले अनलाइनमार्फत पठनपाठन गर्दै आइरहेको बताउनुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी, उपप्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र विष्णुप्रसाद किसी र कलेजका शिक्षक गोकर्ण दुलालले पनि बोल्नुभएको थियो ।