आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक


कार्तिक १३, २०७८, शनिबार | दिउँसो ०१:१६ बजे | 15


आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक

भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ, भक्तपुर लेडी जेसिस, बनसी खुला क्षेत्र संरक्षण समाजको संयुक्त आयोजनामा विजया दशमी, शुभ दिपावली तथा ने.सं. ११४२ तथा छठको उपलक्ष्यमा शनिबार शुभकामना आदानप्रदान तथा सामाजिक सुरक्षामा नेपाल प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलनका साथ उद्घाटन गर्नुभएको थियो ।
  कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले समाजमा नयाँ खालका अपराधको संख्या बढिरहेको हुँदा नयाँ पुस्तालाई नै सजग र सचेत गराउन आवश्यक भएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले समाजमा घट्ने चोरी, ठगी, लुटपाट, हिंसाका घटनाबाट नागरिक स्वयम्ले सचेत तथा सुरक्षाका सावधानी अपनाउनुपर्नेमा जोड दिनुहुँदै शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक भएको बताउनुभयो ।
    न्यायालयको क्षेत्रमा देखिएको विकृति बिंगतीबारे प्रष्ट पार्नुहुँदै नगर प्रमुख प्रजापतिले जनताको हित र पक्षमा वकालत गर्नुपर्नेहरुको हर्कतबाट आम जनतालाई आश्चर्यचकित बनाएको उहाँले बताउनुभयो ।
    विद्युतीय सामाग्रीहरुको महत्व दिन प्रतिदिन बढिरहेको वर्तमान समयमा ती सामाग्रीहरु सबै विदेशबाट आयात गर्नुपर्दा नेपाल परनिर्भरतातर्फ धकेलिँदै गएको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले नेपाल सरकारले विद्युतीय सामाग्रीहरु नेपालमै उत्पादन गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नजिकिँदै आएको चाडपर्वहरु सामाजिक सौहार्दता र आपसी सद्भावको निम्ति मनाउनुपर्ने बताउनुभयो । उहाँले नयाँ बस्तीमा पनि पुरानो बस्तीमा जस्तै सामाजिक सद्भाव कायम गर्न वडाले विविध गतिविधि सञ्चालन गर्दै आएको बताउनुहुँदै भक्तपुर नपाले व्यवस्थित आवास योजना सञ्चालन गरी नयाँ बस्तीमा खुला क्षेत्र कायम, सडक कालोपत्रे, विद्युत आपूर्ति, सडक बत्ती व्यवस्थापन, खानेपानी सुविधाको निम्ति बोरिङ आदि कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको बताउनुभयो ।
    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको अवस्थाको स्थितिबारे चित्रण गर्नुहुँदै प्रहरी प्रशासनले सामाजिक सदुभाव र समाजलाई सभ्य र सुरक्षित बनाउन विविध कार्यक्रम सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
    भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघका अध्यक्ष माधवप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा वनसी खुला क्षेत्र संरक्षण समाजका अध्यक्ष विकास दुवाल र संघका रञ्जना चापागाइँले पनि बोल्नुभएको थियो ।

Comments