नेपालको गुप्त प्रतिवेदनहरु विदेशमा !


असोज २२, २०७८, शुक्रबार | विहान ११:३१ बजे | 20


नेपालको गुप्त प्रतिवेदनहरु विदेशमा !

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले बागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा क्वालिटिटिभ र क्वान्टिटिटिभ रिसर्च  विषयमा भएको तीनदिने कार्यशाला गोष्ठीको शुक्रबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले कार्यशाला गोष्ठीको सफलताको कामना गर्नुहुँदै विकसित देशहरुले विकासको नाममा नेपाललाई दिइरहेको सहायताले देशलाई परनिर्भरतातर्फ धकेलिरहेको बताउनुभयो ।
नेपालमा सञ्चालित गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका शासक दलहरुलाई आफूअनुकुल प्रभावमा पारिरहेको र नेपालको गुप्त प्रतिवेदनहरु विदेश पु¥याउने काम गरिरहेको छ, उहाँले प्रष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले देशको सार्वभौमिकतामाथि आँच पुग्ने देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुहुँदै नेपालका सांसद, बुद्धिजीवीहरुलाई समेत प्रभावमा पार्दै एमसीसी नेपालको संसदबाट अनुमोदन गर्न विभिन्न षड्यन्त्रहरु भइरहेको बताउनुभयो । उहाँले राम्रा विद्यार्थीहरु राजनीतिक गतिविधिमा संलग्न हुनुपर्नेमा जोड दिनुभयो ।
बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाभित्र सञ्चालित कलेजहरुलाई अनुसन्धानको केन्द्रको रुपमा स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो ।
शेयर कारोबारले नेपाली लगानीकर्ताहरुलाई नराम्रोसँग डुबाउने खतरा भएको आंैल्याउनुहुँदै उहाँले पुँजीवादी व्यवस्थालाई समाप्त पारी समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ नेमकिपा लागिरहेको बताउनुभयो ।
नेपालमा सञ्चालित गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारीको गतिविधिले विकासको नाममा दास बनाइरहेको र देशलाई उपनिवेश बनाउने खतरा रहेको औंल्याउनुहुँदै उहाँले अरुको भरमा काम गर्ने मानसिकताले परनिर्भरतातर्फ धकेल्ने प्रष्ट पार्नुभयो ।
बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले शिक्षण—सिकाइको क्रियाकलापमा अनुसन्धानको महत्वबारे प्रष्ट पार्नुहुँदै शिक्षक—कर्मचारीहरुले आफूमा भएको ज्ञान विद्यार्थीमार्फत उजागर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अनुसन्धानको महत्वलाई बुझेर बागीश्वरी कलेजले यस वर्ष २६ लाख बजेट विनियोजन गरेको बताउनुहुँदै बागीश्वरीलाई अनुसन्धानको उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने योजनाअनुरुप कलेजमा कार्यरत शिक्षकहरुलाई विभिन्न विषयमा कार्यशाला गोष्ठीहरुमा जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रममा बागीश्वरी कलेज आरएमसीका संयोजक सिद्धिवीर कर्माचार्य र शिक्षक राजन चौगुठीले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।

Comments