नेकलाई तीनचार वर्षभित्र विश्वविद्यालय बनाउँछौः मेयर मिश्र


असोज ९, २०७८, शनिबार | विहान १०:०५ बजे | 20


नेकलाई तीनचार वर्षभित्र विश्वविद्यालय बनाउँछौः मेयर मिश्र

काठमाडौं । चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरलाई तीनचार वर्षभित्र विश्वविद्यालय बनाउने बताएका छन्। कलेजको २७ औं स्थापना दिवस समारोहको शनिबार कलेजमा भएको उदघाटन समारोहमा उनले यस्तो बताएका हुन्।


कलेज व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मिश्रले कुनै हालतमा कलेजलाई प्राइभेट बनाउन नदिने बताए। तपाईहरू ढुक्क हुनुहोस्, कक्षा नियमित रुपमा सञ्चालन गर्नुहोस्, हामी सडकदेखि सदनसम्म लडेर कलेजलाई निजी हुन दिन्नौं, उनले भने।

स्थापना दिवसको प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए। समारोहको अवसरमा प्रमुख अतिथि प्रा.डा. थापाले २० वर्षदेखि कलेजमा अविच्छिन्न सेवारत २० जना शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरे। उनीहरूलाई दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो। साथै कार्यक्रममा अतिरिक्त क्रियाकलापबाट शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमकै अवसरमा कलेजमा आइसोलेसन केन्द्र सञ्चालन गर्न विशेष योगदान पुर्याए वापत कलेजका कर्मचारी मनोहर खनाललाई सम्मान गरियो। कलेजको कार्यक्रम हलमा कोभिडको बेला आइसोलेसन सञ्चालन गरिएको थियो।

समारोहकै अवसरमा कलेज संस्थापकहरू हरिप्रसाद पाण्डे र इन्जिनियर सलिल भट्टराईलाई सम्मान गरियो। सोही अवसरमा नेपाल इन्जिनियरिङ परिषद्बाट प्रोफेनल इन्जिनियरिङ सर्टिफिकेट प्राप्त गर्न सफल कलेजमा अध्यापनरत तुसिता चाँदनी शाह र कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठलाई सम्मान गरियो।

कार्यक्रममा कलेजको स्नातक र स्नातकोतर तहमा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल स्नातक तहका पाँचजना र स्नातकोतर तहका चारजना विद्यार्थीलाई पनि सम्मान गरियो।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. थापा, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, जल तथा उर्जा आयोगका सचिव इन्जिनियर मणिराम गेलाल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं कलेज सञ्चालक समितिका सदस्य इन्जिनियर मुकेश कुमार केशरी, कलेजका संस्थापक एवं पूर्वमन्त्री हरिप्रसाद पाण्डे, विश्वविद्यालयका प्रतिनिधि उप प्राध्यापक अर्जुन गौतम, कलेजका सहायक प्राचार्य एवं स्थापना दिवस समारोह समितिका संयोजक सह प्राध्यापक दुर्गाप्रसाद भण्डारी, प्रशासन प्रमुख श्रीमा शर्मा, कर्मचारी प्रतिनिधि मनोहर खनाल, शिक्षक प्रतिनिधि उप प्राध्यापक धर्मराज बगाले लगायतले कलेजका विविध पक्षमा आआफनो धारणा राखेका थिए।

२०५१ साल असार २९ गते ललितपुरको कुपण्डोलबाट कलेज सञ्चालनमा ल्याइएको थियो भने कक्षा संचालन २०५१ असोज ९ गतेबाट प्रारम्भ भएको थियो। हाल कलेजको मूल भवन भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा रहेको छ।

Comments