ख्वप्रिङ एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन
असोज २, २०७८, शनिबार | विहान १०:०२ बजे | 30
भक्तपुर । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा ख्वप्रिङ इङलिस एकेडेमीका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम शनिबार विद्यालय प्राङणमा सम्पन्न भयो ।
कार्यक्रममा उहाँले स्थानीय स्तरमै उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालनको माग गरिरहेको र ख्वप विश्वविद्यालयको विधेयक पास भए स्थानीय निकायले सञ्चालन गर्ने मुलुककै पहिलो विश्वविद्यालय हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा सातवटा शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याएको बताउनुहुँदै उपप्रमुख जोशीले देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा ती शैक्षिक संस्थाहरुले महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्नुभयो ।
कुनै पनि विषय ठूलो र सानो महत्वको हुने गर्दैन भन्नुहुँदै ख्वप्रिङ इ·लिस एकेडेमीका सल्लाहकार ज्ञानसागर प्रजापतिले आफूले अध्ययन गरेको विषयमा सफलता हासिल गर्न मार्गनिर्देश गर्नुभयो । उहाँले भन्नुभयो, युवाहरु समाजबाट विमुख हुनुहुँदैन ।एमसीसी नेपालको हितमा नभएको हुँदा यसको विरोध युवा तथा विद्यार्थीहरुले सशक्त ढंगले गर्नुपर्छ ।
ख्वप्रिङ एकेडेमीका प्रधानाध्यापक विनोद प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सही बाटोमा लाग्न प्रेरित गर्नुहुँदै विद्यार्थीको सफलता नै विद्यालयको सफलता भएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद प्रजापतिले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने पूर्व अध्यक्ष दिपेन्द्र प्रजापति, सहायक प्रधानाध्यापक दिरन्जन प्रजापति र शिक्षक कृष्णसुन्दर प्रजापतिले पनि बोल्नुभएको थियो ।
सोही क्रममा उपप्रमुख जोशीले २०७६ र ७७ सालका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।
फाेटाेमा हेर्नुहाेस्...