प्याब्सनको दोस्रो नगर अधिवेशन २०७८ उद्घाटन
भदौ ३१, २०७८, बिहीबार | विहान ०९:२१ बजे | 40
भक्तपुर, भदौ ३१
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो भक्तपुर नगर अधिवेशन २०७८ को बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख जोशीले कम शुल्कमा भक्तपुरमै चिकित्सा शिक्षा प्रदान गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न सरकारसँग स्वीकृतिको लागि माग गरिरहेको प्रसंग उठाउनुभयो ।
कोभिडको कारण भौतिक उपस्थितिमा कक्षा संचालन सम्भव नभइरहेको अवस्थामा भक्तपुरमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुसँगको छलफल तथा राय सुझाव लिने क्रम जारी रहेको बताउनुहुँदै उहाँले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कार्यान्वयन गरी सुरक्षित ढंगले विद्यालय सञ्चालनको लागि आग्रह पनि गर्नुभयो ।
भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोग पाएकै कारण निकै छोटो समयावधिमा ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माण र नगरबासीहरुलाई निःशुल्क वितरण गरिरहेको बताउनुहुँदै उपप्रमुख जोशीले भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइरहेको बताउनुभयो ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न विभिन्न स्थानहरूमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरूमा जोड दिँदै आइरहेको बताउनुहुँदै उहाँले कोरोना भाइरसको तेस्रो भेरियन्ट आउन सक्ने सम्भावनालाई ध्यानमा राखी छुट्टै एकाइको बन्दोबस्त गरी १८ वर्षमूनिका बालवालिकाहरूका लागि समेत आइसीयू र भेन्टिलेटरको व्यवस्थाको तयारी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले कोभिडका कारण शिक्षा क्षेत्रमा ठूलो असर परेको बताउनुहुँदै भक्तपुरका विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन गर्न नगर शिक्षा शाखा क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा उहाँले भक्तपुर नपाले शैक्षिक क्षेत्रमा गरिरहेको गतिविधिबारे अवगत गराउनुभयो ।
कार्यक्रमका सभापति एवम् प्याब्सनका नगर अध्यक्ष रमेशचन्द्र श्रेष्ठले प्याब्सनमा बसी काम गर्दाका अनुभव आदानप्रदान गर्नुहुँदै शिक्षा क्षेत्रमा भक्तपुरले कायम गरेको गरिमा अझ बढाउँदै लानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्याब्सनका सल्लाहकार भक्त राजभण्डारी, इसान भक्तपुरका अध्यक्ष पुरुषोत्तम ग्वाछा, एनप्याब्सन भक्तपुरका अध्यक्ष पुण्यराम कवांले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना मन्तव्य राख्नुभयो । प्याब्सन भक्तपुरका सदस्यद्वय चन्दिका कायष्ठ र विजयन्द्रलाल ध्वजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा उपप्रमुख जोशीले प्याब्सन नगर कार्य समितिका पदाधिकारीहरु र नगर प्याबसनका सहभागी विद्यालयलाई मायाको चिनो प्रदान गर्नुभयो ।