भक्तपुर । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बालबालिकाको हक, हित संरक्षण र संवद्र्धन गर्नका लागि तीनै तहका सरकार, अभिभावक, विद्यालय र समग्र समाजको भूमिका अपरिहार्य भएको बताउनुभयो ।
राष्ट्रिय बाल दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा मंगलबार भएको प्रवचन कार्यक्रममा सम्बोधन गर्ने क्रममा उहाँले कोभिड महामारीका कारण लामो समयदेखि बन्द शैक्षिक संस्थाहरु सुरक्षित ढंगले भौतिक रुपमा सञ्चालन गर्ने तयारीमा जुटिरहेको बताउनुभयो ।
आधुनिकता सँगसँगै मौलिकतालाई पनि जोगाउँदै लानुपर्छ भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गर्दै आइरहेको अवगत गराउनुहुँदै उहाँले सामुदायिक विद्यालयको स्तरोन्नति र स्तर वृद्धिमा नगरपालिकाले विशेष ध्यान दिइरहेको छ भन्नुभयो ।
उपप्रमुख जोशीले सामाजिक गतिविधिहरुमा बालबालिकाहरुको सक्रिय भूमिकाको आवश्यकता औंल्याउनुहुँदै सांस्कृतिक नगर भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले कोभिड महामारीबीच जनताको सहयोगमा ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी नगरबासीहरुलाई निःशुल्क वितरण पनि गर्दै आइरहेको जानकारी गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नयाँ नयाँ प्रविधिको प्रयोगले बालबालिकाहरुमा नकारात्मक असर परेकोतर्फ सचेत गराउनुहुँदै प्रविधिको सही उपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका डाक्टर बालकृष्ण चाँगुभारीले कोभिडको परिचय, लक्षण र कोभिडबाट बच्ने उपायहरुबारे अवगत गराउनुहुँदै कोभिड संक्रमितहरुको पहिचानको लागि ख्वप अस्पतालले शनिबार बाहेक प्रत्येक दिन १ देखि २ बजेसम्म निःशुल्क अन्टिजेन परीक्षणलाई चालु राखेको बताउनुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य छोरीमैंयाँ सुजखुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सिद्धि शारदा आधारभूत विद्यालयका प्रअ धनेशराज राजोपाध्याय र बागीश्वेरी माविका प्रअ कृष्णप्रसाद धन्छा र भक्तपुर नपाका शाखा अधिकृत दिपेन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा ९ वडाका विभिन्न विद्यालयका विद्यार्थीहरु प्रकाश रोक्का, निपुन प्रजापति, लोकेश रन्जित, सन्जिला प्रजापति, आस्था गोमान्जु र निश्चल छुकांले बाल दिवस र कोभिड शीर्षकमा कविता वाचन गर्नुभएको थियो । साथै सोही अवसरमा बागीश्वरी माविको आयोजनामा भएको विभिन्न प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि जोशीले पुरस्कार वितरण गर्नुभएको थियो ।




...

All Comments.......


Please Login/Register To Comments