जीवनाथ अधिकारी
किरिरिङ.... किरिरिङ....मेरो मोबाइलमा घण्टी बज्छ । आवाज सुन्नासाथ मैले मोबाइल हेर्न नभ्याउँदै श्रीमती देवीको प्रतिक्रिया आउँछ– इन्दुल बाको होला । नभन्दै मोबाइलको डिस्प्लेमा हेर्छु–इन्दुल केसीको नामबाट नै घण्टी बजिरहेको हुन्छ । मानौँ,े इन्दुलको फोन आउँदा घण्टीको आवाज नै बेग्लै पो सुनिने हो कि ? उनको फोनको घण्टीको आवाजमा श्रीमतीसमेत अभ्यस्त भएझैँ लाग्छ । फोन उठाएपछि लामै कुराकानी चल्छ, कमसेकम तीनचार ओटा विषय वा प्रसङ् जोडिएकै हुन्छन् । मैले हेलो भन्न नपाउँदै सन्चोबिसन्चोका कुरा, पारिवारिक कुशलताका कुरा सोध्ने बानी छ उनको । सम्वादमा मधुरता ल्याउँदै कुराकानीको थालनीपछि दिक्क नमानी सुनिरहन्छु म, आज के नयाँ सन्दर्भ सुनाउन लाग्नुभएको होला वा कुनै नवीन योजना पो छ कि रातभरि वा दिनभरि बुनिएको ? केही समयदेखि यो दिनचर्या नै बनेको छ उनको र मेरो बिचमा फोनबार्ताको । यो घनिष्ठता त्यति लामो त हैन, तर दशकौँदे्खि हामी चिनजान र परिचयमा छौँ जस्तो लाग्छ ।
२०७६ फागुनको कुनै दिन, अपराह्न ३ बजेतिर भेटिएका थिए उनी, शब्दयात्रा प्रकाशनको कार्यालय बनेपामा । कोरोनाको बिग्बिगी बढ्दै गइरहेको त्यस समयमा प्राञ्जल नेपाललाई निमन्त्रणा थियो त्यस दिन अक्षर धाम बनेपामा हरि मञ्जुश्रीबाट । यसै सन्दर्भमा म त्यहाँ पुग्दा झलक्क देखिएका थिए इन्दुल । निकै जनाको उपस्थितिमा परिचय त भयो औपचारिक सबैसँग, तर त्यस परिचयले धेरैसँग लामो समय परिचित बनाउन सकेन । केवल थोरै व्यक्तित्वसित भने घनिष्ठता कायम गर्देै गयो र केही सहकार्यमा समते साथै रहने वातावरण बन्यो त्यो भेटघाट र परिचय । तर इन्दुल त्यहाँ परिचय गरिए पनि मलाई त्यति सम्झना रहेको थिएन । केही दिनपछि फोन आयो–म डा इन्दुल केसी, शब्दयात्रा प्रकाशनमा परिचय भएको, भक्तपुरमा घर, केही कुराकानी गर्न सकिएला ? यसरी सामान्य कुराकानीबाट सुरु भएको हाम्रो सम्बन्धलाई विस्तार गर्ने फोनको आवृत्ति अझ अझ बढ्दै जान्छ र दिनमा घटीमा तीन वा दुई पटक फोन नगरे चित्तै नबुझ्ने हुन्छ दुवैलाई ।
अब कामका कुरा हुन थाल्छन् । शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्रको स्थापनाका लागि पनि कुराकानीमा सघनता आउँछ उनीसित । नभन्दै आचार्य डिल्लीराम गौतम संयोजक रहेको शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र बन्छ, जसमा म जीवनाथ अधिकारी, स्वयं डा इन्दुल, पदम दाहाल, पशुपतिमान पःमाँ, सुनिल सापकोटा र प्रजापति तिमल्सिनासहितको उक्त सम्पर्क केन्द्र निर्माण हुन्छ र केही कामहरू भर्चुअल रूपमा सम्पन्न गछौँ हामी, तर पनि यति बेलासम्म पनि भौतिक भेटघाट भएको हुँदैन, यद्यपि जुम कार्यक्रममा भिडियोका माध्यमबाट इन्दुल बासित भेट भइरहन्छ ।
एक दिन शनिबार बिहान ९ बजेतिर मोबाइल बज्यो, इन्दुल बाको रहेछ । हरियो बटन दबाएपछि म त तपाईँको बिद्यालयमा तपाईँलाई भेट्न आएको । तपाईँ कता ? –उनैको स्वर गुन्जियो । म त त्यो दिन घरैमा थिएँ । ल, म तपाईँकै घरमा आउँछु । पत्रकार कृष्ण किसी पनि मसित हुनुहुन्छ । कहाँनिर पर्छ तपाईँको घर ? कस्सिएको स्वरमा प्रस्ताव आउँछ । म मेरो बसाइ सिर्जना कुञ्ज, बालकोट आइपुग्ने बाटो निर्देश गर्छु । आधी घण्टामा पत्रकार कृष्ण किसीको मोटरसाइकल मेरा दैलामा अडिन्छ ।
देख्नेबित्तिकै इन्दुल बालाई चिनिहालेँ । होचो होचो, पुड्को शरीर तर मोटोघाटो, श्याम वर्णको अनुहार, परिपक्वता र प्रौढता मुस्काउँदै गरेको अनुहार, कालो झोला हातमा, एकासीबर्से तर चुलबुले शरीर, मोटामोटी इन्दुल बाको हुलिया यही थियो त्यस दिन । भित्र कोठामा बस्यौँ थोरै समय । मेरा दुई पुस्तक अविदित यात्रा र मास्कले थिचिएको जिन्दगी (छन्द कवितासङ्ग्रह) दुवैलाई उपहार दिएँ । डा इन्दुलले मलाई पनि उनका कृति ल्याइदिएका रहेछन्, लिएँ । करिब आधा घण्टाको बसाइमा एक कप चिया खुवाउने अवसर मिल्यो ।
भक्तपुर नगरको मङ्गलाछेँ टोल, ब्रह्मपुर चोकमा विसं १९९८ मङ्सिर २७ मा डा इन्दुल केसीको जन्म भएको रहेछ । अथक परिश्रमले एमए, बिएल, पोस्ट ग्य्राजुएट तथा वैकल्पिक उपचारमा पिएचडी गरे्का इन्दुलको व्यक्तित्व अनेक रहेछ । लामो समय सरकारी प्रशासनिक जागिरे जीवन बिताएका यिनले थुप्रै मुलुक घुमेर त्यहाँको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, प्रशासनिक, शैक्षिक क्षेत्रको विस्तृत अध्ययन गरेका रहेछन्  । सङ्गत गर्दै जाँदा केही रोचक कुराहरू थाहा पाउँदै गएँ तर पूर्णतः बुझ्नका लागि पर्याप्त सङ्गत अझै नपुगेको अनुभव हुँदै छ । मेरो घरमा समेत परिचित भैसकेका तर छोटो सामीप्य र सहचार्यमा यिनलाई मैले यसरी चिन्दै गरेको छु ः
१. कवि तथा साहित्यकार ः इन्दुल केसी मूलतः कवि रहेछन् । चोटिला व्यङ्य कविता लेख्नु यिनको वैशिष्ट्य देखेको छु । तुरुन्तै कविता फुरिहाल्ने आशुत्वसमेत यिनमा पाएको छु मैले । उनको भुइँचालो कवितासङ्ग्रह नै प्रकाशित छ यस्तै भाववाही कविताहरूको । यस्तै सम्पादक तथा लेखकका रूपमा आधा दर्जन बढी पुस्तकका स्रष्टा हुन् डा इन्दुल बा । उनका केही प्रकाशित कृतिहरू यस प्रकार रहेका छन् ः
क)  भुइँचालो (कवितासङ्ग्रह–२०६५)
ख) इन्दुल केसी ः व्यक्ति एक, दुष्टि अनेक
ग) व्यक्तित्व र कृतित्वको तेस्रो आयाम (लेखक तथा सम्पादक)
घ) डा इन्दुल केसीको चौथो आयाम
ङ) एक अर्काका दृष्टि, दुई व्यक्तिका कृति (सहलेखन)
च) श्यामसुन्दर भजन माला, त्रिभाषी भजन सङ्ग्रह (सङ्कलक तथा सम्पादक)
छ) भजन सृष्टि (टिप्पपणी सङ्ग्रह)
२. भजन लेखक तथा गायक ः विभिन्न देवताका भजन लेख्नु यिनको अभीष्ट रहेछ । थुप्रै भजनका सर्जक यिनले आफैँ भजन गाएका छन् भने प्रायः आफ्नै घरछेउको श्यामसुन्दर राशभजन (आफैँ संस्थापक अध्यक्ष भै स्थापना गरेको कलासंस्कृति  भजन महागुठी) मा साँझ अबेरसम्म भजनमा तन्मयता दिइरहेका भेटिन्छन् । उनका केही भजन प्रकाशित पनि छन् ।
३.पत्रकार ः डा केसी पत्रकारिता क्षेत्रमा पनि त्यत्तिकै सक्रिय व्यक्ति हुन् । विभिन्न पत्रपत्रिकामा लेख प्रकाशित गराइरहने तथा अनलाइन तथा सामाजिक सञ्जालमार्फत आफ्ना भावना सम्प्रेषण गरिरहनु उनको दिनचर्या नै बनेको छ । स्वतन्त्र पत्रकार सङ्घ, भक्तपुरका उनी संस्थापक अध्यक्ष नै हुन् । यसरी पत्रकारितामा आफूलाई संलग्न गराइरहने उनको व्यक्तित्वको अर्को पाटो बनेको देखिन्छ ।
४.नेतृत्वकर्ता ः डा केसी विभिन्न सामाजिक कार्यमा अगुवा देखिन्छन्  । विभिन्न सत्तल,, मन्दिर, भजनघर आदिको मर्मतसम्भार तथा जीर्णोद्धारमा यिनको अग्रणी नेतृत्व देखिन्छ । यिनले अगुवाइ गरेर यस्ता धेरै स्मारकको प्रबर्धन भएको देखिएको छ ।
५.योगगुरु तथा प्राकृतिक चिकित्सक ः शरीरलाई तन्दुरुस्त राख्ने पूर्वीय योग पद्धतिका गुरु पनि हुन् डा इन्दुल । धेरै वर्ष योग प्रशिक्षण गरेका डा इन्दुल योग अभ्यासकै कारण बिना थकाइ अहिले पनि दिन दिनभर एकासीबर्से जोबनलाई सक्रिय पारिरहेका भेटिन्छन् । अझ उनको पिएचडीको मूल विषय नै प्राकृितक चिकित्सा भएकाले प्राकृतिक चिकित्सा पद्धतिबाट धेरैको उपचार गराएका छन् यिनले । इन्दुलका प्राकृतिक चिकित्साबाट आफूलाई धेरै फाइदा भएको बताउने बिरामीहरू थुप्रै रहेछन् । प्रसिद्ध साहित्यकार तेजेश्वरबाबु ग्वङ्गःले  लेखेका छन्–
    “इन्दुलका हिँडडुलका अनन्त गति छन् । उनको निर्मित स्वभाव अनि स्वभावमा निर्मित इन्दुल योग प्राकृतिक चिकित्सा साधनारत रहन्छन् । अनेक योगका योगी र साधनाका साधक संयोग गराउँदै हिँडडुल गर्छेन् इन्दुल । कहिले योग साधना, कहिले साधना नै योग बन्छ उनको । मैले आस्थापूर्वक इन्दुलबाट  ग्रहण गरेको योगाभ्यास सार्थक बन्छ, बन्यो ।  कम्मर दुखेको निष्ठा घरको मेरो आत्माले कम्मर डोलाउने घुमाउने योग साधना साधन गर्न पाएँ । इन्ुदुलले मलाई सिबाय क्रमशः तीन तीन चक्कर कम्मर  घुमाउँदा दायाँबायाँ, बायाँदायाँ तीन तीन पटक मेरो निष्ठाछेँ निबासमा मेरो कम्मर दुखाइ साम्य हुँदै गयो । क्रमिक घुमाइका रहस्य त आफ्नो शरीरभित्रै स्वनिर्मित र नैसर्गिक तवरले निर्मित लुब्रिकेन्ट स्रोत परिचालन भई स्वतःस्फूर्त हुँदो रैछ ।” (इन्दुल के.सी. व्यक्ति एक दृष्टि अनेक, पृष्ठ ४४)
अर्का वरिष्ठ आख्यानकार परशु प्रधान पनि डा इन्दुलको प्राकृतिक योग चिकित्साको तारिफ गर्छन्–“इन्दुल केसी प्राकृतिक चिकित्साको राम्रो डाक्टरका रूपमा पनि परिचित छन्, जसलाई अल्टरनेटिभ मेडिसिन  नामले चिकित्साको क्षेत्रमा परिचय दिइन्छ । उनमा चिकित्सासम्बन्धी राम्रो ज्ञान छ । यही प्राकृतिक चिकित्साको क्षेत्रमा यिनले पिएचडीसमेत गरेका छन् । सैद्धान्तिक र व्यावहारिक दुवै पक्षको राम्रो ज्ञान यिनमा पाउन सकिन्छ । मेरा परिवारले धेरै पटक उनीबाट राम्रो र उचित प्राकृतिक चिकित्सा पाएका छौँ ।” (यक्तित्व र कृतित्वको तेस्रो आयाम, पृष्ठ १२५)

प्राकृतिक चिकित्सामा यिनको योगदान निकै महत्त्वपूर्ण पाइन्छ । सामान्य नागरिकलाई यिनी न्यूनतम शुल्कमा उपचार गर्छन् भने अति विपन्न बिरामी भेटिए भने निःशुल्क उपचार गर्न पनि यिनी पछि पर्दैनन् ।
छसात वर्षअघिको एउटा घटनाले डा इन्दुल बाको प्राकृतिक चिकित्साको दक्षतालाई झल्काउने एउटा उदहरण प्रस्तुत गर्दछु । भर्खरैमात्र भक्तपुर महालक्ष्मी स्थानमा अवस्थित एभरेस्ट टिभीको स्टुडियोमा डा इन्दुलसँग जाने अवसर मिल्यो । त्यहाँ सञ्चालक राधेश्याम कैँटीसँग केहीबेर भलाकुसारी गरेपछि हामी फर्कियौँ । फर्कँदा इन्दुल बाले “तपाईँलाई आज एउटा नयाँ ठाउँमा लगेर नयाँ कुरा देखाउँछु” भन्दै  याछेँ टोलमा पूर्ण चित्रकारको घरमा पु¥याए । त्यहाँ तल छिँडीमा नै दुईजना महिला कालो माटो मुङ्ग्राले कुट्तै थिए । त्यो कुटिँदै गरेको माटो नवदुर्गाको मुकुन्डो बनाउनका लागि रहेछ । एक तलामाथि हामी गएर पूर्ण चित्रकारलाई भेट्यौँ । एक छेउमा उनकी पत्नी चेतकुमारी चित्रकार कागजमा भगवानका चित्र बनाउँदै थिइन् । कुरै कुरामा चेतकुमारीको दुखेको हातको प्रसङ्ग चल्यो । भएको के रहेछ भने सातआठ वर्षअगाडि एक दिन चेतकुमारीको सारसौँदो देब्रे हात बिहान उठ्ता कट्कटी खाइरहेको रहेछ । केही दिनमै उनलाई सहन पनि मुस्किल हुन थालेछ । कत्ति औषधी खाँदा तथा धामीझाँक्री लगाउद पनि दुखाइमा बिसको उन्नाइस भएनछ । चारपाँच महिनासम्म अनेक उपचार गर्दा पनि निको नहुने तर समय र पैसामात्र खर्च भइरहेकाले परिवारै दिक्दार भएका रहेछन् । त्यही समय इन्दुल बा उनको घरमा आइपुगेछन् । हँ हँ गर्दै रहेकी चेतकुमारीको हालत बुझेपछि उनले “लौ म उपचार गरिदिन्छु भरे साँझ, तर रातो माटो पिसेर मिहिन बनाएर राख्नू साथै नरम सेतो कपडा र पूजाका सामान पनि तयार गरिराख्नू ।” नभन्दै चेतकुमारीले निर्देशित सामान तयार पारिछन् । चेतकुमारीले त्यस घटनाको बेलीबिस्तार लगाउँदै मलाई सुनाइन्–“साँझ डाक्टर साप आउनुभयो । मैले कुटेर धुलो पारेको माटोको लेप बनाउनुभयो र मेरो दुखेको हातमा वरिपरि लेप लगाइदिनुभयो । अनि मलमल कपडाले पट्टीजस्तो पारेर बाँधिदिनुभयो । यसो गर्दा फूलअक्षताले पूजा गर्दै धूप बाल्नुभयो र केके मन्त्र पनि पढ्नुभयो । एक हप्ताभित्र तीन पटक यो प्रक्रिया दोहो¥याउनुभयो । पहिलो दिनकै उपचारपछि भोलिपल्ट मेरो दुखाइमा कमी आइसकेको थियो । एक हप्तपछि दुख्न ठ्याम्मै बन्द भयो । आजसम्म दुखेको पनि छैन, अरू औषधी पनि खानुपरेको छैन ।”
चेतकुमारी चित्रकारको यो कथा सुनेपछि मभित्र कौतुहल जाग्यो । मेरो पनि हात दुखेको तीनचार वर्षजति भैसक्यो, कति गरे पनि निको भएको छैन । यो रहस्यका बारे इन्दुल बालाई जिज्ञासा राख्नु अस्वाभाविक थिएन मेरा लागि । उनले मलाई यो प्राकृतिक चिकित्साअन्तर्गत मृत्तिका चिकित्सा (सोयल थेरापी) को पद्धतिबाट उपचार गरिएको हो भनेर सुझाए । साँच्चै यो प्रविधि हाम्रो आफ्नो मौलिक चिकित्सा पद्धति हो । यसमा अझ सुधार ल्याउने कार्यमा डा इन्दुल बा लागिपरेका रहेछन् । मलाई पनि यो प्रविधिबाट उपचार गर्ने सहमती भएको छ उनीसित ।
यस्ता थुप्रै दृष्टान्त पाउन सकिन्छ उनको प्राकृतिक उपचार पद्धतिको सफल प्रयोगको । यो झारफुको कुरा के हो भनेर जान्न चाहेको थिएँ मैले । प्राकृतिक चिकित्सामा तन्त्रमन्त्रको पनि प्रयोग हुने रहेछ । शुद्ध माटोलाई शुद्धीकरण र निर्मलीकरण गरेर लेप लगाउने र निर्मलीकरण गरिएकै कपडाले बाँधेपछि दुखेको अङ्गभित्रको विकार त्यस माटोले शोषण गर्ने रहेछ र विकारको बहिर्गमनपछि सन्चो हुने रहेछ । यति कुरा सुनेपछि मेरो दुखेको हातको पनि इन्दुल बासित उपचार गराउने अनुकुल समयको पर्खाइमा छु ।
डा इन्दुल केसी कहीँ कतै मेला भर्न जाँदा पनि आफ्ना सिपको दक्षता प्रयोग गरी जनसेवा गर्न बाँकी राख्तैनन् । एक पटक सुदूर पश्चिमको गोदावरी मेलामा जाँदा त्यहीँ २५÷३० जना बिरामीलाई योगाभ्यास गराई उपचार गर्दा उनीहरूको समस्या समाधान भई उनीहरूले स्याबासी दिँदा शङ्खुका स्वामी कल्याण मित्रको पनि त्यहाँ उपस्थिति रहेको कुरा संस्मरण गर्छन् उनी ।
डा इन्दुल केसी (इन्दुल बा) का यी बहुमुखी व्यक्तित्व र खुबीबाट अरूले पनि केही सिक्न सके जीवनको एउटा पाटो अवश्य नै सार्थक हुनेमा दुई मत नहोला ।
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर
९८५१२२०८३२


...

All Comments.......


Please Login/Register To Comments