डा. इन्दुल केसीबाट मेरा सिकाइहरु
भदौ १६, २०७८, बुधबार | विहान १०:५९ बजे | 10
रामप्रसाद शर्मा, पोखरा
पृष्ठभूमि
देख्दा सामान्य लाग्ने । कुरा गर्दा कहीं घमण्ड नभएको, आफ्नो ईतिहासको कुनै वास्ता नहुने अनि सादा निष्काम रुपमा कर्ममा डटिरहने अनि खटिरहन इच्छा गर्नेहरु अहिलनेको समयमा विरलै पाइन्छन् । नविन सोच, नविनतामा विकाश देख्ने अनि आफ्नो सानो सहयोगले केही बन्छ भने किन नगर्ने भनेर सदा उपकार अनि परोपकारमा होमिने मानिस वास्तविक समाज सुधारक हुन् । कहिल्यै पनि चुप्प लागेर समय खेर फाल्न मन नगर्ने । अनवरत केही न केही गरिरहने स्वभाव बास्तबमा आफूले अंगिकार गर्नु पर्ने र अरुलाई सहजताका साथ अंगिकार गराउनु पर्ने बानी हुन् । आफू केही न केही गरिरहनेले अरुलाई पनि अनायासनै काममा अभिप्रेरित गरिरहने कर्मको सिद्धान्त हो यसको अनुभूति हुनको लागी जन्मैबाट अथवा केही समय यस्ते परिवेशमा जीवन व्यतित गर्दा थाहा हुँदो रहेछ । यो पृष्ठभूमि डा. इन्दुल केसीज्यूको सन्दर्भमा हो ।
परिचय
काठमाडौं उपत्यका भक्तपुरका डा. इन्दुल के.सी. सँग मेरो भेट भएको पाँच वर्ष भयो, उहाँसँगको सहचर्य देख्दा अचम्म लाग्छ । आफू भने ८१ वर्षको हुँ भन्नु हुन्छ तर जोश जाँगर भने सोह्र अठार वर्षे युवाको जस्तो छ । एक दुई पटक हो कि होइन जस्तो पनि नलागेको होईन तर त्यस्तो अनुभूति कहिल्यै भएन बरु जति निकटता भयो उति नै अगम्य, नयाँ नयाँ पाटाहरु उजागर हुँदै जान लागे । एउटा व्यक्तित्वका यति धेरै आयामहरु, ती आयामहरुको सम्पूर्ण समिश्रण एकै ठाउँमा हुनु भनेको पनि एउटा ठूलो उपलब्धि हो । शारीरिक रुपमा ८१ वर्षको भनेको जीवनको उत्तरार्ध मानिन्छ तर त्यही समय जब स्वस्फूर्त सेवाभावमा उत्रिन्छ त्यसको प्रभाव दीर्घकालिन हुन्छ भन्ने ज्ञान मैले उहाँबाट पाएको छु त्यही नै जीवन ऊर्जा हो भन्ने गहिरो अनुभूति हुन्छ ।
अनुभव
अध्यात्मिक हुँ भन्नु र त्यसलाई व्यहारिक रुपमा बाँच्नु अत्यन्त फरक कुरा हुन् । अहिले बाटाघाटामा आफूलाई आध्यात्मबादी देखाउन पहिरन देखि बोलिचाली अनि अनौठो भावभंगिमा देखाउने धेरै अध्यात्मवादीहरुको लागि उहाँ एउटा गतिलो थप्पड हुनुहुन्छ । आफू भने खुब अध्यात्मवादी भनि टोपल्ने तर जब सेवाभावको कुरा अगाडी आउँछ आफू सरक्क पन्छिनेहरुको लागि उहाँ जीवन्त उत्तर हुनुहुन्छ । कुनै पनि कुरालाई गहिरोसँग बुझ्नको लागि आफ्ना ज्ञानहरुको अहँकारलाई एउटा रद्दीको टोकरीमा फाल्नु अपरिहार्य हुन्छ अनि आफूलाई बालबोधिको ठाउँमा राखेर ज्ञान ग्रहण गर्नु कुनै चानचुने कुरा होइन, त्यस मामलामा उहाँ खरो उत्रिन सक्षम हुनुहुन्छ ।
अध्यात्मको मूल भनेको आफूलाई अहंकार रहित बनाउनु हो । अहंकार बिहीन भएर अहोरात्र समाजसेवामा खटिनु चानचुने कुरा होइन । उहाँलाई हेर्दा एउटा आशाको अंकुर पलाउँछ । उमेरले अन्ठाउन्न वर्ष पश्चात सरकारी सेवाबाट निवृत्त भइसकेपटि पनि अब मलाई केही चाहिँदैन म बुढो भएँ भनेर आफूले आफैंलाई एकातिर निष्कृय बनाएर थन्क्याउनु एउटा पक्ष हो तर बास्तविकता अलि फरक रहेछ भन्ने कुरा उहाँबाट सिक्ने अपूर्व अवसर मिल्यो मलाई । सेवा निवृत्ति पछि झन् धेरै अनुभवहरु बटुलिएको हुँदो रैछ, एउटा अदम्य आत्मविश्वासका साथ समाजलाई एउटा नविन दिशाबोध प्रदान गर्ने अवसर आउँदो रहेछ । वास्तवमा यस्ता सपूतहरु आठ दश जनामात्र एकत्रित भएर आफ्ना अनुभवका पेटाराहरुलाई प्रायोगिक तबरबाट एकत्रित गर्ने हो भने हामी नेपाली अत्यन्त धनी छौं भन्ने आभाष हुन्छ ।
जीवन पर्यन्त आफूलाई राष्ट्रसेवामा समर्पित गरिसकेपछि सेवा निवृत्त भएपछि के गर्ने ? भन्ने प्रश्न टड्कारको छ तर राष्ट्रसेवामा रहँदा आफूलाई नियन्त्रण गर्ने संरचनाबाट बाहिरिएर स्वतन्त्र रुपमा समाजसेवा गर्दा के–के सम्म गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण मैले उहाँबाट पाएको छु । कहिलेकाहीं सपना पनि देख्छु साच्चै यही सत्य हो भने त अहिलेको नेपालमा अलपत्र परेका नेपाली युवाहरुलाई देश भित्रै बसेर केही गर्ने सकिन्छ भन्ने वातावरण बनाउन उहाँजस्ता हरेक बुवाहरुको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । जीवन पर्यन्त सम्माननिय रुपमा आर्जन गरेका अनुभव, ज्ञान अनि विपरित परिवेशलाई पनि अनुकुल बनाउने क्षमताको कारणले गर्दा आफूभन्दा उमेर र अनुभवमा साना युवाहरुलाई समाज अनि देश विकासमा अभिप्रेरित गर्न सरल उपायहरको खोजी गर्न सकिन्छ भन्ने अनुभूति मैले उहाँबाट पाउन सकेको छु ।
आशा
भन्नेहरु त भन्ने गर्छन् यो एक्काइसौं शताब्दि हो, विकास आफ्नै चरममा छ, यी बुढाहरुको यो समय आत्मसात गर्न सक्दैनन् भनेर पन्छाउने स्वनामधन्यहरु पनि नभएका होइनन् तर वास्तविकता फरक छ । ज्ञान, अनुभव त्यसको प्रयोग अनि सोचाईको स्वच्छन्दता यही उमेरमा आएको हुन्छ । छोराछोरीहरुले आ–आफ्नो कुटिखेलो गर्न सक्ने बनाएपछि यो उमेरमा पारिवारीक पृष्टभूमिमा पनि स्वतन्त्रताको अनुभूति हुँदो रैछ कि भन्ने अनुमान गर्न सकिन्छ । त्यसो भन्दैमा स्वास्थ्य अनि यस उमेरका आफ्नै परिवेश नहुने होईनन् । सबैको बाबजुद पनि अनवरत रुपमा अहोरात्र हामी जस्ता युवाहरुलाई उहाँको मार्गदर्शन अत्यन्त आवश्यक छ भन्ने अन्तरमनमा महशुस भइरहेको छ । उहाँको कर्मप्रतिको लगाव अनि समस्यालाई समाधान गर्ने चट्टान जस्तो धैर्यताको सिको गर्न सक्नुपर्छ हामी युवाले । उहाँको व्यक्तित्व र कृतित्वका धेरै आयामहरु छन् । उहाँ लगायत उहाँ जस्ता प्रविण अग्रजहरुबाट समाजको कायापलट गर्नको लागि हामीले सिक्नु पर्ने धेरै छ ।
००००