सत्यान्वेषक पुरुष


भदौ १५, २०७८, मङ्गलबार | विहान १०:२७ बजे | 20


सत्यान्वेषक पुरुष

हरि मन्जुश्री
सत्यान्वेषक पुरुष । डा. इन्दुल केसीलाई मैले बुझ्न खोज्दा निस्केको निचोड यही हो । । उहाँको वास्तविक परिचय पाउन उहाँलाई मैले आफ्नो अध्ययनको कसौटीमा घोटेपछि निस्किएको सारतत्व यही हो ।
सत्य । यसको ठीक परिभाषा दिन कठिन छ । समय, परिवेश, स्थान, विचार, परम्परा, संस्कृति, दर्शन, शिक्षा आदिले ‘सत्य’ का परिभाषा फरक पार्छन् । त्यसै पनि सत्य कुनै परिभाषा र भाषामा बाँधिने कुरा नै होइन । एउटाले मानेको सत्य अर्काका लागि असत्य हुन सक्छ । भ्रम पनि सत्य नै लाग्छ । भ्रम नहटी सत्य पाइँदैन । म अहिले जे लेखिरहेको छु, मैले यसलाई सत्य माने पनि यो नै सत्य हो भन्न सकिदैन । यस्ता कुराहरू सत्याभास मात्रै हुन सक्छन् भ्रम मात्र हुन सक्छन् । डा. इन्दल केसीलाई मैले सत्याभासबाट सत्यतर्फको यात्रा गर्नका लागि सत्यान्वेषण गर्ने सत्यान्वेषक पुरुष ठान्नुको कारण नै उहाँ विभिन्न प्रकारका भ्रमहरूबाट बिस्तारै मुक्त हुँदै गएको आभास मलाई हुनु हो ।
अन्वेषक । जसले खोज गर्छ, शोध गर्छ, अन्वेषण गर्छ, गवेषणा गर्छ, त्यो । हरेक चेतनशील प्राणी कुनै न कुनै रूपमा खोजकर्ता हो, शोधकर्ता हो, अन्वेषक हो, गवेषक हो । अन्वेषण नै गन्तव्यतर्फको पहिलो यात्रा हो ।
पुरुष । डा. इन्दुल केसीलाई मैले यही शब्दको प्रयोग गरेको छु । हाल प्रचलित अर्थको पुरुष अर्थात लाग्नेमान्छे या मानववंशका भालेजातिका रूपमा मैले उहाँलाई ‘पुरुष’ शब्दको उल्लेख गरेको होइन । व्याकरणशास्त्रले सर्वनाम अथवा क्रियाको कर्ताभेदलाई पुरुष भनेको छ । यजुर्वेदमा पुरुषसूक्त नै छ । त्यसमा विराट पुरुषको चर्चा गरिएका छ । प्रा. बालकृष्ण पोखरेलले त्यही पुरुषलाई केन्द्रमा राखेर ‘खसजातिको इतिहास’ नामक विशालकाय ग्रन्थ नै लेख्नुभएको छ । साङ्ख्यदर्शनले चाहि प्रकृतिदेखि भिन्न रहेको अपरिणामी, कर्ता, आत्मा, जीवलाई पुरुष मानेको छ । ‘पुरुष’ शब्दले भालेपोथी छुट्याउँदैन । त्यसैले महिला वा नारी वा पोथी पनि पुरुष नै हुन् ।
हामी जीवात्मा हौँ । जीवात्माको मुख्य कर्म उदगममा जान खोज्नु नै हो । खोलाको गन्तव्य समुद्र भएजस्तै जीवात्माको गन्तव्य परमात्मा हो । प्राक्तन कर्मका कारणबाट जीवात्मा दूषित बनेको छैन भने त्यस्तो पुरुषले परमात्माको प्राप्तितर्फ प्रयत्न गर्छ । किनभने सत्यान्वेषण त्यही हो । परमात्माभन्दा बाहेक अर्काे कुनै सत्य छैन । सत्याभास छ, सत्यको भ्रान्ति छ, तर सत्य छैन । सत्य जो हो, त्यसलाई प्राप्त गर्न, त्यसमा अन्तर्षुलित हुन, त्यसमा मिसिएर ‘आफू’ लाई मेटाउन शुद्ध जीवात्माको प्रयास रहन्छ । डा. इन्दुल केसीले त्यही प्रयत्न गरिरहनुभएको छ भन्ने मलाई लागेको छ ।
डा. इन्दुल केसी । उहाँलाई दिइएको अथवा उहाँले ग्रहण गर्नुभएको नाम इन्दुल । धर्तीमा अवतरण भएपछि एउटा न एउटा नामको आवश्यकता पर्ने भएकाले उहाँ ‘इन्दुल’ हुनुभयो । मानववंशको जातिगत आधारमा उहाँ केसी उपाधिधारी बन्नुभयो । ‘डाक्टर’ उहाँको अर्को अध्ययनगत उपाधि हो । यी तीनवटै शब्द लौकिक हुन चिनिन र चिनाउनका लागि प्रयोग गरिएका वास्तविकतामा त उहाँ सत्याश हुनुहुन्छ । अंश अपूर्ण हुने भएकाले उहाँ पूर्णताप्राप्तिका लागि सत्यतिर उन्मुख बन्नुभएको छ सत्यान्वेषक पुरुष बनेर ।
डा. इन्दुल केसीले लौकिक कर्महरू गर्नुभएको छ । उहाँकै पूर्वकर्मका आधारमा नियतिले निश्चित गरिदिएको कर्मबन्धनमा बन्धित बनेर उहाँले विभिन्न क्षेत्र, विधा र प्रकारका कर्महरू गरिरहनुभएको छ । त्यस्ता कर्महरू उहाँबाट गराउने अर्कै छ । उहाँ त माध्यम मात्रै हुनुहुन्छ । हामी यस्तो–यस्तो कर्म गरिरहेका छौँ भनेर हामी भन्छौँ भने त्यो भ्रान्ति मात्रै हो, सत्य होइन । सत्य त के हो भने कसैले हामीबाट कर्महरू गराइरहेको छ । हामीलाई माध्यम बनाएर अनेक प्रकारका कर्महरू गराउने को हो, त्यसलाई जान्नुपर्छ हामीले । डा. इन्दुल केसी त्यसैलाई जान्न खोज्दै र त्यसैमा पुग्न खोज्दै हुनुहुन्छ ।
डा. इन्दुल केसी प्रशासक बन्नुभयो, प्रशिक्षक बन्नुभयो, शिक्षक बन्नुभयो, समाजसेवी बन्नुभयो, लेखक बन्नुभयो, भजनगायक बन्नुभयो, चिकित्सक बन्नुभयो । पारिवारिक वृत्तभित्र नाति, छोरा, श्रीमान, पिता, ससुरा, मामा, भान्जा आदि विविध उपाधि–सम्बन्धहरू धारण गर्नुभयो । दायित्व सम्भोर, कर्तव्य सम्भोर, अरूको अनुरोधमा, मन लागे पनि, मन नलागे पनि विभिन्न कर्महरू गर्नुभयो । लौकिक दृष्टिले खराब मानिने कर्महरू पनि गर्न सक्नुहुन्थ्यो, गर्नुभएको मलाई थाहा छैन । असल र खराब कर्मको मापन गर्ने लौकिक आधार सधैंभरि र सबै स्थानमा एउटै नहुने भएकाले उहाँले गरेका कर्महरूमध्ये कुन खराब र कुन असल भनेर छुट्याउन पनि नसकिएला । तर मैले उहाँका विषयमा अनुभव गर्न थालेदेखि उहाँबाट भएका र उहाँका विषयमा अरूबाट थाहा पाएका कृत्यहरूका आधारमा भन्नुपर्दा उहाँबाट लोकहितार्थ कल्याणकारी कृत्यहरू धेरै भएका छन् भन्न म हिचकिचाउँदिनँ ।
डा. इन्दुल केसीबाट जीवनमा जे–जे कर्महरू गरिएका छन्, ती–ती कर्महरू सत्यको अन्वेषण गर्ने क्रममा उहाँकै प्राक्तन कर्मका कारणले लोककल्याणका लागि गरिएका छन् । ती कर्महरूले उहाँजस्ता सत्पुरुषलाई सत्यसम्मुख पु¥याएर सत्यमै एकाकार गराइदिन्छन् भन्ने ममा विश्वास छ । सत्यको अन्वेषण गर्दागर्दै स्वयं सत्य हुनु या सत्यभित्रै समाहित हुनु एकदमै ठूलो उपलब्धि हो । डा. इन्दुल केसी त्यही मार्गका यात्री हुनुहुन्छ । सत्यान्वेषण गर्दै गरेका अनगन्ती ब्रह्माण्डभित्रका अनगन्ती पुरुषहरूका बीचमा डा. इन्दुल केसीका कर्मको के गणना होला र ! गणना गर्ने प्रयत्न गर्नु त अहङ्कार नै होला र त्यो अहङ्कार पनि सत्यप्राप्तिका लागि बाधक नै होला । तैपनि कुनै ब्रह्माण्डभित्रको एउटा पृथ्वीको एसिया महादेशमा पर्ने नेपाल भन्ने सानो देशमा रहेका सीमित सङ्ख्याका शिक्षित जनसङ्ख्याका बीचमा नै भए पनि उहाँका सत्कार्यहरू भविष्यमा आउने सत्यान्वेषक पुरुषहरूका लागि प्रेरक बन्नेछन् भन्ने कुरामा चाहिँ म ढुक्क छु ।
००००

Comments