ट्राफिक नियम र मैले बनाएको ट्याटु
भदौ १२, २०७८, शनिबार | विहान ०३:०३ बजे | 15
सीताराम हाछेथू
भनिन्छ केही कुराको परिवर्तन गर्नुछ भने सुरूवात आफैंबाट गर्नुपर्छ। यस्तै मुलुकमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालना गराउनुमा सबैभन्दा पहिले आफू सुरक्षित हुँदै उक्त नियम पालना गर्नुपर्छ।
हाम्रो देशको ट्राफिक व्यवस्थापन, चालकहरूको चेतना र सडकमा यात्रुले पालना गरेका नियम हेर्दा देशको शासन व्यवस्था र कानुनी राज्यको चित्रण सजिलैसँग गर्न सकिन्छ।
यसमा कमजोरी कसको हो?
हिजोआज हरेक दिन सुन्ने दुर्घटनाहरू र हुने मृत्युका खबरहरू त्रासदीपूर्ण छन्।
सवारी दुर्घटना हुनु सामान्य जस्तै भइरहेको छ। नियमित दुर्घटनामा मानिसको ज्यान जाने र अंगभंग हुने क्रम बढेको छ। एउटा चालकले ट्राफिक नियम पालना नगर्दा क्षणभरमै दर्जनौं व्यक्तिको इहलिला समाप्त हुन्छ।
हालै मात्र दाङमा शैक्षिक भ्रमणबाट फर्कदै गरेको एउटा स्कुल बस दुर्घटनामा परी २३ जना विद्यार्थी र शिक्षकले अनाहकमा ज्यान गुमाए।
नेपालमा सवारी दुर्घटनामा परी दिनमा ७ जनाको मृत्यु हुन्छ भने उपत्यकामा मात्र २ दिनमा एक जनाको मृत्यु भइरहेको हुन्छ।
एउटै दुर्घटनाले सबै स्वाहा गरिदिन्छ। त्यसपछि मृत्यु, रोदन क्रन्दन, शोकसभा, श्राद्ध र विस्तारै विस्मृतिमा ओझेल हुँदै जान्छ।
दुर्घटनाबाट बाचेकाहरूको स्थिति पनि अपाङ्गता र जिन्दगीभरको लागि दुःख भोगाई हुन्छ। कतिपयमा पारिवारिक विचलन हुनुका साथै कतिपय दरिद्रतामा बस्न बाध्य हुन्छन्।
ट्राफिक नियम पालना गर्न र सुरक्षित यात्रा गर्नु व्यक्ति आफैंको लागि हो। तर, ट्राफिक नियम पालना प्रहरीको लागि गरिदिनुपर्ने जस्तो सोचाई आम मानिसमा रहेको पाइन्छ। यो सरासर गलत कुरा हो।
मानिसको बाँच्ने अधिकारलाई सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने विषयमा हामीले गम्भीर ध्यान दिनु जरूरी भएको छ। किनकि, धेरै संख्यामा हुने सडक दुर्घटनाको कारक ट्राफिक चेतनाको कमिले हुन्छ।
अन्य देशमा अभिभावकहरूले ट्राफिक नियम उलंघन नगर्ने मात्र होइन उनीहरूले आफ्ना नानीहरूलाई बच्चैदेखि ट्राफिक अनुशासनमा बस्नेबारे सिकाउँछन्।
ती देशमा ट्राफिक व्यवस्थापनलाई सडक जाम हटाउन र दुर्घटनाबाट बचाउन मात्र नभएर नयाँ युवा पुस्ताहरू, जो भर्खरै सडकमा सवारी चलाउने अनुमति पाएका हुन्छन्, तिनलाई ‘ट्राफिक नियम पालना गर, नगरे कारबाहीको भागिदार भइन्छ’ भन्ने शिक्षा पनि प्रयोग गरेको देखिन्छ।
सरकारले राज्यको अनुशासन व्यवस्था कायम गर्न ट्राफिक नियमलाई कडाइका साथ पालना गराउनुलाई पहिलो खुड्किलोको रूपमा लिएको हुन्छ, जसले गर्दा प्रत्येक नागरिकमा राज्यको नियम पालना नगरे सजाय पाइन्छ भन्ने मानसिकताको विकास युवा अवस्थाबाटै भएको हुन्छ। त्यसैले नागरिकहरू सडक–कानुन उल्लङ्घन गर्न चाहँदैनन्।
यहाँ ट्राफिक नियम मिच्दा गल्ती गरेको अनुभव गर्नुको साटो ठूलै सफलता पाएको अनुभूति गर्छन्। ट्राफिक नियम पालना नगर्दा नै सडकमा बढी दुर्घटना हुने गरेको छ।
त्यसैले सुरुदेखि नै युवा पुस्ता, जो देशका भविष्य हुन्, तिनलाई देशको कानुन नमाने सजाय पाइन्छ भन्ने सन्देश दिन आवश्यक देखिन्छ। तर, कुनै पनि निकायबाट यसको परिपालन हुन नसक्नुले अधिकांश युवामा जे गरे पनि हुन्छ भन्ने सोच विकसित भएको देखिन्छ।
ट्राफिक नियम पालना नगर्दा ट्राफिक प्रहरीलाई पनि गाडी नियन्त्रण गर्न र दुर्घटना कम गर्न हम्मेहम्मे पर्छ।
सडकमा आफू मात्र राम्रो भएर हुँदैन अरूले पनि ट्राफिक नियम पालना गरेको हुनुपर्छ। ट्राफिक सचेतनाको लागि एउटा सानो स्टिकर आफ्नो गाडीमा टाँस्दैमा गाडी फोहोर हुँदैन। तर हामीकहाँ त्यसो गरेको पाइँदैन।
कडा कारबाही र धेरै जरिवाना गरेर मात्र दुर्घटना कम हुने होइन। पहिलापहिला २५ रूपैयाँ जरिवाना लिँदा र अहिले ५०० रूपैयाँसम्म जरिवाना हुँदा पनि दुर्घटनामा कुनै कमी आएको छैन, उल्टै बढेको छ।
जबसम्म मानिसको मनमा यो काम गर्न हुँदैन भन्ने चेतना जागृत हुँदैन, तबसम्म दुर्घटना कम हुँदैन।
यहाँ ट्राफिकका लागि मात्र ट्राफिक नियम पालना गर्ने नभए नगर्ने सोचहरू धेरै छन्। किनभने ट्राफिकले कारबाही गर्छ भनेर मात्र ट्राफिक नियम पालना गर्दैमा केही हुँदैन। मानिसको मनमा डरले होइन, भित्रै मनबाटै म यो काम गर्न सक्छु, यो काम गर्नु हुन्न भन्ने भएमात्र चेतनाको सुरूवात हुन्छ नभए केही हुन्न।
एउटा चिर्कटोको भरमा ट्राफिकले कारबाही गरेर मात्र ट्राफिक दुर्घटना न्यूनिकरण हुने होइन, आम मानिसमा सचेतना जाग्नुपर्छ र जगाउनुपर्छ। यो अहिलेको अपरिहार्य आवश्यकता हो।
अनुशासन देशको सुशासनको मेरुदण्ड हो भन्ने बिर्सेर नियम–कानुन जति उल्लंघन गर्न सक्यो, त्यसैलाई नै स्वतन्त्रताको उपभोगका रूपमा व्याख्या गर्ने परिपाटीले आज ट्राफिक व्यवस्थापन भद्रगोल स्थितिमा पुगेको छ।
त्यसैले सुरुदेखि नै युवा पुस्ता, जो देशका भविष्य हुन्, तिनलाई देशको कानुन नमाने सजाय पाइन्छ भन्ने सन्देश दिन आवश्यक देखिन्छ। तर कुनै पनि निकायबाट यसको परिपालन हुन नसक्नुले अधिकांश युवामा जे गरे पनि हुन्छ भन्ने सोच विकसित भएको देखिन्छ।
सरकारले पनि ट्राफिक चेतनाका लागि बेलाबेलामा विभिन्न अभियान नै चलाउनुपर्छ।
हरेक व्यक्ति, घर परिवार, टोलटोल र सहरसहरमा यस्तो चेतना फैलाउनुपर्छ।
घरमा ठूलाठूला हिरोहिरोइनका पोष्टर टास्ने ठाउँ हुन्छ तर, आफू र अरूलाई सुरक्षित बनाउने ट्राफिक सचेतनासम्बन्धी पोष्टर टाँस्दा के बिग्रन्छ?
घर अफिस स्कुल कलेज जहाँजहाँ आफ्नो उपस्थिति हुन्छ त्यहाँत्यहाँ चेतनामुलक पोष्टर टाँस्न जरूरी हुन्छ।
यसबाट आफू बाहिर सडकमा निस्कदाँ पढेर गएमा आफूसँगै अरू पनि सुरक्षित हुन सकिन्छ।
स्टिकरमा सामान्यतया बाटो काट्दा वा हिँड्दा अपनाउनुपर्ने कुरा राखे पर्याप्त हुन्छ।
मोटरसाइकल वा गाडी चलाउँदा ध्यान दिनुपर्ने कुराहरू, सवारीसाधन चढ्दा वा ओर्लदा तथा बाटो काट्दा अपनाउनुपर्ने कुराहरू मात्र एक पटक पढेर निस्किएमा केही हदसम्म दुर्घटना कम हुन्छ।
यसका लागि कसैले गर भनेर हुन्न, आफैं सुरूवात गर्नुपर्छ। मैले पनि २९ वर्ष लामो ट्राफिक जीवनबाट अवकाश लिएसँगै हातमा ‘ट्राफिक नियम पालना गरौं’ भनेर ट्राफिक सचेतनासम्बन्धी ट्याटु खोपेको छु।
मलाई ट्याटु खोप्ने भाइले भनेको थियो– सर एक पटक सोच्नुहोस् २०–२५ वर्षको केटोले त लहैलहै र रमाइलोको लागि यो चोट सहन सक्ला। तर, ५३ वर्षको बुढोले कसरी सक्नुहुन्छ नगरौं। तर, मैले यो मेरो रहर होइन मैले अरूको जीवन सुरक्षित पार्नका लागि बनाउन लागेको हुँ, जनचेतनाका लागि बनाउन लागेको मलाई दुःखेको सहन सक्छु, भने। साच्चीको दुखेको महसुस पनि भएन।
यो ट्याटु हेर्दा सामान्य लाग्ला तर यो पालना गर्दा आफू दुर्घटनाबाट बच्नुका साथै अरूलाई पनि बचाउन सकिन्छ। दुर्घटनाबाट हुने धन र जनको क्षति कम हुन्छ। अहिलेसम्म धेरै जना ट्राफिक प्रहरीबाट रिटायर्ड भइसक्नु भएको छ। तर म पहिलो व्यक्ति हुँ जो पाइलापाइलामा ट्राफिक सचेतना लिएर हिँडेको छु।
अब म जाने हरेक स्कुल र कलेजमा विद्यार्थीलाई मेरो हातमा बनाएको ट्याटु देखाउनासाथ दुई चार जनाले मात्र ‘सीतारामको हातमा ट्राफिक नियम पालना गरौं’ सम्झिए भने पनि उनीहरू केही हदसम्म सुरक्षित रहन सक्छन्।
म सेवा अवधिमा रहँदासम्म विभिन्न नयाँनयाँ उपाय अपनाएर ट्राफिक शिक्षा बाढ्दै हिँडे। मान्छेहरूले मलाई चटकेसम्म भने। तर, हाम्रोमा अझै पनि ट्राफिक चेतना पुगेको छैन। जबसम्म ट्राफिक चेतना हरेक नेपालीमा पुग्दैन तबसम्म ट्राफिक दुर्घटनामा कमी हुन्न।
हाम्रा साना केटाकेटी स्कुलको किताबमा ‘असल नागरिक कसरी बन्ने’ भनेर पढ्छन्, तर ट्राफिक नियम पालना नगर्दा के हुन्छ भन्ने हेक्का राख्दैनन्। देशको यस्तो परिवेशमा स्कुलबाट दिने शिक्षामात्रै राष्ट्रको लागि कति प्रभावकारी होला, यो सोचनीय विषय हो।
व्यवस्थित ट्राफिक अनुशासनको निर्माण र नागरिकहरूले त्यसको पालना गर्दा मुलुकमा मानवीय र भौतिक क्षतिमा कमी आउने मात्र होइन, मुलुक सभ्य, व्यवस्थित, सुन्दर र समृद्ध बन्छ।
मैले जथाभावी बाटो काट्नेलाई चकलेट र फूल दिएर सम्मान पनि गरेको छु। ताकि उसले गल्ती गरेको महसुस होस्। चोकचोकमा बसेर ट्राफिक सचेतना जगाएकै छु।
फोटो प्रदर्शनी, ठाउँठाउँमा श्रब्य दृश्यबाट ट्राफिक जनचेतना जगाउने काम गरेको थिएँ। अब पनि म स्कुल स्कुलमा गएर ट्राफिक चेतना अभियान चलाउनेछु।
त्यसैले पहिला आफू नियम पालना गर्ने अनि अरूलाई भन्न सहज हुन्छ भनेरै मैले हात बिगारेको हुँ। सबैभन्दा पहिला आफू, परिवारका सदस्यहरू, साथीभाई तथा कक्षा लिने ठाउँमा विद्यार्थी र अरूलाई देखाउन सहज हुन्छ भनेरै मैले यो निर्णय लिएको हुँ।
ट्राफिक नियम पालना गरौं।
फाेटाेमा हेर्नुहाेस्...