डा. इन्दुल केसी र गुरुपूर्णिमा पर्व २०७८
भदौ १०, २०७८, बिहीबार | दिउँसो १२:५३ बजे | 45
यसपालीको गुरुपूर्णिमा विशेष किसिमले मनाइयो । आषाढ शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । व्यास जयन्तीका नामले पनि प्रसिद्धि पाएको यो दिन गुरु दक्षिणामूर्तिको पनि पूजा गरिन्छ । भगवान् भोलेनाथका गुरु हुन् दक्षिणामूर्ति । नित्यकर्म सिध्याएपछि धरानमा बस्नु हुने पिता हिमप्रासद दाहाललाई फोन गरेँ । फोनबाटै ढोग गरेँ । बुबाको सुस्वास्थ्य र दीर्घायुको काम गरेँ । पिता जन्मदाता मात्रै होइन शिक्षा दिने पहिलो गुरु पनि हो । तसर्थ गुरुपूर्णिमाको उपलक्ष्यमा बुबाप्रति कृतज्ञता ज्ञापन गर्नु प्रत्येक सन्तानको कर्तव्य हो । फोनमा कुरा गर्न पाउँदा बुबा खुसी हुनुभयो र आशीर्वाद दिनुभयो । कोरोना कहरमा सुरक्षित बस्नु होला र भ्याक्सिन पनि लगाउनु होला भनी अनुरोध गरेँ । उहाँले स्वीकृति जनाउनु भयो । त्यसपछि मेरो दाजु वरिष्ट अधिवक्ता (कानुनविद्) हरिहर दाहाललाई फोनबाटै ढोग गरेर पूर्ववत् कुरा दोहो¥याएँ । वहाँले पनि खुसी भएर आशीर्वाद दिनुभयो । आजको पावन दिनमा मैले आफूलाई कृतार्थ भएको सम्झिएँ ।
बिहानको ८ बजे भक्तपुरका साहित्यकार डा. इन्दुल केसीको फोन आयो । पशुपतिनाथमा अवस्थित पाशुपत योग आश्रमले गुरुपूर्णिमाको उपलक्ष्यमा एउटा कार्यक्रमको आयोजना गरेको छ । तपाईलाई आमन्त्रण गरिएको छ । पाल्नुहोला भनी डा. इन्दुलले मीठो स्वरले अवगत गराउनुभयो । म त्यसै पनि पशुपतिनाथ जना लागेकै थिएँ । त्यसमा झन् डा. इन्दुलको निमन्त्रण पाएपछि नजाने कुरै भएन । श्रीमती रीतलाई जाऊ भनेँ । उनी भातभान्साको व्यस्तताले जान सकिनन् । सबैभन्दा पहिले वर्षमा एक दिन अर्थात् गुरुपूर्णिमाका दिन मात्रै खुल्ने गुरुदक्षिणामूर्तिको दर्शन गरी ब्राह्मणको हातबाट अभिषेक र टीका ग्रहण गरी उनलाई दक्षिणा प्रदान गरेँ । डा. इन्दुल केसी मलाई लिन पशुपतिनाथको पश्चिमतिरको मूल ढोकामा प्रतिक्षा गरिरहनु भएको रहेछ । ८१ वर्षे केसी धेरै नै फुर्तिलो र जाँगरिलो हुनुहुन्छ । बहुआयामिक व्यक्तित्वका धनी साहित्यकारका अतिरिक्त समाजसेवी हुनुहुन्छ । स्पष्टवक्ता, मृदुभाषी, वृद्धअवस्था भएपनि बालसुलभ विशेषतालाई त्याग्न नसकेका र साथै कसैको दुःखमा आँसु लुकाएर बस्नै नसक्ने मनकारी व्यक्तित्वको नाम हो डा. इन्दुल केसी । उनी कवितामा छताछुल्ल पोखिन्छन् । पोखिँदा कहाँ के पर्छ त्यसको ख्याल रत्तिभर गर्दैनन् । नदीको बेगले किनारलाई नहेरी दौडिनुको मज्जा लिएजस्तै इन्दुल पनि आफ्ना कविता त्यसरी प्रस्तुत हुने गर्दछन् । यो नै उनको काव्यिक मौलिक विशेषता हो । भजन गाउँछन्, सङ्गीत भर्छन् । प्राचीन सम्पदाको खोजी गर्छन् । अनुसन्धानको दस्ताबेज तयार पार्छन् । साहित्यले मनलाई हसाउँछन् । प्राकृतिक चिकित्सा पद्धतिद्वारा आफ्नो र अरुको शरीर स्वस्थ तुल्याउँदै हिँड्छन् । अध्यात्मको शंख फुक्दछन् । साधुसन्तको आरती उतार्छन् । कोरोनाको महामारी चलिरहेछ, उनी एउटा झोला भिरेर लब¥याङ– लब¥याङ हिँडिरहन्छन् । सत्सङ्ग र साहित्यिक गोष्ठी भरिसक्य छोड्दैनन् । आफ्नो खल्ती रित्याउँदै अरुलाई साहित्यिक मज्जा चखाइरहन्छन् । छोटकरीमा डा. इन्दुल केसीको शब्दचित्र यही हो ।
डा. इन्दुलले मलाई अध्यात्मज्ञानी योग गुरु महात्मा सुशीलसित परिचय गराउँछन् । जटा र दारीले सुशोभित महात्मा सुशीलका मुखारबिन्दबाट अमृतमय वचन ग्रहण गर्दछौं । मलाई पनि बोल्ने अवसर प्रदान गरिन्छ । म पनि धर्म र अध्यात्मका कुरा बोल्दछु । महात्मा सुशीलले मलाई ध्यान योग गरी रुद्राक्ष्को माला लगाइदिन्छन् । आफूले लेखेका पाशुपतयोग (अङ्गेजी–नेपाली), अक्षमालिकोपनिषदे, लाङगुलोपनिषद् कृतिहरु उपहार दिन्छन् । पूर्वीय वाङ्मयका यी महत्वपूर्ण कृति हुन् । यी कृतिहरुको अध्ययन र श्रवण मात्रै होइन घरमा यी कृतिहरु राख्दा सुख, शान्ति हुन्छ ।
सत्सङ्ग एवं प्रवचनको कार्यक्रम सिद्धिएपछि पाशुपत योग आश्रमको परिसरमा अवस्थित कोटेश्वर महाशिव लिङ्गमा गुरुपूर्णिमाको उपलक्ष्यमा आयोजना गरिएको पूजनोत्सवमा सरिक हुन्छौं । पूजनोत्सवको संयोजन श्री धर्मवीर लामा र श्री हरि श्रेष्ठले गरेका रहेछन् । यी दुईजना भाइहरुलाई मुरी–मुरी धन्यवाद ज्ञापन गर्दछु । महात्मा सुशीलले वैदिक मन्त्रोच्चारण गरी पूजा गराउनु हुन्छ । डा. इन्दुललगायत महिला तथा भद्रपुरुषहरुको बाक्लै उपस्थिति थियो । महात्मा सुशीलबाट टीका प्रसाद ग्रहण गरेर हामीहरु आ–आफ्नो गन्तव्यतिर लाग्दछौं । यसरी आजको गुरुपूर्णिमा विशेष किसिमले सम्पन्न गर्न पाएँ ।
“तस्यैश्री गुरुवे नमः ।”