ज्ञानसागर प्रजापति
कुनै पनि शैक्षिक संस्था आफैमा एउटा सामाजिक संस्था हो । त्यसमा पनि सामुदायिक विद्यालय त झन संस्थागत स्कुलहरूको तुलनामा बढी सामाजिक हुनुपर्छ र हुन्छ पनि । त्यसैले सामुदायिक स्कुलमा काम गर्ने शिक्षक कर्मचारीहरू सबैमा सामाजिक भावना हुनु अत्यावश्यक छ । सामाजिकताविनाका शिक्षक कर्मचारी त्यो संस्थामा लामो समय टिक्न गाह्रो हुन्छ । शिक्षक कर्मचारीहरू फेरिरहने स्कुललाई शैक्षिकस्तर राम्रो गर्न गाह्रो हुन्छ । अतः स्कुलको शैक्षिक गुणस्तर बढाउने धेरै मापदण्डहरूमध्ये शिक्षक कर्मचारीको स्थायित्व पनि एक हो । शैक्षिक गुणस्तर बढाउनलाई स्कुलमा कार्यरत शिक्षक कर्मचारीहरू आपसमा मिलेर काम गर्न जान्नु पर्दछ । समूहमा मिलेर बस्न नजान्ने एकलकाटे शिक्षक कर्मचारीबाट स्कुल प्रगतिको अपेक्षा गर्न सकिदैन । असल शिक्षकका धेरै गुणहरूमध्ये मिलनसारिता पनि एक महत्वपूर्ण गुण हो । स्कुल बनाउन एकापसमा सबै मिल्न आवश्यक छ ।
म प्रा.वि.अस्थायी शिक्षक पदमा २०३६ साल कार्तिक २६ गते शिक्षण सेवामा प्रवेश गर्दा वागीश्वरी नि.मा.वि.को प्रधानाध्यापक अमृतमान शाक्य हुनुहुन्थ्यो । उहाँ पुरानो राजनीतिक कार्यकर्तासमेत हुनुभएकाले २००७ को क्रान्ति र त्यसभन्दा अघिका भूमिगत गतिविधि र जेलजीवनका कथाहरू सुनाउनुहुन्थ्यो । विद्यालय परिवारकाबीचमा सौहार्दपूर्ण वातावरण बनाउने राम्रो खुबी उहाँमा थियो । विद्यालय र समुदायकोबीचमा पनि राम्रै सम्बन्ध थियो ।
यसैक्रममा जिल्ला शिक्षा कार्यालयबाट एकजना शिक्षिका वागीश्वरी स्कुलमा नियुक्तिपत्र लिएर आउनुभयो । हेडसरले उहाँंलाई सामाजिक विषय पढाउन दैनिक कार्यतालिका मिलाउनुभयो । तर नवनियुक्त मिसले आफूलाई जिल्ला शिक्षा कार्यालयले गणित शिक्षिका नियुक्ति गरेकाले गणितबाहेक अरु नपढाउने अडान लिनुभयो । त्यसबेला गणित मोहनप्रसाद प्रजापति सरले पढाइराख्नुभएको थियो । हेडसरले ‘आपसमा मिलेर काम गर्ने हो, मेरो यही विषय हो, योबाहेक अरु सक्दिन नभन्नुहोला’ भनेर धेरै सम्झाउनुभयो । तर, उहाँ मिसले ‘गणित त छोड्दै नछोड्ने बरु आवश्यक परे अङ्ग्रेजी पनि पढाउन सक्छु’ भन्नुभयो ।
अन्ततः उहाँंकै माग र चाहनाअनुसार गणित र अङ्ग्रेजी विषय राखेर कार्यतालिका मिलाउनुभयो हेडसरले । त्यसअनुसार केही दिन मात्र कक्षा सञ्चालन के भएको थियो, ती शिक्षिकाकाबारेमा गणित अङ्ग्रेजी दुबैमा नकारात्मक गुनासाहरू आउन थाले ।
शिक्षक बैकुण्ठलाल श्रेष्ठले हेडसरलाई भन्नुभयो– ‘सर, उहाँ मिसले त ‘सरल गर’ पनि नजान्ने रहेछ । कक्षामा सिकाई राखेको मैले हेरे“ मिल्दैन सर ।’
साह्रै सोझा, कहिल्यै नचाहिने कुरा नगर्ने बैकुण्ठ सरले भनेपछि हेडसरले ती मिसलाई अफिसमा एउटा कापीमा हिसाब गर्न लगाउनुभयो । साँच्चै हिसाब नमिलेकै पाइयो । हेडसरले त्यो कापी आफूसग सुरक्षित राख्नुभयो ।
त्यस्तै एकजना अभिभावकबाट आफ्नो छोराको अङ्ग्रेजी कापीमा माने लेखाइराखेको नमिलेको भन्ने गुनासो आयो । हेडसरले विद्यार्थीका कापी हेर्नुभयो । क्यापिटल लेटरको माने क्यापिटल माने राजधानी र लेटर माने चिठ्ठी अर्थात् क्यापिटल लेटर माने राजधानी चिठ्ठी । व्रिंग माने झ्याल । सबै विद्यार्थीको कापीमा यस्तै भेटिएपछि उहाँले जि.शि.का. बाट विद्यालय निरीक्षक बोलाई सप्रमाण उक्त शिक्षिका अन्तै सरुवाको लागि पत्राचार गरेर सरुवा गराउनुभयो ।
शिक्षिका मिलनसार भएको भए त्यो समस्यै आउने थिएन । शुरुमा अनावश्यक धाक देखाउनुभयो । आखिरमा धुरुधुरु रोएर स्कुलबाट निक्लिनुप¥यो ।
कुनै पनि पेशा व्यवसाय सफल पार्ने एउटा महत्वपूर्ण आधार अनुशासन हो । अनुशासनहीनताले अराजकता ल्याउँछ । अराजकताबाट कोही कही सफल हुदैन । अमृतमान शाक्यपछि मोहनप्रसाद प्रजापति वागीश्वरी स्कुलको प्रधानाध्यापक बन्नुभयो । उहाँ पूर्वप्रअभन्दा अझ बढी नियामक हुनुहुन्थ्यो । उहा आफू कक्षा लिने भन्दा शिक्षक कर्मचारीको खटनपटन व्यवस्थापनमा विशेष ध्यान दिनुहुन्थ्यो । ठीक समयमा आफ्ना कर्मचारीहरू आए नआएको हेर्ने, आफ्नो पालोअनुसार शिक्षकहरू कक्षामा गए नगएको हेर्ने, कक्षा सञ्चालनको बेलामा पनि निरन्तर सबैतिर अनुगमन गरिरहनु त उहाका नियमित काम नै हुन्थ्यो ।
साविकझै सबैतिर कक्षा भइरहेको अनुगमन गर्ने क्रममा कक्षा ३ (च्यामासिंहस्थित हालको भोजनगृह भएको टहरा) मा शिक्षक नभएको अवस्था भेटियो । केही समय शिक्षक शौचालयतिर जानुभयो होला भनेर पर्खनुभयो । पूरै कक्षा अवधिसम्म कुर्दा पनि ती शिक्षक नआएपछि यताउता खोजी गरियो, कही भेटिएन । कुनै आपत्त आइलाग्यो होला भन्ने सोचियो ।
भोलिपल्ट ती शिक्षकसित उहाले ‘हिजो किन कहा जानुभयोे, विनाजानकारी’ भनी सोध्नुभयो । न्यायोचित जवाफ दिएर हेडसरको चित्त बुझाउनुपर्ने शिक्षकले ‘काम प¥यो त्यसैले गए“, जे गर्नुछ गर्नुस्’ भनेर ठाडठाडो सवाल जवाफ गर्न थाल्नुभयो । सगै रहेका हामी शिक्षकहरूलाई नै अप्ठ्यारो लाग्यो । जानकारी नदिई बाहिर गएकोमा गल्ती भयो भनी माफी माग्न हामीले शिक्षक साथीलाई सल्लाह दियौ“, उहाले मान्नु नै भएन । अन्तमा हेडसरले ‘जहाबाट आएको हो, त्यही जानू, म हाजिर गराउदिन’ भनेर रोक्नुभयो ।
धेरै वर्षपछि ती नै शिक्षकले आफ्नो छोरालाई कक्षा ११ मा विज्ञान विषय पढाउन वागीश्वरी स्कुलमै भर्ना गर्न ल्याउनुभयो । विगतलाई सम्झदै उहाले भन्नुभयो– ‘मैले त्यसबेला आफ्नो आवेगलाई सम्हाल्न सकिन“, गल्ती मेरै थियो । जे होस् तपाईंहरूले वागीश्वरी स्कुल राम्रो गर्नुभएको छ ।’ छोरा भर्ना गर्न ल्याउदा विगतको रिसराग पटक्कै थिएन, खुशी लाग्यो । छोरा पनि कक्षा ११–१२ सफलतापूर्वक उत्तीर्ण भएर गए ।
गजल र सङ्गीतको धुन चढेपछि उहा आफूलाई बिर्सनुहुन्छ कि के हो कुन्नि । बीचबीचमा पनि यस्ता गल्तीहरू उहाले गर्नुभएको थियो । कक्षा ३ सम्मको त्रैमासिक परीक्षाको उत्तरपुस्तिका विद्यार्थीलाई घरमै दिएर पठाउने परिपाटी बसालिएको थियो । एउटा त्रैमासिक परीक्षाको सबै विषयका उत्तरपुस्तिकाहरू लहरै राखी क्रमशः स्टिच गरिरहदा अनायासै मैंया मानन्धर मिसले सामाजिक विषयको उत्तरपुस्तिका यसो पल्टाएर हेर्नुभयो, कापी त जाचिएकै रहेनछ । मिसले अर्को, अर्को कापी पनि हेर्नुभयो कापी त जाचिएकै रहेनछ ।
उत्तरपुस्तिका घरमा दिएर पठाउने काम रोकियो । सामाजिक विषयको उत्तरपुस्तिकाको चाङ हेर्दा उत्तरपुस्तिकाको अगाडि एउटा पेजमै विनापरिक्षण अन्दाजकै भरमा त्यत्तिकै नम्बर दिइराखेको पाइयो । भित्री पेजहरूमा कहीकतै रातो मसीसम्म लागेको देखिएन कुनै पनि कापीमा । हेडसरले त्यसबेला पनि ‘यो के गरेको , कापी अभिभावकको हातमा पुगेको भए के हुन्थ्यो’ भनी स्पष्टीकरण माग्नुभयो । त्यसबेला पनि हेडसरसग उहाको विवाद चर्कोचर्की नै भएको थियो । हामी शिक्षकहरूले मध्यस्थता गरी विवाद साम्य पारेका थियौ । यसरी पटक पटक हेडसरसग विवाद भएपछि उहा अन्ततः अन्यत्र सरुवा त हुनुभयो । तर त्यतातिर पनि शिक्षण पेशामा टिक्नु भएन । विनारुची शिक्षण पेशामा लागेको भन्ने बुझियो । रुचिविना कोही कही टिक्दैन ।
एउटा स्कुल सफल पार्न नेतृत्व गर्ने प्रधानाध्यापक नियामक हुनैपर्छ । व्यक्तिगत नभई विद्यालय र विद्यार्थीलाई केन्द्रमा राखेर समर्पित हुन सक्नुपर्छ । प्र.अ.मोहन सरको नेतृत्वमा रहदा उहाको कडा अनुशासनलाई जीवन पद्धतिकै रूपमा आफूले सक्दो अगालें । त्यसैले मैले आफ्नो शिक्षण पेशालाई सफलतापूर्वक पार लगाए भन्ने लाग्छ । त्यसो त एउटा नेवारको छोरो, भक्तपुर नगरको सामाजिक र पारिवारिक वातावरण पूर्णतः नेवारी परिवेशमा हुर्केबढेकोले मलाई नेपाली विषय पढाउन त्यति सजिलो अवश्य थिएन । तर अहिले फर्केर हेर्दा परिणाम गौरव गर्न लायक नै पाएको छु ।
२०५२ सालभन्दा पहिले वागीश्वरी स्कुलमा कक्षा १० सम्म नेपाली पढाउने शिक्षक नेपालीभाषी मात्र होइन, शुद्ध ब्राह्मण जातिकै शिक्षकहरू हुनुहुन्थ्यो । मा.वि. शुरु हुदा २०३७ सालमा राजोपाध्याय थरको र पछि अर्याल थरको शिक्षकले पढाउनुभएको थियो । त्यसबेला स्कुलको एस.एल.सी. रेकर्डमा अ.नेपाली विषयमा शतप्रतिशत कुनै वर्ष पनि उत्तीर्ण भएको देखिदैन । तर २०५२ सालपछि शतप्रतिशत उत्तीर्ण नभएको कुनै वर्ष रहेन ।
मेरो लागि १० कक्षाको अ.नेपाली पढाउनु चुनौतीपूर्ण त थियो नै । मैले सक्दो मिहिनेत गरे । बजारमा नेपाली व्याकरणका नया किताब देख्नासाथ किनेर ल्याउथें र पठनपाठनमा शङ्का लागेका हरेक विषयमा ती नै किताबहरूबाट समाधान गर्थें । साथै नेपाली भाषी नेपाली विषय शिक्षक मित्रहरूसग पनि छलफल गर्थें ।
आफूलाई सफल बनाउन ‘प्रा.वि.निमावि. समिति’ लाई पनि मैले उपयोग गरे । त्यो समितिमा वागीश्वरी स्कुल सदस्य थिएन । यद्यपि मैले उक्त समितिमा एउटा प्रस्ताव राखे– समितिअन्तर्गतका स्कुलबाट कक्षा ५ (प्राविबाट) र कक्षा ७ (निमाविबाट) मा प्रथम, द्वितीय, तृतीय भएका विद्यार्थीहरू सबै वागीश्वरी स्कुलमा भर्ना गर्न गराउन अनुरोध गरे । ती विद्यार्थीहरूको एस.एल.सीको नतिजा सक्दो राम्रो बनाउने विश्वास प्रअहरूलाई दिलाए । उहाहरू विश्वस्त हुनुभयो । मेरो अनुरोधअनुसार प्रायः सबै प्रावि र निमाविका प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरू वागीश्वरी स्कुलमा भर्ना हुन आएका थिए । ती नै विद्यार्थीहरू २०५२ सालको एस.एल.सी. समूहलाई मैले नेपाली पढाउदा नतिजा शतप्रतिशत मात्र होइन, यसअघिको एक दशकको इतिहासमा हरेक वर्ष १–२ जना मात्र प्रथम श्रेणी हुने नतिजामा त्यो वर्ष १२ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । त्यसपछिका वर्षहरूमा हामीले विद्यार्थी तान्नै परेन त्यही नतिजाले तान्न थाल्यो । वास्तवमा त्यो वर्ष इतिहासमा कोशे ढुङ्गा सावित भयो । आफ्नो मिहिनत सफल पार्न आवश्यक वातावरण बनाउन पनि उत्तिकै जान्नुपर्ने रहेछ । आफू जतिसुकै विषयविज्ञ भएपनि विद्यार्थीको धरातल नै कमजोर भयो भने नतिजा पनि कमजोर हुने रहेछ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पछि प्रथम श्रेणीभन्दा पनि माथि विशिष्ट श्रेणी (८० प्रतिशत वा सोभन्दा बढी) को व्यवस्था ग¥यो । विशिष्ट श्रेणी ल्याउन पनि उत्तिकै चुनौतीपूर्ण थियो । त्यसैले आफू एक्लै लाग्नुभन्दा सामुहिक प्रयास उत्तम हुन्छ भनेर मावि स्तरीय संयुक्त परीक्षा समितिबाटै पहल गर्न गराउन प्रस्ताव गरे । समितिअन्तर्गतका स्कुलहरूबाट सम्भावित विशिष्ट श्रेणीका विद्यार्थीहरू सङ्कलन गरी समितिले वागीश्वरी स्कुल र वासु स्कुलमा दुई ओटा विशेष कक्षा सञ्चालन गर्यो । नतिजा पनि त्यहीअनुसार क्रमशः विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या वृद्धि हुदै थियो । तर त्यो ‘विशेष कक्षा’ धेरै वर्ष सञ्चालन भएन । त्यो कक्षाको धेरै फाइदा वागीश्वरीलाई मात्र भयो भनेर वागीश्वरी प्रति इष्र्या गर्नेहरू पनि देखिए । इष्र्या गर्नेहरूले आफ्नो रिस विशेष कक्षामा बस्ने वागीश्वरीका विद्याथीमाथि पोख्न थाले । त्यसपछि वागीश्वरी पनि उक्त विशेष कक्षाबाट पछि हटेर आफैले परिमार्जनसहित विशेष कक्षाको व्यवस्था ग¥यो ।
एस.एल.सी.को उक्त विशेष कक्षा त्यसबेलाको सबैभन्दा कमजोर विषय अ.गणितको लागि व्यवस्था गरिएको थियो । आन्तरिक मूल्याङ्कनमा १ देखि ९ अङ्कसम्म नम्बर लिने एक समूह, १०–१९ अर्को समूह, यसरी नै क्रमशः २०–२९, ३०–३९, ४०–४९, ५०–५९, ६०–६९, ७०–७९, ८०–८९, ९०–१०० गरी १० ओटा समूह विभाजन गरी पढाउने व्यवस्था गरियो । विद्यार्थीको स्तरअनुसार पढाउन थालियो । ५–७ अङ्क लिने विद्यार्थीलाई आगामी परीक्षामा डब्बल अङ्क १२–१५ मात्र गर्न सकियो भने पनि एस.एल.सी. सम्ममा ३५ कटाउन सकिने हाम्रो विश्वास थियो एकातिर भने अर्कोतिर ९० कटाउने विद्यार्थीलाई १०० नै ल्याउन लगाउने हाम्रो प्रयास रहन्थ्यो । यसको लागि हामीले साझबिहान थप उपचार कक्षाको व्यवस्था गरेका थियौ । यसरी नै गणितबाहेक अरू विषयमा पनि विद्यार्थीको आवश्यकताअनुसार थप उपचार कक्षाको व्यवस्था गरिएको थियो । यसको लागि उत्प्रेरणाको स्रोत भने सधै प्रअ मोहन सर नै हुनुहुन्थ्यो ।
साझ–बिहानमात्र नभई केही वर्ष त विशिष्ट श्रेणी ल्याउनसक्ने सम्भावित विद्यार्थीहरूको निमित्त स्कुलमै आवासीय बन्दोबस्त समेत गरियो । तर विद्यार्थीको बढ्दो चापले गर्दा चाहेर पनि आवासीय व्यवस्थालाई भने निरन्तरता दिन सकिएन । साझ–बिहानको विशेष कक्षा अद्यापि सञ्चालित छ । विद्यार्थीको स्तरअनुसारको उपचार कक्षा चालु नै छ । त्यसो नगरेको भए २–३ सय विद्यार्थीलाई एस.एल.सी.(हाल एस.ई.ई) मा सामेल गरी त्यहीअनुसारनै उत्साहजनक नतिजा कसरी आउथ्यो ।...

All Comments.......


Please Login/Register To Comments