डा. बलराम कायस्थको ‘ख्वप दे’ को सङ्क्षिप्त इतिहास र सहप्राध्यापक विश्वमोहन जोशीको ख्वपको राजनीतिक अवस्थाको ऐतिहासिक परिचय दुवै ख्वपकै विषय भए पनि एउटा साँच्चिकै सङ्क्षिप्त रूपको छ भने अर्को विस्तृत वर्णनात्मक छ ।

शासकहरूको आपसी कलह हुँदा राज्य नै कमजोर हुने र त्यसको फाइदा शत्रुले उठाउने सन्देश यहाँका देव र मल्लहरूबीच द्वन्द्व हुँदा कर्णालीका खस र सिम्रौनगढको राज्य स्थापना भएको र बङ्गालका सुल्तान शमसुद्दिनले आक्रमणसमेत गरेको उदाहरण कायस्थका लेखमा छ । त्यस्तै कमजोर पृष्ठमा जयस्थिति मल्लको उदयपछि देवहरूको अस्तित्व लोप भई मल्ल शासन चम्किएको तर यक्ष मल्लपछि कान्तिपुर, ललितपुर र भक्तपुर टुक्रिँदा पृथ्वीनारायण शाहले जितेको पनि कायस्थको सङ्क्षिप्त इतिहासबाट बुझ्न सकिन्छ ।

सहप्राध्यापक विश्वमोहन जोशीको विस्तृत परिचयका महत्वपूर्ण अंशमध्ये भारतको इस्ट इन्डिया कम्पनी सरकारका प्रतिनिधि विलियम कर्कपाट्रिकले ख्वप ‘नेपालको बनारस’ भनेकोलाई लिन सकिन्छ । ख्वप विश्वविद्यालय सञ्चालन गर्न पाए त्यो थप पुस्टि हुने निश्चित थियो । हाल ख्वप ई. कलेज, ख्वप कलेजलगायतको केही शैक्षिक संस्थाले त्यसको सङ्केत गरेका छन् ।

डा. सुवेगमान बिजुक्छेँद्वारा लिखित स्वनिगःको भौगर्भिक इतिहास’ मा कुनै बेला विशाल ताल रहेको यो ठाउँ ताल सुकेपछि मानव बस्ती बस्न योग्य भएकोलाई लिन सकिन्छ  । मञ्जुश्रीले चोभारको गल्छी काटेर पानी निकालेको भन्ने कुरा केवल मिथक भन्दै उहाँले तालको उद्गम, कहिले कसरी भएको, कति समयसम्म ताल रहेको र कहिले पानी सुकेर बस्ती बस्न लायक भयो भन्ने सङ्क्षिप्त चर्चा छ ।

लेखमा स्वनिगको जलस्रोतको स्थितिबारे पनि प्रस्ट्याइएको छ । सतह नजिकको भूमिगत जल र गहिराइको भूमिगत जल गरी दुई थरीको भूमिगत जलमध्ये हरेक वर्षाले सतह नजिकको भूमिगत जल भर्छ भने काँठ र उँचो भागमा परेको वर्षाले गहिराइको जल भर्छ । तर, अहिले विभिन्न विकास निर्माणले भूमिगत जल भण्डारणमा समस्या आएकाले भविष्यमा जमिन भासिने भौगर्भिक समस्या आउन सक्ने कुरामा सचेत पारिएको छ ।

जुनु बासुकलाद्वारा लिखित ‘भक्तपुरको पञ्जारां’ मा दानको महिमाबारे वर्णन छ । दीपवती नगरका राजा सर्वानन्दले दीपङ्कर बुद्धलाई दान दिन खोज्दा बुद्धले राजालाई भन्दा सर्वसाधारण महिला लक्ष्मी थकुलाई प्राथमिकता दिएको प्रसङ्ग अत्यन्त सान्दर्भिक लाग्छ ।
राजा आफैले दुःख गरी कमाएको धन होइन बरु लक्ष्मी थकुले आफैले मिहिनेत गरी कमाएको धन हुँदा त्यो धन शुद्ध हो भन्ने दीपङ्करको भनाइ सुनेर राजा सर्वानन्द सुनारको ज्यासलमा काम गरी आर्जित धनमात्र बुद्धलगायत भिक्षुहरूले दान लिएको सन्दर्भ पनि अत्यन्त सान्दर्भिक लाग्छ ।

प्रा.डा पुरुषोत्तमलोचन श्रेष्ठद्वारा लिखित ‘भक्तपुरको करुणामय’ पढ्दा वर्षा नभई खडेरी पर्दा जनताको समस्या समाधान गर्न भएको प्रयास प्रशंसनीय छ भने निम्नस्तरको माझी जातिमा जन्मेर पनि कर्म विशेषले माथि उठेर लोकजनको रक्षा गरेकाले मत्स्येन्द्रनाथ वा लोकेश्वर, करुणाभाव राख्ने करुणामय हुन पुगेको प्रसङ्ग उत्तिकै शिक्षाप्रद छ ।
लक्ष्मीनारायण दुवालद्वारा लिखित ‘झ्वः भ्वय्’ नेवारहरूको एक मौलिक संस्कृतिमध्येको एक भए पनि अहिले पार्टी पालेस संस्कृतिले गर्दा यो विस्तारै लोप हुन लागेकोले यसको जगेर्ना गर्नुपर्ने भन्ने सन्दर्भमा यो लेख सामयिकमात्र होइन आवश्यकै देखिन्छ । तर ‘झ्व भ्वय्’ खुवाउने तौरतरिका जातिअनुसार भिन्न भिन्न भएकाले केही थप छलफल आवश्यक देखिन्छ ।
विदेशबाट आयातीत र ठूलठूला उद्योगबाट उत्पादन भई सरकारलाई राजस्व तिरेको रक्सीले मात्र बजारमा वैधता पाएको र समाजमा इज्जत पाइरहेको वर्तमान परिवेशमा परम्परागत घरायसी लोकल रक्सीले पनि मान्यता पाउनुपर्छ भन्ने ‘लोकल ब्रान्ड’ भन्ने आवाज उठिरहेको बेला भक्तपुरको विशेष राइस वियर ‘ह्याउँ थ्वँ’ शीर्षकको सुनिता गाइसीको लेख पनि समसामयिक छ ।

पुरानो पुस्तामा सीमित ह्याउँ थ्वँ बनाउने विधि नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आजको आवश्यकता हो । नयाँ पुस्तालाई आकर्षित गर्न सके लेख सार्थक हुनेछ ।
ठीक यस्तै कुरा छ– ‘धिमेको बोल’ बारे इन्दिरा लाछिमस्युको लेख पनि । किनभने, आधुनिक विदेशी बाजामा रम्ने युवा जमातलाई ख्वपको धिमेले आकर्षित गर्नु कम्तीको चुनौतीपूर्ण छैन । यद्यपि धिमे सिक्ने सिकाउने नेवार समाजको लोक परम्परामा जीवित धिमाय् बाजा पछिल्ला केही वर्ष यता युवा जमातको आकर्षण बढ्दै गएको देखिन्छ । अझ महिलाहरूसमेत यसतर्फ खिँचिदै गएकाले इन्दिराको लेखले त्यो आकर्षण अझ थपिनेमा दुईमत नहोला ।
धिमे बाजा स्थानीय पाठ्यक्रमसँग सम्बन्धित भएपछि अब यो नेवारको मात्र नभई यो गैर नेवारहरूको पनि साझा बाजा हुँदै जाने निश्चित छ ।

जनआन्दोलन २०४६ का अमर सहिदहरूको सङ्क्षिप्त जीवनी यसअघि नै पुस्तिकाकारको रूपमा प्रकाशित थियो नै । त्यसैको सङ्क्षिप्त साभार गरिएको हो । यसले देश र जनताको लागि गरेको बलिदान खेर जाँदो रहेनछ भन्ने सन्देश प्रवाह भएको छ । सहिदहरू कृष्णराम दुवाल, राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य, महेश श्रेष्ठ र पुष्परत्न शाक्यको जीवनीले नयाँ पुस्तालाई निरङ्कुशताविरुद्ध लड्न उत्प्रेरित गर्ने अपेक्षा गर्न सकिन्छ ।
त्यस्तै शिक्षाप्रेमी, समाजसेवी, किसान नेताहरू बुद्धिकुमार गोसाईको जीवनी होस् वा गोविन्द दुवालको जीवनी होस् त्यसले राजनीति तरवारको धारमा हिँड्ने बाटो हो भन्ने पुष्टि गर्दछ । तर देश र जनताको निम्ति गरिएको त्यस्तो यात्रा खेर जाँदैन अन्ततः समाजमा सकारात्मक परिवर्तन ढिलो वा चाँडो आउँछ नै भन्ने ती जीवनी पढेपछि थाहा हुन्छ । लेखकद्वय शिक्षक मित्रहरू लक्ष्मीनारायण दुवाल र गणेशराम थुसाको फरक फरक शैली पनि राम्रै लाग्यो ।
स्थापित लेखक तेजेश्वरबाबु ग्वंगद्वारा लिखित नागपञ्चमीको महिमा र रमापतिराज शर्मा राजोपाध्यायको जीवनीको लेखन शैली अत्यन्त मिठासपूर्ण छ । मीठो र मौलिक शैलीमा नागपञ्चमीको महिमा शीर्षकको आत्मानुभूतिसहितको लेखले नाग हाम्रो समाज र जीवनका लागि आवश्यक भएकोले संरक्षण गर्नुपर्ने बोध गराउँछ भने नेपालभाषा साहित्य तःमुंज्यालगायतका सार्वजनिक दबुहरूमा जहिले पनि सुनिने ‘भाषा जवा’ भन्ने रमापति शर्माको उपाधिलाई लेखमा कहीं उल्लेख नहुनु चाहिं किन होला भन्ने उत्सुकता मनमा लागिरहेको छ ।

शिक्षक मित्र महेन्द्रगोपाल कर्माचार्यले लेख्नुभएको डा. योगेन्द्रप्रसाद प्रधानको जीवनी अर्को पठनीय र पाठकको लागि प्रेरणास्रोत बन्नेमा शङ्का छैन । आफ्नो मातृभाषा नेपालभाषाको काव्य भूमि उर्वर पार्न पसिना बहाएका प्रधानाङ्गका ९ ओटा काव्य कृतिहरू रहेको मात्र नभई जनस्वास्थ्य विषयमा उच्च शिक्षामा पठन पाठनको लागि पनि उहाँले खेल्नुभएको अग्रणी भूमिका ख्वपवासीको लागि गौरव गर्न लायक छ ।

महेन्द्रगोपालजीले नै खिछेँ महाजन गणेशबहादुर कर्माचार्यको छोटो जीवनी पनि लेख्नुभएको छ । गणेशकृत रामायणका स्रष्टा खिछेँ महाजनको जीवनी पढ्दा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको स्मरण हुन्छ । उही विषय र उस्तै काव्यकृतिका कवि भानुभक्तलाई नेपाली साहित्यमा जुन उचाइ र सम्मान प्राप्त छ त्यो सम्मान र उचाइ नेपालभाषा भाषीले गणेशबहादुरलाई दिन नसक्नु ख्वपवासीकै निम्ति विडम्बना मान्नुपर्छ । लेखकले खिछेँ महाजनका सम्बन्धमा सङ्क्षेपमा सकेसम्म उजिल्याउने प्रयास गर्नुभएको छ । अग्रज धार्मिक पुस्ताले अहिले पनि घर घरमा गणेशकृत रामायण वाचन भइरहेकाले महाजन अमर छन् भन्नेमा विवाद छैन । यो जीवनीले थप नयाँ पुस्तासम्म गणेशकृत रामायण पुग्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।

बौद्ध विद्वान रत्नसुन्दर शाक्यद्वारा लिखित प्रेमबहादुर श्रेष्ठको जीवनी भने धेरैको लागि नौलो लाग्न सक्छ । राजा त्रिभुवनको पालामै राजदरबारमा खाइरहेको जागिर त्यागेर तिब्बतमा पुगी भिक्षु हुनुभएका श्रेष्ठ महायानी परम्पराअनुसार काठमाडौँमा सदियौँपछि पहिलो पटक देखिएका भिक्षुमध्येमा पर्नुहुन्छ । तर कट्टर सनातनी हिन्दू ब्राह्मणहरूको चुकुलीमा राजद्रोहको आरोप लगाई श्री ३ चन्द्रशमशेरले देश निकाला गरेको सन्दर्भ जीवनी पढ्दा स्मरणीय लाग्यो । हिन्दुकुलका व्यक्ति भिक्षु हुनु नै उहाँको अपराध रहेछ । बुद्ध मूर्ति निर्माण गरी नगर परिक्रमा गर्नु नै उहाँको अपराध रहेछ । सुन्दै हामीलाई आश्चर्य लाग्छ । तर प्रेमबहादुर श्रेष्ठले भोगेको तीतो सत्य जीवनीमा पढ्न पाइन्छ ।

हामीमध्ये अहिले यहाँ अधिकांश नेवारै छौँ । तर, ‘नेवार को हुन्’ भन्ने चिनाउने आलेख छ प्रा. माणिकलाल श्रेष्ठको । अहिलेका हामी सबै नेवार एउटै नेवार होइन रहेछौँ, कोही आर्य, कोही मङ्गोल त कोही अष्टा द्रविड पनि रहेछौँ । धार्मिक दृष्टिले पनि शैव र बौद्ध धर्म मान्ने नेवार, छन् भने पृथ्वीनारायण शाहले उपत्यका जित्नुपूर्व त इसाई र इस्लाम धर्म मान्ने नेवार पनि हामीमध्ये थियौँ । तर, पृथ्वीनारायण शाहले इसाई मान्नेहरूले देश छोड्नु नभए मार्नु भनेकाले धेरै नेवार बेतिया गएर बसेको चर्चा पनि यो आलेखमा छ । नेपालभाषा बन्नुभन्दा पहिला नेवार र तामाङको एउटै भाषा थियो । तामाङसँग नेवारको भाषिक सम्बन्धबारे थप जान्न यो आलेख पढ्नैपर्छ ।

मल्ल राजालाई नेवार भनिए पनि तिनीहरू नेवार नभई ठकुरी भएको पनि उक्त आलेखमा उल्लेख हुँदा धेरै भ्रम यो लेखले निवारण गरिदिनेछ भन्ने विश्वास छ । सम्पदा संरक्षविद् रवीन्द्र पुरीको ‘मूर्त र अमूर्त सम्पदा’ लेखले मूर्त र अमूर्त सम्पदा भनेको के हो । यसको महत्व के हो भन्ने राम्ररी वर्णन गरिएको छ । लेखमा भनिएको छ– ‘घर हाम्रो मूर्त सम्पदा हो भने घर बनाउने सिपालु हातहरू हाम्रा अमूर्त सम्पदा हुन् । ‘हाम्रा मौलिक मूर्त अमूर्त सम्पदा संरक्षण हुनुपर्छ’ भन्ने नै लेखको सार हो । उहाँले यहाँका नाचगान, चाडपर्व, संस्कारगत परम्परा, खानपान, लवाइ र हाकुपटासी सबै अमूर्त सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको ‘ङातापोल मन्दिर पुर्खाको अनुपम उपहारमा’ पाँचतले मन्दिरको सर्वाङ्ग चर्चा छ । राजा भूपतीन्द्र मल्लको पालामा ६ महिनामा निर्माण सम्पन्न भएको यो देशकै सबभन्दा अग्लो मन्दिरले पटक – पटक विनाशकारी भूकम्पको धक्का सामना गरेर पनि ३२० वर्षदेखि उभिरहनुले यसको कालीगडी पक्ष आज इन्जिनियरिङ क्षेत्रकै लागि अध्ययन र चुनौतीको विषय बनेको छ । कोरोना कहरको बीचमै पनि हजारौँ भक्तपुरवासीले श्रमदान गरी हालै जीर्णोद्धार सम्पन्न भएको ङातापोल्हँ वास्तवमै ख्वपवासीको लागि गौरवको प्रतीक बनेको छ । लेखकले विगतदेखि वर्तमानसम्मको ङातापोल्हँको चर्चा गरेर अब जीर्णोद्धार गर्नुपर्ने बाँकी सम्पदा पनि भक्तपुर नगरपालिकाले पहल गर्न आग्रह गर्नुभएको छ ।

शिक्षक मित्र आशाकुमार चिकंबञ्जारले ‘लिपिको विकास र मानव सभ्यता’ लेख्नुभएको लेखमा मानव सभ्यतासँगै लिपिको विकास कसरी भएको हो भन्ने प्रस्ट्याउनुभएको छ भने संस्कृतिविद् ओम धौभडेलले ‘भक्तपुरका १८ वटा ऐतिहासिक ढोकाहरूको परिचय दिनुभएको छ । उहाँले ती ढोकाहरूको ऐतिहासिक महत्वमाथि प्रकाश पार्नुभएको छ । उहाँले नगरको १० वटै वडाका सम्पदाहरूको पनि सङ्क्षिप्त परिचय दिनुभएको छ ।
त्यस्तै सुदर्शना बज्राचार्यले जयकीर्ति महाविहार (थथुवही) को धार्मिक र सांस्कृतिक महत्वबारे सङ्क्षेपमा चर्चा गर्नुभएको छ भने संघरत्न ‘निवा’ शाक्यले कुथुवहीको परिचय लेख्नुभएको छ ।
प्रमोदप्रसाद अवालले भक्तपुरमा बनाइने माटाका भाँडाकुँडाहरूका बारेमा जानकारी दिने प्रयास गर्नुभएको छ । माटोलाई माया गर्नेहरूले भोकै मर्नुपर्दैन भनिन्छ भन्नलाई तर यो विशिष्ट पेशा भएर पनि युवा पुस्ता आकर्षित नहुँदा पुरानो पुस्तासँगै यो सीप लोप हुने चिन्ता यो क्षेत्रमा व्याप्त भएकोमा लेखक चिन्तित देखिन्छ ।

अभय श्रेष्ठले ‘भान्छामै ओखती’ लेखेर चुलोचौकाका लसुन, बेसार, अदुवा, ज्वानो, मेथी, पुदिनालगायत प्याज, करेला, दूध, दही, माछा, मासु, सागपात पाइने पौष्टिक तत्वका बारेमा जानकारी दिनुभएको छ । यीबाहेक रामगोपाल कर्माचार्यको स्काउट शिक्षाको परिचय, सिद्धिरत्न शाक्यको देवाली पूजा, सविन ख्याजुको कौसी खेती प्रविधि, सीताराम हाछेथुको ट्राफिक नियम, लक्ष्मीभक्त वासुकलाको यकंधाला, अमोक रत्न शाक्यको ततामो कासाका साथै राजेन्द्र श्रेष्ठको प्रस्तुति केही स्थानीय गीतहरू – सितला माजुको गीत, बिस्केटको घातु, सिनाज्या म्ये, होली म्ये पनि त्यतिकै पठनीय छ । यी पाठ्य सन्दर्भ सामग्रीहरू शिक्षकहरूका लागि मात्र नभई भक्तपुरका बारेमा जान्न बुझ्न चाहने जो कोहीका लागि त्यतिकै महत्वपूर्ण पाठ्यवस्तु हो भन्नेमा कुनै सन्देह छैन ।

अन्तमा शुद्धाशुद्धिमा अझै देखिएका केही त्रुटिहरूका लागि क्षमा याचना गर्दै नेपाली भाषाको कुनै मानक व्याकरणको अभावले गर्दा कतिपय हिज्जेको समस्या रहेको व्यहोरा राख्दै आफ्नो कुरा यही टुङ्ग्याउँछु ।
(भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री ‘ख्वपको पहिचान’ भाग २ पुस्तकबारे सोमबार आयोजित अनलाइन कार्यक्रममा व्यक्त विचार –सं.)...

All Comments.......


Please Login/Register To Comments