‘द म्यान बिहाइन्ड धुलिखेल’ सार्वजनिक
असार ३१, २०७८, बिहीबार | विहान ०९:१३ बजे | 20
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सम्पादन गर्नुभएको ९४ औँ पुस्तक ‘द म्यान बिहाइन्ड धुलिखेल’ यही २०७८ साल असार ३० गते बुधबार शब्दयात्रा प्रकाशनको आयोजनामा धुलिखेलस्थित होटल हिमालयन होराइजनमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । उक्त पुस्तक धुलिखेलका अग्रज समाजसेवी, समुन्नत धुलिखेलका लागि समग्र पूर्वाधारको विकास गराउने स्वप्नद्रष्टा तथा कार्यान्वयनका लागि जनपरिचालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामाजिक अभियन्ताका रूपमा सुपरिचित व्यक्तित्व बेलप्रसाद श्रेष्ठका विषयमा अङ्ग्रेजी भाषामा तयार पारिएको थियो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको प्रमुख आतिथ्य, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको सभापतित्व, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जू श्रेष्ठ र उपप्रमुख विमला शर्मा तथा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको आतिथ्य रहेको उक्त कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा. डा. पन्ना थापाले उक्त पुस्तकमाथि समालोचना गर्नुभएको थियो । उक्त पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित १ सय ५४ औँ कृति हो ।
‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले सञ्चालन र महाप्रबन्धक शारदाप्रसाद शर्माले स्वागत भाषण गरी सम्पादक हरि मञ्जुश्रीले पुस्तकको परिचय दिएको उक्त कार्यक्रममा अनुवादकद्वय डा. भास्कर हुमागाई र इ. रोशन अधिकारीलाई होटल हिमालयन होराइजनका तर्फबाट आभारपत्र प्रदान गरिएको थियो ।
डा. इन्दुल केसी, निर्मला श्रेष्ठ, अमृत अधिकारी र पुण्यवती घलेले अतिथिहरूलाई खादा र ब्याच लगाइदिएर स्वागत गर्नुभएको र पं. रमेश अधिकारीले स्वस्तिवाचन गर्नुभएको उक्त कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा, लेखकहरू डा. हेमराज काफ्ले, उद्धवप्रसाद नेपाल, पूर्णबहादुर कर्माचार्य, चूडाप्रसाद चौलागाई, केदारनाथ तिमल्सिना तथा रामप्रसाद अधिकारी, प्रह्लाद प्याकुरेल, सिद्धिबहादुर कर्माचार्य, अम्बिका थापा, प्रकृति प्याकुरेल, सङ्गीता केसी, दीपक तिमल्सिना आदिको सहभागिता थियो ।