कवि डा. राजेन्द्र कोजूको इमानको धरहरा कवितासङ्ग्रहभित्र पस्ता
असार १८, २०७८, शुक्रबार | विहान ०६:३० बजे | 15
जीवनाथ अधिकारी
नेपाली साहित्यमा धेरै बढी फैलाएको विधा कविता हो । कविताको लामो परम्परासँगै आकारगत, विचारगत, भावगत, चिन्तनगत आयामहरूमा पनि विविध रङहरू थपिँदै गएका देखिन्छन् । कविताका विविध स्वरूपहरूमा सजिँदै नवास्वादन गराउने कविको सङ्ख्या पनि झन् झन् थपिँदै गएको छ । छयहत्तरको अन्तदेखि कोविड १९ का कारण एकान्तवासमा रहँदाको अवस्थामा त वाङ्मयका विविध क्षेत्रले धेरै प्रकारका कृति प्राप्त ग¥यो भने साहित्यको कविता अत्यधिक उर्वर रह्यो । अझ शास्त्रीय छन्दका कविताको बाढी नै आइरहेको यस सन्दर्भमा मुक्त छन्दलाई अँगालेर एक नयाँ कविता सङ्ग्रह नेपाली साहित्यले प्राप्त गरेको छ, ‘इमानको धरहरा’ । कवि डा. राजेन्द्र कोजूले रचना गरेको अन्ठाउन्न कविताको सङ्ग्रह हो यो कृति ।
सङ्ग्रहका अधिकांश कविता हालसालै रचना गरिएका छन् । समकालीन समाज र त्यसको उत्पादनमा देखिएका विसङ्गत परिस्थितिलाई सम्बोधन गरेर लेखिएका यी कविताले राजनीतिदेखि शिक्षालगायत सम्पूर्ण क्षेत्रलाई छोएका छन् । यस सङ्ग्रहमा रहेका कविताहरूले मान्छेको अहंलाई महामारी प्रकोपले विनाभेदभाव कहरभित्र डुबाएको घटनादेखि राष्ट्रियतामाथि आइपरेको सङ्कटलाई पनि औँल्याएका छन् । एउटा उदाहरण हेरौँ–
म, म नै हुँ
तिमी, तिमी नै हौ
तिमी र म हामी होइन
छोड, मेरो भूमि छोड
छोड, मेरो कालापानी छोड
मेरो लिम्पियाधुरा छोड ।
(तिमी र म हामी होइन)
लासको सौदावाजी गर्ने स्यालहरूको बिगबिगी रहेको वर्तमान सन्दर्भ पनि कवितामा अभिव्यक्त पाइन्छ । आफ्नाले नै होचो बनाएपछि हाम्रो अस्तित्वको अग्लाइमा आँच आउनु स्वाभाविक हो । कलात्मक व्यङ्ग्यका ढाँचाका पङ्क्ति हेरौँ–
अग्ला अग्ला पहाडका टाकुरामा उभिने म
आफ्नाले नै होचो देख्नाले उचाइ खोज्दै छु ।
(खोजी)
सङ्ग्रहका कतिपय कविताहरूले राजनीतिक सचेतता झल्काएका छन् । विषयवस्तु वर्तमान राजनीतिक विसरूङ्गतिमा केन्द्रित रहेर लेखिएका यस्ता कवितामा कोरा नारा भेटिँदैन, प्रतीकात्मक प्रस्तुतिका शिल्पमा खारिएका विम्बले काव्यिक चेत प्रबल पाइन्छ । कविता पढ्दै जाँदा नेता र तिनका नेनृत्वले निम्त्याएको अराजकताले कविलाई हैरानमात्र बनाएको हैन, आक्रोशित पनि बनाएको स्पष्ट देखिन्छ । मुलुक सञ्चालनको मूल मियो नै राजनीति हो, यो नै कुत्सित भएपछि समाजका अङ्गप्रत्यङ्ग नै अपाङ्ग बन्न पुग्दछन् । नेताहरूको बोली र व्यवहारमा देखिने भिन्नताको सटिक चित्रण गर्दै कवि लेख्छन्–
नारासँग व्यवहार मिल्दैन, कामकुराको तालमेल छैनयस्ता नेताको भाषण सुनेर लाछी भई कति दिन बाँच्ने
(कति दिन बाँच्ने)
देशदुनियाँलाई दास बनाएर आफू मालिक बन्ने नेपाली नेताको गुण देखिएको छ । यस प्रवृत्तिप्रति कविलाई विराग छ । उनी लाल गद्दार बनेर लेन्डुप दोर्जेका प्रतीहहरूलाई धिक्कार्छन् आफ्ना कवितामा । पैसामा बिक्री भएर लेन्डुपवृत्ति अपनाउनेलाई त्यही पैसा एक दिन बारुद बनेर भष्म गराउनेछ भन्ने कुरामा कवि विश्वस्त देखिएका छन् । सपनाको खेतीले देश कदापि समृद्ध नहुने कुरामा कवि दृढ देखिएका छन् । उनी भन्छन्–
सपनाको व्यापार गरेर कमाएको पैसाले देश समृद्ध बन्दैन
मागेको पैसाले हाम्रो देशको विकास हुँदैन ।
(तिम्रो लागि)
नेपालमा चेलीबेटी ब्ेचबिखनको समस्या कम छैन । पैसाको लोभमा यस्ता अनैतिक काम गर्ने आफ्ना भनिने नातेदार तथा देशको सार्वभौमिकतालाई पैसासँग साट्ने देशद्रोहीसँग कवित घृणा गर्दछन् । नेपाली कम्युनिस्टले कम्युनिस्ट आचरण गर्न नसकी भ्रष्ट बन्दै जाने र जनविरोधी कार्यमा शासनसत्ताको दुरुपयोग गर्नेलाई क्षमा गर्न नसकिने कविको सोचाइ छ । अनि आफू स्वयं कम्युनिस्ट भएर अर्को लाल कम्युनिस्ट खोज्ने नेपाली कम्युनिस्ट प्रवृत्ति घातक रहेको कवि ठहर गर्छन्–
लालीगुराँसको जङ्गलमा त्योभन्दा रातो कमरेड खोज्दै छौ
कम्युनिस्टका देशमा योभन्दा भ्रष्ट शासक खोज्दै छौ ।
(रातो कमरेड)
कविले जब विद्रोहको आगो बोल्छ अनि आडम्बरी रवाफका अग्ला कदहरू आफैँ छोट्टिन थाल्छन् भन्ने कवि राजेन्द्रको मान्यता देखिन्छ । देशद्रोहीलाई वारेन्ट दिन कविहरू कविता लेख्छन् । यो भाव कवि यसरी व्यक्त गर्छन्–
तिम्रा आडम्बर र रवाफकाअग्ला कदहरू छोट्टिएका थिए
तिम्रा विरुद्ध उठेका मेरा शब्दवाण थेग्न नसकी ।
(विद्रोहको आगो)
सङ्गृहित कविताहरू मुक्तलयमा संरचित छन् । तर कविले तिनलाई पनि अनुप्रासयुक्त बनाउने जमर्को गरेका छन् । जटिल विषयवस्तुलाई पनि पढ्दा सुस्वादु लाग्ने शिल्प प्रयोगमा कवि सिद्धहस्त देखिन्छन् । एउटा नमुना–
गधालाई घोडा बनाउन्न सकिन्न नाम बदलेरगिद्धलाई मयूर बनाउन सकिन्न रङ बदलेर
मान्छेको नियत बदलिन्छ यहाँ लोप र पापमा
मान्छेको मन बदलिन्छ सत्ताको राप तापमा ।
(मूल्य हराएको जीवन)
म तपाईँलाई वषौँदेखि पढिरहेको छ
तपाईँका कथा व्यथाहरू
तपाईँका जीवन सङ्घर्षका गाथाहरू ।
(बुबा)
पुस्तकको नाम यसै सङ्ग्रहभित्र रहेको कविता इमानको धरहराबाट लिइएको छ । यसमा धरहराको टुप्पामा चढेर व्यर्थको गफ लगाउने कमरेडकै इमानको धरहरा नापिरहेका छन् कवि राजेन्द्र । बेइमानको भिड बटुलेर इमानको डम्फु बजाउनेहरूको हिसाबकिताब कुनै दिन खोजिने कुरा निश्चितप्रायः छ । भुइँफुट्टा भएर टुप्पामा पुगेकाहरू जब आधारमा पछारिन्छन्, अनि तिनको हविगत हेर्नलायको हुन्छ । त्यतिखेर जनता ताली बजाएर तिनका आडम्बरको खिल्ली उडाउने छन् । यस कविताले विनाआधार आकाश छुनेको भविष्य कहालीलाग्दो हुने भाव झल्काएको छ ।
यति नै बेलासबैको इमानको धरहरा पनि नापिने छ
सबैको वास्तबिक वजन पनि नापिने छ ।
(इमानको धरहरा)
दलीय राजनीतिमा दलको सदस्यता नलिनेले कुनै प्रकारका सुविधा नपाउने विसङ्गत परिस्थितिको कविले कडा रूपमा भत्र्सना गरेका छन् । पार्टीको सदस्यताको इतिहास, वर्तमान नभएका तथा नेताका नाता र आसेपासे नभएका सर्वसाधारण, जो भोटको राजनीतिमा माात्र चिनिन्छन्, त्यस्ता नागरिक निरीह हुनुका साथै कुनै लाभका पदमा नियुक्ति हुन सक्तैनन्, बिरामी पर्दा अस्पत्तालमा शय्या पाउने हैसियत उनीहरूमा हुँदैन । यस्तो विडम्बनायुक्त पीडा भोगाइप्रति रोषयुक्त गर्जन छ कविको ।
वर्तमानमा नेपाली राजनीतिक पार्टीहरूको विखण्डन र संयोजनको नाटक र नौटङ्तिर पनि कविको तीक्ष्ण दृष्टि पुगेको छ । हिजो थियो, आज छैन, आज छ, भोलि छैनको अवस्थामा रहेका दलहरूको नालयकी र जनताप्रतिको असंवेदनशीलताले कवितलाई चसस्क छोएको छ । नेता तथा सांसादहरूको दल परिवर्तनको अराजनीतिक गतिविधिले नेपाली विधायक तथा नेताको हुर्मत गएको कुरा उनीहरू पत्तै पाउँदैनन् तर यताका उता र उताका यता गर्दा उनीहरूको राजनीतिक हिसाबकिताब भने गणितीय रूपमा बराबर हुने र जनहितमा कुनै तात्त्विक अन्तर नपर्ने कुरा कविले बुझेका छन् ।
कोही भित्रिए, कोही बाहिरिए
हिसाब बराबर ।
कोही जोडिए, कोही चोइटिए
निसाफ बराबर ।
(बराबर)
यसरी डा. राजेन्द्र कोजूका कवितारू समसामयिक विषयमा बढी केन्द्रित देखिन्छन् भने जनता र देशको चिन्ता गर्दै कविले तिनको निराकरणको अपेक्षा राखेका छन् । नेपाल भाषा मातृभाषा भएका कवि कोजूले नेपाली भाषामा पनि राम्रो अधिकार जमाएको देखिन्छ । मिठो र सरल शैलीलाई सलल बगाउँदै समग्र कविता–सरिता तरङ्गित छन् । अनुप्रासलाई आलङ्कारिक शृङ्गारमा सँगेट्तै कवितामा विम्बात्मकता प्रशस्त उनेका छन् कविले । यस कृतिले नेपाली साहित्य भण्डारमा एउटा स्तुत्य कृतिका रूपमा स्थान सुरक्षित गर्ने कुरामा दुई मत देखिँदैन । कविको सिर्जनामा अझ निखार आउने कुरामा प्रशस्त विश्वास गर्ने ठाउँ रहेको छ ।
इमानको धरहरा ः सङ्क्षेपमा चिनारी
कृति ः इमानको धरहरा
विधा ः कविता
कवि ः डा. राजेन्द्र कोजू
सम्पादक ः हरिप्रसाद ढकाल
प्रकाशक ः सरिता कोजू
संस्करण ः प्रथम, २०७८, इ संस्करण
मूल्य ः रु १००
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर