नेक र एभेइरो विश्वविद्यालयबीच सम्झौता
असार १५, २०७८, मङ्गलबार | दिउँसो ०३:२१ बजे | 40
भक्तपुर । शिक्षामा गुणस्तर अभिवृद्धीको लागि तथा विभिन्न देशका विश्वविद्यालयहरूबीच अनुभव आदानप्रदान तथा शिक्षक र विद्यार्थीहरूको आपसी भ्रमण अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गरी उच्च प्राविधिक शिक्षामा अन्तरराष्ट्रियकरण आयोजना कार्यान्वयन गर्न भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित गैरनाफामुलक संस्था नेपाल इन्जिनयरिङ कलेज (नेक) र पोर्चुगलको एभेइरो विश्वविद्यालयबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विश्वव्यापी फैलिरहेको कोभिड महामारिको कारण भौतिक उपस्थितिमा नभई भर्चुअल माध्यममा नेककोतर्फबाट कलेजका प्रचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र एभेइरो विश्वविद्यालयकोतर्फबाट प्रो–रेक्टर प्रा. डोउटोरा सान्द्रा सोआरेसले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सो दुईवर्षे आयोजना अन्तरगत एभेइरो विश्वविद्यालयका शिक्षकहरूले नेकमा भ्रमण गरी चार विधाहरूमा अल्पकालिन अध्यापन गराउने छन् भने आयोजनाको अर्को चरणमा नेकका शिक्षक तथा विद्यार्थीहरूलेएभेइरो विश्वविद्यालय गई अध्ययन अध्यापन गराउने कार्यक्रम बनाइएको छ । शिक्षामा अन्तरराष्ट्रियकरण आयोजनाको पहिलो चरण अन्तरगत नेकका चारजना विद्यार्थीहरूले स्पेनको विश्वविद्यालयमा गई एक सेमेष्टर अध्ययन सकाई फर्किसकेको र स्पेनका एकजना शोधकर्ता नेपाल भ्रमण गरी फर्किसकेको कुरा आयोजनाका संयोजक सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । आयोजना कार्यान्वयनमा लाग्ने खर्च युरोपको इरास्मस प्लस कार्यक्रमबाट बेहोरिने जनाइएको छ ।