- Post Date 2021-06-25 19:38:02

बसन्त बस्नेत
सोमत नभएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले केही साताअघि विश्वविद्यालयको विद्वत् सभामा सामान्य मर्यादा त परै जावस्, लाजसरमसमेत पचाएर भाषण दिएथे । उनको योग्यतामाथि काफी प्रश्नहरू उठ्दा पनि उनी जवाफदेहीविहीन हिँडिरहे । लाज पचाएका शिक्षामन्त्री पाउनु यो देशको दुर्भाग्य हो ।
तीन दिनअघि तिनै कृष्णगोपालले प्रहरी चौकीबाट मान्छे थुतेर हिँड्ने लोकल दादाको शैली अपनाउँदै जातीय छुवाछुत उजुरीमा समातिएकी महिलालाई गाडीमा हालेर लगेका छन् । सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछुत कसुर मुद्दाका आरोपीलाई हाजिरी जमानतमा छुटाउँदै उनले प्रचलित कानुनको आँखामा अपराध गरेका छन् । उनले आधारभूत न्यायको आँखामा अपराध गरेका छन् । उनले अँगाल्दै आएको भनिएको वैचारिक आदर्शको आँखामा अपराध गरेका छन् । कृष्णगोपालजस्ता मानिसलाई सार्वजनिक बहिष्कार गर्नुपर्छ । केपी ओली सरकारले उनको हर्कतबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ । तर मलाई थाहा छ, सरकारले सजिलै मुख खोल्नेवाला छैन ।
२१औँ शताब्दीमा नेपाल जातीय छुवाछुतजस्तो घृणित कलंक सहेर बसिरहेको छ । माओवादी, एमाले, कांग्रेस, अरु पार्टीको नेतृत्वमा अझै पनि यो जातिभेदी भावना गढेर बसेको दाबी गर्न सकिन्छ । पोहोर जेठमा रुकुम–जाजरकोटमा नवराज विकलगायत मारिँदा माओवादी नेतादेखि वरिष्ठ लेखक हौँ भन्नेहरू पीडकलाई बचाउन लागेको देख्दा हामीलाई ग्लानि भएको थियो । यस्तो विषयमा अझसम्म लेखिरहनुपर्ने अवस्था आउनु नै कति पीडा र सरमको विषय हो ।
रूपा सुनारले डेरा खोज्ने क्रममा थालेको शान्त विद्रोहमा यसपालि आएका प्रतिक्रिया त्यस्तै छन् । बाहुनक्षत्री समुदायका कति मानिसहरूले ‘तिमीलाई कोठा चाहियो, हामीलाई कोटा चाहियो’ भन्दै फेसबुकमा तिनलाई लगारेका छन् । न्याय, समानता र सहअस्तित्वका लागि लड्छौँ भन्ने जनजाति समुदायका कतिपयले रूपालाई बद्नाम गर्न हिँडेका छन् । यसो गर्नेमा लेखक, बुद्धिजीवी, पत्रकार भनिनेहरूसमेत छन् ।
नेपालपाना भन्ने अनलाइनले नेपालमा जातीय द्वन्द्व भड्काउन रूपा सुनारलाई युरोपेली युनियनले दियो डेढ करोड शीर्षकमा अपुष्ट, भ्रामक खबर दिएको छ । सेलेब्रिटी मनीषा कोइरालासमेतले त्यसको सत्यता जाँच्नुसाटो यदि सत्य हो भने यो दुःखद हो भनी ट्वीट गरेकी छन् ।
गलत कुरा छिटो फैलन्छ । यो खबर एक लाखभन्दा बढीपल्ट फेसबुकमा सेयर भइसकेको छ । नेपालपानाले अरू पनि गलत र नियोजित सामग्री छपाएर सामाजिक ध्रुवीकरणको खेती चलाइरहेको छ । उल्टै कतिपय पढालेखा वर्गका मानिसहरू त्यसलाइ सेयर गरेर दलितसँग तत्काल लिन सकिने जति प्रतिशोध लिइरहेका छन् । उनीहरूले कांग्रेस नेता विश्वप्रकाश शर्माले चलाएको ऐना कार्यक्रमलाइ समेत त्यसैमा मुछ्दै अफबाह फैलाइरहेका छन् । यस्ता दृष्टान्त धेरै छन् ।
यी सबै दृश्य हेर्दा लाग्छ, हामीलाई जातीय उत्पीडन र विभेदका विरुद्ध सामान्य सुधारमुखी कार्यक्रमले पुग्दैन । एउटा निर्णायक धक्का चाहिएको छ । स्वप्निल स्मृतिको कवितांश भन्छः हामी आफैँ ठूलो आँधीहुरीमा उड्नु छ ।
शिलापत्रमा आज शुक्रबार प्रकाशित लेखमा प्राध्यापक मिरा मिश्रले जातप्रथाबारे लामो प्राज्ञिक विमर्श गरेकी छन् । उनले जातीय भेदको जरो बुझाउन गैरदलित समुदायलाई यो जैविक, प्राकृतिक विषय होइन, समाजनिर्मित हो भन्न सक्नु नै ठूलो कुरा हो भन्ने आशय राखेकी छन् । हिजो विमल पोखरेलले ‘बारुद बनेर पड्किएको काठमाडौंको कोठा’ शीर्षकमा शक्तिशाली विचार प्रकट गरेका छन् । अरु थुप्रै लेखकहरूले यसबारे बोल्दै छन् । बोल्नैपर्छ । बेलामा नबोल्ने बुद्धिकर्मीको हैसियत सजावटी मात्रै हो । त्यसको खासै काम छैन । खासमा हामीलाई ‘कम्फर्ट जोन’ मा बसेर सोच्ने बानी लागिसकेको छ । हामी प्रश्नसँग यति डराउँदै आयौँ कि अब त सायद प्रश्न नै हामीसँग डराउँछ । यसबाट बाहिर निस्कनै पर्छ ।
नेपाल, भारत र वरपरका देशहरूमा जातीय छुवाछुत गहिरो गरी गढेको छ । लोकतन्त्र हाम्रो घरसम्म आइपुग्दा यसको लाभांश पुरुष, कथित् उच्च जात, उच्च भनिएको समुदायले पाइरहेको छ । महिलाका लागि, दलितका लागि, अल्पसंख्यक र सीमान्त समुदायका लागि यो अझै कामयाब भइसकेको छैन । सात दशकको लोकतान्त्रिक संघर्षले पनि हाम्रो संरचनामा किन हस्तक्षेपकारी सुधार ल्याउन सकेन, विमर्श गर्ने बेला भएको छ । यो विमर्श दलितहरूको मात्रै जिम्मामा छाडिदिने विषय होइन । गैरदलितले बोल्नुपर्छ । उनीहरूसँगै हातेमालो गर्दै उभिनुपर्छ । कृष्णगोपालजस्ता पाखण्डी कम्युनिस्टहरूको मुकुण्डो हरपल उतार्नुपर्छ ।
ख्याल गरौँ, यो हामीले गरेनौँ भने पनि न्यायको आन्दोलन रोकिनेवाला छैन । जसलाई साँच्चिकै मर्का परेको छ, उनीहरू जीवन छउन्जेल लडिरहनेछन्, चाहे त्यसले हाम्रो इगोलाई जतिसुकै ठेस पु¥याओस् । न्याय र अधिकारको कुरा गर्नेबित्तिकै युरोपियन युनियन र डलरखेतीसँग जोडिहाल्ने प्रवृत्ति कुनै नयाँ होइन । फेसबुकको कपमा तुफान ल्याएर काठमाडौंको एउटा ‘सर्कल’ ले प्रतिकार गर्न खोजेको छ । नेवाः देय दवूका अध्यक्षले निर्लज्ज वक्तव्य निकालेर आफूलाई नंग्याएका छन् । सम्भवतः दवूका सदस्यहरूसँग बिनाछलफल त्यो आएको हुनुपर्छ । नत्र जातीय छुवाछुतजस्तो अमानवीय सोच कोही व्यक्तिविशेषको मनमा भए पनि कम्तीमा ओकलिहाल्ने साहस गर्थेनन् ।
संसारको प्रत्येक संघर्ष आफ्नोवरिपरिका दर्जनौँ प्रश्न, शंका र आक्षेपहरूलाई कुल्चिँदै अघि बढेको हुन्छ । रूपा सुनार प्रतीक हुन्, यो विद्रोहकी । उनले अन्यायविरुद्ध बोल्ने हुँदा धेरै बहसहरूलाई एकैपल्ट जन्म दिएकी छन् । उनले हामीमध्ये कैयौँभित्र रहेका नक्कली भद्रताको खोल उतारिदिएकी छन् । उनले समाजतिर फर्केर प्रश्न उठाएकी छन् । उनलाई हियाउनु, दोषभागी देखाउनु तपाईं–हाम्रो सफलता हुने छैन । हामी त्यसबेला मात्रै सफल बन्नेछौँ, जब समाजमा वास्तविक न्याय स्थापित भएको हुनेछ ।
याद राखौँ, समुदाय विशेषलाई अमानव करार गरेर हामी चैनले सुत्न पाउने छैनौँ । दलितले आत्मसम्मान र अधिकार खोज्दा ‘सामाजिक सद्भाव’ भत्किन्छ भने भत्कियोस् । जात, रङ, धर्मका आधारमा दाबी गर्ने नक्कली श्रेष्ठताले ‘सामाजिक सद्भाव’ को ठेक्का लिन कत्ति सुहाउँदैन ।
शिलापत्रबाट
...
All Comments.......
Please Login/Register To Comments