सरस्वती प्रधानले जातीय विभेद गरेको मेरो मनले मान्दैन


असार ११, २०७८, शुक्रबार | दिउँसो ०१:३० बजे | 15


सरस्वती प्रधानले जातीय विभेद गरेको मेरो मनले मान्दैन

अजय शाह सिवाली
करिब पाँच वर्ष सरस्वती प्रधानको घरमा बसेको अनुभवका आधारमा भन्छु, उहाँले जातीय विभेद गरेको मेरो मनले मान्दैन ।
दुई दशकभन्दा बढी समयको काठमाडौं बसाइँका क्रममा विविध कारणले कोठा सर्ने क्रम चलि नै रह्यो । यस अवधिमा मैले ८ पटकसम्म कोठा परिवर्तन गरेँ । यसैक्रममा २०६८ तिर कोठा खोज्न म बबरमहलतिर पुगेँ । कार्यथलो सगरमाथा टेलिभिजनको १–२ किलोमिटरको रेडियसमा कोठा खोज्ने अभियान थालियो । कोठा खोज्दै जाँदा सरस्वती प्रधानको घरमा पुगेँ । मिजासिलो स्वभावकी उहाँले मेरो जात र धर्म सोध्नु नै भएन, सहजै कोठा भाडामा दिनुभयो । पाँच वर्षको बसाइँका क्रममा मैले सरस्वती प्रधान र उहाँको परिवारबाट कहिल्यै कुनै समस्या भोग्नुपरेन, न त कुनै विभेदको आभाष भयो । बरु कुनै समस्या पर्दा प्रधान परिवारले भरथेग सहयोग नै गर्दथ्यो । अझ हुर्किदै गरेको मेरो छोरोको हेरविचारमा प्रधान परिवारको योगदान अतुलनीय र अविष्मरणीय छ ।
           अब मुख्य कुरा, नेपालमा दलित जातिसँग मात्र होइन मुस्लिमसँग पनि छुवाछूत हुने गरेको छ । यद्यपि, अहिले दलित र मुस्लिमसँग हुने छुवाछूत व्यापक न्यूनीकरणतर्फ छ । यो कुरा सबैले महसुस गरेकै हुुनुपर्छ । सानो छँदा त ‘दलित र मुस्लिमले छोएको नखानू’ सम्मका कुरा सुन्थेँ । यहाँ मुस्लिमको प्रसंग किन ल्याएको हो भन्दा सरस्वती प्रधानको घरको तल्लो फ्ल्याटमा तीन कोठामध्ये दुई वटा मैले लिएको थिएँ भने एउटा कोठा मुस्लिम समुदायका व्यक्तिलाई दिइएको थियो । तर, त्यहाँ बसुञ्जेल अर्को धर्मका व्यक्तिसँग कुनै किसिमको भेदभाव वा छुवाछूत व्यवहार नगरेकी सरस्वती प्रधानले आफ्नै धर्मकी रूपा सुनारलाई जातकै आधारमा कोठा नदिएको कुरा मेरो मनले मान्दैन ।
              सार्वजनिक भएको अडियो सुन्दा रूपा सुनारलाई कोठा दिने कुरा सरस्वती प्रधानकी बुढीआमालाई मन नपरेको बुझियो । अब एउटी बुढीआमा अर्थात पुरानो पुस्तालाई ‘छुवाछूत व्यवहार नगर’ भनेर ज्ञान दिने आँट नेपालको संविधान, कानुन, समाज र परिवारसँग छ ? धेरै टाढा जानु परेन, हामीले आ–आफ्नै परिवारका पुरानो पुस्ताका सदस्यहरूको मान्यताका विषयमा एकपटक स्मरण गरौं त ! उनीहरूको सोच कस्तो थियो÷छ ? के उनीहरूले वर्षौदेखिको जातीय विभेदयुक्त मान्यताहरू पूर्ण रूपमा छाडि सके ? त्यसैले, जातीय विभेद पुस्तान्तरणसँगै न्यूनीकरण हुने हो, रातारात होइन भन्ने कुरा हामीले बुझ्न सक्नुपर्छ । सकारात्मक कुरा के छ भने नयाँ पुस्तामा यस्तो सोच छैन, हुनु हुँदैन । यसलाई नै पहिलो र महत्वपूर्ण उपलब्धि मानेर समयसँगै हिडौं ।

Comments

ताजा खबर