न्युजिल्याण्डले इतिहासमा सबैभन्दा ठूलो उपलब्धी हात पार्न सफल
असार १०, २०७८, बिहीबार | विहान ०२:१३ बजे | 30
आइसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जित्ने पहिलो राष्ट्र बनेको छ। प्रतियोगिताको पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पार्दै न्युजिल्याण्डले क्रिकेटको आफ्नो इतिहासमा सबैभन्दा ठूलो उपलब्धी हात पारेको हो।
प्रतियोगिताको फाइनलमा उसले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो। लगातारका दुई एक दिवसीय विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेपनि न्युजिल्याण्ड अभागी सावित हुँदै आएको थियो। सन् २०१५ को विश्वकप फाइनलमा न्युजिल्याण्ड अष्ट्रेलियासँग पराजित भएको थियो भने सन् २०१९ को विश्वकपमा इंग्ल्याण्डसँग पराजित भएको थियो।
तर, यसपटक भने उसलाई भाग्यले पनि साथ दिएको छ। भारतजस्तो बलियो टोलीलाई हराउँदै उसले ऐतिहासिक उपाधि हात पारेको हो।
इंग्ल्यान्डको साउथएम्पटनमा भएको खेलमा भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाउँदै पूरा गर्यो।
यसअघि पहिलो इनिङमा भारतले २१७ रन बनाएको थियो भने न्युजिल्यान्डले २४९ रन बनाएको थियो। पहिलो इनिङमा न्युजिल्याण्डका केल जेमिसनले पाँच विकेट लिएका थिए भने भारतका मोहम्मद शमीले चार तथा इशान्त शर्माले तीन विकेट लिएका थिए।
भारत दोस्रो इनिङमा सस्तैमा समेटिँदा बराबरीतर्फ उन्मुख भएको खेल न्युजिल्याण्डले जितेको थियो। दोस्रो इनिङमा भारत १७० रनमा समेटियो। न्युजिल्याण्डका टिम साउदीले चार तथा ट्रेन्ट बोल्टले तीन विकेट लिए। त्यसपछि न्युजिल्यान्डलले जितका लागि १३९ रनको सामान्य लक्ष्य पाएको थियो। जसमा कप्तान केन विलियम्सनले ५२ रन तथा रोज टेलरले ४७ रनको अविजित पारी खेल्दै जित निकाले।
उपाधिसहित न्युजिल्यान्डले १६ लाख अमेरिकी डलर प्राप्त गरेको छ भने उपविजेता भारतले ८ लाख अमेरिकी डलर प्राप्त गरेको छ।