ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय छ ः अध्यक्ष बिजुक्छेँ
जेठ २८, २०७८, शुक्रबार | विहान १०:१५ बजे | 10
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीहरूबीच शुक्रबार अनलाइनबाट मार्गनिर्देशनात्मक कार्यक्रम भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नपाद्वारा सञ्चालित ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय भएको बताउनुभयो । नगरपालिकाको आह्वानकै भरमा करोडौंको रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको बताउनुहुँदै उहाँले पैसा कमाउन डाक्टर बन्नेहरूले यस्तो महामारीमा बिरामीको सेवा गर्दैनन् भन्नुभयो ।
उहाँले भन्नुभयो — ‘कोभिड १९ महामारी पनि एकप्रकारको युद्ध हो । युद्धको बेला आफ्नो कर्तव्य निर्वाह नगर्ने इमानदार सिपाहीं हुन सक्दैनन् ।’ महामारीको समयमा चिकित्सक, नर्स तथा कर्मचारीहरूले अझ बढी सक्रियतापूर्वक निःस्वार्थ भावले काम गर्नुपर्ने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले पैसा कमाउने उद्देश्यले डाक्टर पढेकाहरूको असली चरित्र अहिले थाहा भयो भन्नुभयो ।
स्वास्थ्य सेवामा रहेका डाक्टर, नर्स र कर्मचारीको व्यवहार राम्रो नभए जनताको गुनासो आउनु स्वाभाविक भएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, आफूमा भएको कमी कमजोरीलाई समयमै सुधार गर्नु आवश्यक छ ।
भक्तपुरको स्वास्थ्य क्षेत्र राम्रो भए अरुलाई पनि राम्रोसँग काम गर्न हौसला मिल्ने बताउनुहुँदै उहाँले आवश्यकताको समयमा ती चिकित्सक टोलीले देशका विभिन्न जिल्लाहरूमा गई सेवा गर्न सक्ने बताउनुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टीले नेमकिपामार्फत केही दिन अगाडि पठाएको स्वास्थ्य सामाग्री सहयोग नेपाली जनताको निम्ति भएको बताउनुहुँदै का. रोहितले नेमकिपाको मुख्य उद्देश्य जनताको जीवन जोगाउने र जनताको सेवा गर्ने रहेको बताउनुभयो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै महामारीको समयमा स्वास्थ्यकर्मीहरू पछि हट्दा समाजलाई जोगाउन मुश्किल पर्ने बताउनुभयो ।
उहाँले क्यानाडाका डा. नर्मन बेथुनले चीनको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुहुँदै विश्वभर बेथुनलाई चिकित्सकले आदर्शको रुपमा लिने गरेको र नेपाली चिकित्सकहरूले पनि उहाँबाट प्रेरणा लिएर सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
जनताको साथ, सहयोग र मायाले भक्तपुर नपालाई अझ उत्साहित भएर अगाडि बढ्न उत्साह मिलेको बताउनुहुँदै उहाँले ख्वप अस्पतालले भविष्यमा राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिने सोचका साथ अगाडि बढिरहेको बताउनुभयो ।
जनतालाई प्रत्यक्ष रुपमा हित हुने काम नेपाल मजदुर किसान पार्टीले गर्छ भन्ने विश्वास अहिले जनमानसमा पैदा भएकै कारण नेमकिपाप्रति जनताको आशा र विश्वास अझ बढेको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ख्वप अस्पतालको लागि अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य सामाग्री व्यवस्था गर्न सानो बालक, युवादेखि ज्येष्ठ नागरिकहरूसम्मको सक्रिय सहभागिताले आफूलाई निकै भावविह्वल बनाएको बताउनुभयो । उहाँले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य सुरु भइसकेको अवगत गराउनुहुँदै जनताबाट प्राप्त सहयोग रकम जनताकै निम्ति सदुपयोग हुनेछ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका शाखा अधिकृत गौतमप्रसाद लासिवाले भक्तपुर नपाबाट सञ्चालित आइसोलेसन केन्द्रको अवस्था र त्यहाँबाट प्रदान गरिँदै आएको सेवा सुविधाबारे अवगत गराउनुहुँदै हालका दिनमा कोभिड संक्रमितहरूको संख्यामा कमी आएको बताउनुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले कोभिड महामारीमा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले प्रदान गर्दै आएको सेवाबारे आफ्नो विचार राख्नुभयो ।