हो, प्रतिरोधी क्षमता बलियै रछ।
राजु छुस्याबाग
स्टकहोल्म
सम्माननीय प्रधानमन्त्री केपी ओलीले नेपालीको प्रतिरोधी क्षमता बलियो छ भन्दा खूब आलोचना र ट्रोल भको थियो। सामाजिक संजालका भित्ताहरु प्रधानमन्त्रीको उक्त भनाईको बिरुद्दमा रंगिएका थिए। ’इनफ इज इनफ’ अभियानले मुख्य यहि बिषयलाई ’पिसिआर कि बेसार’ भनेर उठायो। देशका ठूल ठूला चिकित्सकहरुले समेत झाडापखाला र हैजा जस्ता रोगले जनता मर्ने देशको प्रतिरोधी क्षमता बलियो छ भन्ने आधार नभएको कुरा खुलेआम मिडिया मै आएर बोले। तर पनि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी पटक पटक नेपालीको प्रतिरोधी क्षमता बलियो भएको कुरा कोविड १९ को प्रसंगमा भनी नै रहे। कोरोना एक प्रकारको रुघा भएको हुँदा हाच्छ्युँसाच्छ्यूँ गरेर उडाई दिनु पर्ने समेत मर्जी भो। शुरु शुरुमा यी बुढा नि के के बोल्छन बोल्छन जस्तो लाग्या भए नि आजकल किन हो कुन्नि मलाई भने प्रधानमन्त्रीको उक्त कुरो असाध्यै प्यारो लाग्छ र दोहोर्याई तेहर्याई राष्ट्रगान जस्तै गरी सुनी रहुँ लाग्छ। प्रधानमन्त्री जस्तो मान्छेले आलोचनाका बाबजुत पनि त्यहि एउटै कुरा रटी रहँदा नसोचिकन भनेन होला भन्ने लाग्न थालेको छ। त्यसो भनुका केहि ठोस आधारहरु पक्कै हुनुपर्ने भन्ने जस्तो लाग्छ। नेपालीहरुको खासमा के के कुरामा प्रतिरोधी क्षमता रछ भनी दिनभरी मनन गर्दा तपसिलका कुराहरु संश्लेसित भएर आए।
भारतीय थिचोमिचो
२०४५ भदौ ५ गते नेपालमा भूकम्प जाँदा म भरखरको अलाकांचा केटो भए पनि भूकम्पले पुर्याएको क्षति यता उति गएर हेर्न जान सक्ने भैसकेको थिएँ। देशमा को राजा थिए को प्रधानमन्त्री थिए भन्ने पनि घर भित्र ठूला बडाले गर्ने गरेको चर्चाबाटै बुझ्थें। भूकम्पले थिलथिलो भएको नेपाललाई २०४५ चैत्र १० मा भारतले नाकाबन्दी गर्दा राजीब गान्धी भन्ने नामको व्यक्तिलाई खूब गाली परेको थियो। पछि थाहा भो भारतका प्रधानमन्त्री थिए उनी। उसैले नाकाबन्दी गरेका थिए नेपाललाई। ४५ साल पछि नेपालमा ठूलो भूकम्प ३२ बर्षको अन्तरालमा २०७२ बैशाख १२ गते गएको थियो। देशको पहिचान, घराहरा, नै लड्ने गरी गएको यस भूकम्पले धेरै ऐतिहासिक स्मारक, मठ मन्दिर लगायत लाखौ घरहरु ध्वस्त बनाएको थियो। नेपाली समाज भूकम्पले आक्रान्त भएको केहि महिना मै फेरि भारतले नेपाललाई नाकाबन्दी गर्यो असोज २०७२ मा। यति खेर नाकाबन्दी गर्ने नरेन्द्र मोदी प्रधानमन्त्री थिए भारतमा। म जन्मनु भन्दा अगाडि पनि भारतले नेपाललाई नाकाबन्दी गरेको इतिहास पछि आफै पुस्तकालय धाउन थाले पछि थाहा भो। तर म आफु जन्मेको भन्दा अगाडिको कुरा नकोट्याई आफुले भोगेका दुइटा नाकाबन्दीका बारेमा छोटो टिपणी माथि दिएँ। दुईटै नाकाबन्दी भूकम्पले आहत भएर आर्थिक रुपले कोमामा लडिरहेको नेपालमाथि लगाईएको थियो। तर पटक पटक भारतले नेपालमाथि नाकाबन्दी लगाई रहँदा पनि हामी नेपालीले भने त्यसलाई बिना कुनै अप्ठ्यारो मसशुस गरी पचाई रह्यौं। भविष्यमा पनि नाकाबन्दी हुन सक्ने सम्भावनालाई अध्ययन गरी आफै आत्मनिर्भर हुनु पर्ने आधारभूत कुरा समेत ख्याल गरेनौं। हामी वीर गोर्खाली भएरै रह्यौं। नाकाबन्दीले समेत नछुने हामी नेपालीको प्रतिरोधी क्षमतालाई बलियो नभनेर कमजोर भनि नेपालीको अबमूल्यन गर्न पनि त हुन्दैन होला के रे। अनि प्रधानमन्त्रीले प्रतिरोधी क्षमता बलियो छ भनेर के बिगारे त?
हालसालै पनि नेपालका लिंपियाधुरा, लिपुलेक तथा कालापानी लगायतका भूभाग समेटेर नयाँ नक्सा प्रकाशित गरी त्यसमाथि बनाईएको सडक समेत उदघाटन गरेर भारतले नेपालको मुखमा थिचोमिचो र हेपाहा प्रवृतिको पोकोले हिर्काएको छ। बिगत ६० बर्षदेखि भारतीय सेनाले कालापानी क्षेत्रसम्म अतिक्रमण गरि बस्दा पनि आईया र आत्थु, चाईं र चुईं नगरी सम्प्रभूता र सार्बभौमिकता माथिको प्रहारले नेपालीलाई नछोएकै हो। यसलाई पनि प्रतिरोधी क्षमता नै भनु पर्ला नि।
भ्रष्टाचार
४६ सालको जनअन्दोलनले प्रजातन्त्र पुनस्स्थापना गरे पछि ४८ सालको आम निर्बाचनले स्थापित गरेको नेपाली कांग्रेसको प्रजान्तान्त्रिक सरकारदेखि अहिलेको ओलीको कम्यूनिष्ट सरकारसम्म झन्डै एक दर्जन सरकारहरु बने। ४६ सालसम्म प्रतिव्यक्ति करीब ६००० ऋण भकोमा पछिल्लो तथ्याङ्कले प्रतिव्यक्ति ३९००० पुगेको देखाएको छ। देशको औद्योगिक अबस्था शुन्य प्रायस् छ। बिकासको पूर्वाधार ४६ साल पछि फिटिक्कै नबनेको अबस्था छ। भएका संरचनाहरुलाई पनि उचित संरक्षित गर्न असक्षम हुँदा सिङ्ग्गो मुलुक खण्डहर जस्तोमा रुपान्तरण भएको छ। अझ डरलाग्दो त गृहमन्त्री राम बहादुर थापा बादलले, ’’भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने तीनै तह कर्मचारी बिहीन भई खाली हुने’ भनी दिएको अभिव्यक्तिले भ्रष्टाचार घर दैलो पुगेको स्थितिलाई बुझाउँछ। अति न्यून रुपमा हुने बिकास कार्यहरुमा समेत प्रचण्ड भ्रष्टाचार हुँदा आम जनताले आफूले तिरेको करको कुनै राहत अनुभूति गर्न नपाएको सत्य पनि हो। कोरोनामा पनि ओम्नी भएकै छ र सारा नेपालीलाई यसले पटकै नछोएको नि शत प्रतिशत यथार्थ हो। यहाँ पनि त सम्माननीय प्रधानमन्त्री केपी ओलीको नेपालीको प्रतिरोधी क्षमता साँचै बलियो छ भनी भनेको कुरा पुष्टि हुन्दैन र?
विकेन्द्रीकरण
एकात्मक केन्द्रीय शासन प्रणालीको बिकल्पमा सिंह दरबारको अधिकार नेपाली जनताको घर दैलोमै पुर्याउने अठोटका साथ अभ्यासमा उतारेको संघीय प्रणालीको मजाक गर्दै नेपाल सरकारले आ.व.०७७र७८ को बजेट वक्ततव्यमा काठमाडौं उपत्यकामा ४ वटा उपशहर (स्मार्ट सिटी) बनाउने योजना अगाडि सारेको छ। शक्ति पृथकीकरणका आधारमा मुलुकले बिकासको द्रुत गतिमा छलाङ्ग मार्ने इरादाकासाथ ल्याईएको संघ राज्यको अबधारणा अनुसार प्रदेश र स्थानीय तहलाई स्थानीय रुपमै बिकास गर्न परिचालित गर्नु पर्ने हैन र ? फेरि पनि काठमाण्डौ उपत्यका मै स्मार्ट सिटि बनाई काठमाण्डौ उपत्यकाको आदिबासीलाई बिस्थापित गर्ने यो योजनाले गाउँ गाउँले कहिले बिकासको मुहार देख्न पाउने हो ? यस्ता योजनाहरुले फगत काठमाण्डौ उपत्यकाको उर्वर भूमि मात्र ओगट्ने खतरालाई हामीले नजरअन्दाज गर्न मिल्छ र ? यति हुँदा नि स्थानीय र प्रदेश सरकारहरुबाट बिरोध नहुनु यसको गाम्भिर्यताले नछोएको हैन र? तब त ओली भन्दै छ नेपालीको प्रतिरोधी क्षमता बलियो छ र हो रछ पनि।
निष्कर्ष
यसो इतिहासदेखि खोतलेर लिएर आउने हो भने त प्रधानमन्त्री ओलीले भने भन्दा नेपालीको प्रतिरोधी क्षमता अझ कयौं गुणा बढी भएको बुझिन्छ। फगत कोरोनाको सन्दर्भमा मात्र हैन देशका सम्पूर्ण बिकृति(विसंगति लगायत हर क्षेत्रमा नेपालीको प्रतिरोधी क्षमता साह्रै उच्च कोटिको रहेको पाउन सकिन्छ। यी हर क्षेत्रको प्रतिरोधी क्षमताले गर्दा नेपाली जनताको जीवनमा अझसम्म पनि सुशासन, विकास, शिक्षा, गति, मानुषता, राजनीति जस्ता विषयहरुले छुनै सकेका छैनन्। प्रधानमन्त्री केपी ओलीको प्रतिरोधी सम्बन्धिको बुझाई बास्तबमै सर्हानीय छ। उहाँले ठिकै भनेका रछन। बुझ्नेले कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि प्रधानमन्त्रीलाई अन्यथा बुझ्ने नै भयोस समस्या हुने नै भयो।