एमसीसी खारेज गर्दै खनिजसँग सम्बन्धित विविध इन्जिनियर तथा जनशक्ति उत्पादनलाई प्राथमिकता देऔं ।
सत्यराम कासिछ्वा
नेपाल खनिज जस्ता प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक हो । खनिजको उत्खनन र प्रयोग विना कुनैपनि राष्ट्रको औद्योगिकरण र त्यसपछिको समृद्धि सम्भव छैन । खनिजको सर्वेक्षण, उत्खनन, प्रशोधन एवं उपयोग गर्ने देशको मूल नीति हुनुपर्छ ।
नेपाल मै पहिलो पटक भूमिगत उत्खनन भएको ऐतिहासिक फलाम खानी पर्वतमा वि.संं.२०१५ सम्म संचालन भएको थियो । सन् १९२१ मा भोटसँग युद्ध गर्न रामेछापको ठोँसेमा राणा प्रधानमन्त्री देव शमशेरले युद्धका लागि हतियार बनाउने कारखाना खोलेका थिए । त्यसबेला त्यहाँ १८ वटा ठाउँबाट खनिज निकालेर प्रशोधन गरी ठोँसेको मेक्चेनमा दैनिक ९ नाल बन्दुक तयार गरिन्थ्यो । सन् १९५० अगाडि राणाकालीन समयमा भौगर्भिक ज्ञान भएका जनशक्ति नेपालमा थिएन र विदेशीलाई पनि अध्ययन अनुसन्धान गर्न अनुमति दिँदैन, तर नेपालमा राणा ब्रिटिसको सम्बन्ध राम्रो भएकोले जिओलोजिकल सर्वे अफ इन्डियाका भूगर्भविद् मध्ये नेपाल आउने पहिलो भूगर्भविद् जे.डी. हुकरले अनुसन्धान गरेका थिए । राणा शासन अन्त्यपछि विश्वका विभिन्न देशबाट नेपालमा अध्ययन हुन थाल्यो ।
सन् १९६१ मा सरकारले खानी अड्डालाई विस्तार गरी खानी ब्युरोमा परिवर्तन गरेर सन् १९६७ मा नेपाल भौगर्भिक सर्वेक्षण संस्थाको स्थापना गरियो । सन् १९७७ अर्थात् वि. सं. २०२४ मा खानी ब्युरो र भौगर्भिक सर्वेक्षण संस्था एकत्रित गरी खानी तथा भूगर्भ विभाग स्थापना भयो । सन् १९६७ मा नै त्रिविको स्नातक तहमा र सन् १९७६ देखि स्नाकोत्तर तहमा भगर्भ शास्त्र विषयको अध्यापन थालनी भएको हो ।
ढुङ्गा, गिट्टी, बालुवा, युरेनियम, पेट्रोलियम पदार्थ, दुर्लभ धातु, ग्यास, कोइला, सृङ्गारिक रत्नपत्थर, जिङ्क, फलाम, तामा, अभ्रख, सीसा, चुनढुङ्गा, मार्वल जस्ता खनिज एवंं जलस्रोत जस्ता अथाह प्राकृतिक स्रोत साधनले भरिपूर्ण मुलुक भएर पनि उचित खोज, अनुसन्धान अन्वेषण तथा प्रविधिको अभावले माल पाएर चाल नपाएको जस्तो भएको छ । खानी तथा भूगर्भ विभाग तथा त्रिभूवन विश्वविद्यालयको अध्ययन अनुसार नेपालमा कम्तिमा २१ प्रकारका खनिज धातु, २३ प्रकारका औद्योगिक खनिज, ६ प्रकारका रत्न खनिज, ४ प्रकारका इन्धन खनिज र ९ प्रकारका निर्माण खनिज गरी ६३ प्रकारका खनिज रहेको रहेको छ । जसमध्ये कतिपय खनिजको विस्तृत अध्ययन भई परिमाण समेत एकिन भैसकेको छ भने कतिपय ठाउँमा खनिजमा आधारित केही उद्योगहरु स्थापना भैसकेका छन् ।
नेपालमा सन् १९६७ मा नै त्रिविको स्नातक तहमा र सन् १९७६ देखि स्नाकोत्तर तहमा भूगर्भ शास्त्र विषयको अध्यापन थालनी केही मात्रामा भए पनि अन्वेषण, उत्खनन, प्रशोधन तथा प्रयोगशाला सम्बन्धि विस्तृतकृत पढाइ नहुँदा त्यहाँबाट उत्पादित जनशक्तिले भौगर्भिक नक्सांकन बाहेक अरु केही गर्न असमर्थ भएपनि खनिज अन्वेषण, उत्खनन, प्रशोधन तथा प्रयोगशालालाई आवश्यक पर्ने माईनिज ईन्जिनियरिङ, मेटालुर्जिकल ईन्जिनियरिङ, जियोफिजिक्स, जियो केमेस्ट्री, रिमोट सेन्सिङ जस्ता विषयको अध्यापन हुन सकेको छैन । सरकारले उद्योग र शैक्षिक संस्था एक अर्काको परिपूरक हुन भन्ने कुरालाई आत्मसाथ गर्न सकेको र्छन । विद्यालय स्तरका कक्षामा खनिज पदार्थको उपलब्धता बारे जानकारीमुलक अध्ययन अध्यापन गरे तापनि कक्षा ११र१२ तथा विश्वविद्यालयको शिक्षामा खनिजसँग सम्बन्धित विशेषज्ञ तथा जनशक्ति उत्पादनलाई प्राथमिकता दिन सकेको छैन । र नेपालमा उपलब्ध खनिजको अध्ययन अध्यापन नभए तापनि विदेशमा खनिज विषयको अध्ययनका लागि विशेष छात्रवृत्तिको व्यवस्था दिएर नेपालमा विस्तारै खनिजको विशेषज्ञ तयार गरिनुपर्छ ।
यसर्थ सरकारले एमसीसी सम्झौताको भरोसा नगरी खारेज गर्दै नेपालमा उपलब्ध खनिजको वैज्ञानिक तरिकाले भरपूर प्रयोग गरी सुखी र समृद्ध राष्ट्र निर्माणका लागि खनिजसगँ सम्बन्धित माईनिङ ईन्जिनियरिङ, मेटालुर्जिकल ईन्जिनियरिङ, जियोफिजिक्स, जियो केमेस्ट्री, रिमोट सेन्सिङ जस्ता विषयका विविध ईन्जिनियर उत्पादन तथा आवश्यक काम गर्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्छ ।