विस्केटको प्राचीनता र नामकरण
चैत ३१, २०७७, मङ्गलबार | विहान ०७:४६ बजे | 45
प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ
लिङ्गपुजन परम्पराले लौकिक जीवनमा लोकप्रियताको चरम चुली चुम्दै चलेर आएको एक समृद्ध रूपको शैव जात्रा हो विस्केट जात्रा । पुरातत्वका दृष्टिले लिङ्गपुजन परम्परा आजभन्दा पाच हजार वर्ष पुरानो रही आएको छ । सैन्धव उत्खननमा फेला परेका शिवलिङ्ग र योगमुद्रामा तल्लीन शिव पशुपतिका सिलछाप उदाहरणस्वरूप छन् । परवर्ती कालमा पुरुष जननेन्द्रीय शिवको प्रतीक रही त्यसमा समन्वित स्त्री जननेन्द्रीय शक्तिको प्रतीक रही लिङ्गपुजन संस्कृति अझ शिष्ट रूपले विकसित हुदै आएको
जानिन्छ । लखनउ संग्रहालयस्थित ई.पू.दोस्रो शताब्दीको पञ्चमुखलिङ्ग यस कुराको प्रत्यक्ष उदाहरण
हो । नेपाल भारत लगायत दक्षिण पूर्वी एसियाका शैव प्रभावित क्षेत्रहरूमा रहेका जलहरियुक्त शिवलिङ्गहरू यस कुराका प्रकारान्तर प्रतीक–उदाहरण हुन् । अनि हजारौं वर्ष अघिदेखि प्रतीकात्मक ढङ्गमा साह्रै सफलतापूर्वक लोक दुनियाले व्यवहारमा समेत उतार्दै आएको एउटा नौलो सांस्कृतिक–प्रयोग लिङ्गको शिर्षमा एकजोडी ध्वजा फहराएर गरिने लिङ्ग–ध्वजोत्थान जात्रा थियो । यो प्रयोग त्यसबखतको लौकिकजीवनमा साह्रै सफल मान्दै अत्यन्त लोकप्रिय रही आयो । यस कुराको उत्कृष्ट उदाहरण भक्तपुरको विस्केट जात्रा हो ।
लिङ्गपुजन परम्पराको प्रचार प्रसारको श्रेय लिङ्गायत मत वा वीरशैव मतका आचार्य एवं तिनका अनुयायीहरूलाई पनि जान्छ । उत्तरप्राचीनकालमा नेपालमा राजकीय संरक्षण समेत पाएर चलेका अनेक स्वतन्त्र शैव सम्प्रदाय, उप सम्प्रदायहरूमध्येको एउटा सम्प्रदाय वीरशैव थियो । यस सम्प्रदायका मुख्य देवता विश्वेश्वर÷विश्वनाथभैरव र उनका शक्ति भद्रकाली हुन् । भक्तपुरको टौमढीटोलस्थित विश्वनाथभैरव+भद्रकालीमन्दिरक्षेत्र त्यसकालमा यस सम्प्रदायको पवित्र स्थलको रूपमा रहेको जानिन्छ । भैरवनाथमन्दिर परिसरमा रहेको उत्तरप्राचीनकालीन जलपात्रमा उत्कीर्ण लिच्छवि अभिलेखमा आएको ‘लडितमहेश्वर’ ले पनि यो क्षेत्र त्यसकालदेखि नै शैवक्षेत्रको रूपमा प्रख्यात रही आएको प्रतीत हुन्छ । स्मरण रहोस्, विस्केटजात्राका मुख्यदेवता विश्वनाथभैरव+भद्रकाली हुन् जुन यसै क्षेत्रमा छन् । अनि लिङ्गायतहरूको प्रधान मठ पनि यसै क्षेत्रमा छ जुन नेपालको एक मात्र प्रधान मठ पनि हो । लिङ्गजात्रा वा विश्वजात्रा वा विस्केटजात्रा हुने स्थल पनि यसै क्षेत्र अर्थात् भद्रकालीपीठ इलाका (योसिंख्यः) हो । विश्वमा शैव मतको प्रचार प्रसार गर्नु वीरशैवहरूको मूल धर्म हो । यसरी वीरशैवहरूले चलाएको शिव सिद्धान्त धर्म एवं लिङ्गपुजन संस्कृतिको प्रचार प्रसारको चरम लोकप्रियताको उपज यसै क्षेत्रमा गरिने विस्केटजात्रा पनि थियो । उत्तरप्राचीनकालतिर यो जात्रा चैत्र मसान्तको दिनमा लिङ्ग ध्वजोत्थान गरी वैशाख संक्रान्तिको दिनमा ढाल्ने दुई दिने जात्राको रूपमा चलेको दृष्टिगोचर हुन्छ । अनि मध्यकालको अनेक कालखण्डमा विभिन्न शासकहरूले अनेक विधिविधान एवं उपजात्रा (भैरवनाथको रथ तान्ने, भैरव भद्रकालीको रथ जुधाउने, दुमाजु जात्रा, महाकाली महालक्ष्मीको जात्रा आदि) थप्दै यसलाई सांस्कृतिक रूपले समृद्ध एवं गरिमामय तुल्याउदै लगे । यसो हुदा मल्लकालको अन्त्यतिर आइपुग्दासम्म यो जात्राले आठ रात नौ दिन लामो जात्राको रूप लिन पुग्यो र नेवार लोकजीवनमा यो जात्रा सोही विशेषता अनुरूप ‘च्याचा गुन्हुया जात्रा’ भनेर पनि विख्यात हुन पुग्यो । कान्तिपुरको इन्द्रजात्रा, ललितपुरको मत्स्येन्द्रनाथ+भोटोजात्राले त्यतातिरको सांस्कृतिक पहिचानको रूपमा रूढ रहे जस्तै भक्तपुरको विशिष्ट सांस्कृतिक पहिचान बनेर विस्केट जात्राले लोकजीवनमा स्थान पाउ“दै आयो ।
अभिलेखीय प्रमाणतिर दृष्टिगत गर्दा लेलेको शिवदेव+अंशुवर्माको अभिलेखमा आएका ‘इन्द्रगोष्ठी’, ‘ध्वजगोष्ठी’ले ध्वजा फहराएर गरिने लिङ्गजात्रा वा भनौं विस्केटको प्रसङ्गलाई स्मरण गराउ“छ । भगवान् इन्द्रको ध्वजा ‘इन्द्रध्वजा’ नामले प्रसिद्ध रहे झैं विश्वनाथभैरवको लिङ्गको शिर्षमा फहराइने एकजोडी ध्वजा पनि सोही अनुरूप ‘विश्वध्वजा’ वा ‘विश्वकेतु’ वा ‘वीरध्वजा’ नामले विख्यात रही आएको तथ्य ध्वजाभिलेख प्रमाणका आधारमा जानिन्छ । विश्वनाथभैरवको जात्रा विश्वजात्रा हो । विश्वनाथभैरवको लिङ्गमा फहराइने एकजोडी ध्वजा स्वयं विश्वनाथभैरव र उनका शक्ति भद्रकालीका प्रतीक छन् । ती ध्वजा कुशलमङ्गलका प्रतीक पनि हुन् जसको दर्शनले सहकाल आउछ, यस लोकमा रहेकाहरूलाई सुस्वास्थ, समृद्धि र सुखशान्ति प्रदान गर्दै शत्रुनाश् समेत गर्दै परलोकमा रहेका मृतात्माहरूले जन्म र मृत्युको बन्धनबाट मुक्ति पाउ“दै मोक्ष प्राप्त होस् भन्ने कामनाले समेत विधान गरी जात्रा मनाइन्छ ।
लिङ्ग उठाउने र ढाल्ने दुईदिने जात्रा मध्यकालको पूर्वाद्र्धसम्म पनि चलिरहेको आभास हुन्छ । ने.सं.५००को अमरकोषमा ‘विश्वकेतु’ शब्दको पर्याय ‘विसिक’ दिइएको छ । हालसम्मन्को अन्वेषणमा ‘विश्वजात्रा’ को पहिलो उल्लेख टौमढीटोलको यक्षमल्लको ने.सं.५६१ को अभिलेखमा भेटिएको छ । ने.सं.६४१ को भूमिसम्बन्धी एउटा तमसूक–ताडपत्रमा ‘विसकजात्रा’ व्यवहृत भएको छ । भक्तपुर राजदरबारको ने.सं.८०८ र ने.सं.८१८ को जितामित्र मल्ल र भूपतीन्द्र मल्लका अभिलेखहरूमा ‘विस्क्यात’ उल्लेख छन् । वर्तमान नेवार लोकजीवनमा ‘विस्का’ र नेपाली राष्ट्रियजीवनमा ‘विस्केट’ नाम प्रचलित छन् । यसरी संस्कृत शब्द ‘विश्वकेतु’ (विश्वनाथभैरवको ध्वजा) कै परवर्तीकालमा चलेका नाम रूप विषुवकेतु, विसिक, विषुवकेतु यात्रा, विसिकयात, विसिक्यात हुदै विस्क÷विस्का÷विस्केट नामान्तर प्रचलित रहेको ज्ञात हुन्छ ।
पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तर उपत्यकाको राजनैतिक विखण्डन लगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि, भक्तपुरले आङ्खनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । नेपालका विभिन्न स्थानहरूमा लिङ्ग खडा गरी ध्वजा फहराउने संस्कृति आज पनि वर्तमान छ र, प्रकारान्तरमा तिनमा निहित मूल सांस्कृतिक ढुकुढुकी भक्तपुरको विस्केट जात्रा हो भनी मान्न सकिन्छ ।
यसरी भक्तपुरको विशिष्ट सांस्कृतिक पहिचान विस्केट जात्रा हो । समृद्ध संस्कृति र सभ्यताको प्रतीक पुर्खाले राखेर गएका यी जात्राहरू पनि हुन् । यी हाम्रा राष्ट्रिय निधि हुन् । यी जात्राहरू छन् यसैले संस्कृति, समाज, मानिस, परिवार र देवताहरू समेत पनि छन्, र, चाडपर्वहरू पनि चलेका छन् जसले हामीलाई हजारौं वर्षदेखि ‘म’ होइन ‘हामी’ बनाएर एकताको भाव–मालामा उनेर सजाइराखेको छ । ललितपुरको मत्स्येन्द्रनाथको जात्रा होस् वा काठमाडौंको इन्द्रजात्रा वा भक्तपुरको विस्केट जात्रा † यी जात्राहरू मनाउनुको मूल दर्शन वा शुभ–आशय सदाकाल देश र देशवासीको कल्याण होस्, सुस्वास्थ, समृद्धि, सहकाल, सुरक्षा लगायत शत्रुनाश् होस् भन्ने रहिआएको विदित हुन्छ ।
र, अन्त्यमा, हिजो हाम्रा पुर्खाहरूले विस्केट जात्रा राखेर चलाएर गए जुन राम्रो कुरा हो । त्यो भन्दा पनि अझ राम्रो कुरा विस्केट जात्रालाई पछिसम्म पनि चलाउदै हामीपछिका तेस्रो पुस्तालाई सकुशल सुम्पेर जानु हाम्रो पुस्ताको दायित्व हो । केही दशक अघिदेखि यो जात्रामा ढुङ्गामूढा गर्ने लगायतका विकृति अर्वदु रोग जस्तै भएर देखा परेको छ । यसले हाम्रो शिर निहुराएको छ । यसलाई रोक्न हामीले प्रहरी र प्रशासनको सहारा लिएर मात्र पुग्दैन । यसलाई निर्मूलै पार्न भने हामीले हामीभित्रकै हामी–हामीबीचमा ढुङ्गामुढा गर्ने पशुत्ववृत्तिलाई हटाउनु पर्छ । त्यसका लागि प्रत्येक भक्तपुरेहरू सक्षम छन् र प्रत्येकले भित्री मनदेखि ‘यो जात्रा मेरो सांस्कृतिक शान र पहिचान हो। यो जात्रा हरायो भने म पनि हराउने छु, पुर्खाले सराप्ने छ, मेरो भक्तपुरको सांस्कृतिक पहिचान पनि रहने छैन’ भनी यसै वर्षको विस्केटजात्रादेखि दृढ अठोटका साथ पालना पनि गर्ने हो विस्केट जात्रामा भित्रिएको विकृति स्वतः निर्मूल हुनेछ । अनि सारा संसारले भक्तपुरेहरूको संस्कृति बचाउने सांस्कृतिक शानको समेत मुक्त कण्ठले प्रशंसा गर्दै हजारौंका संख्यामा नभएर लाखौ–लाखका संख्यामा यो जात्रा हेर्न देशविदेशबाट जात्रालुहरू, पर्यटकहरू आउने छन । यसले भक्तपुरको दिगो पर्यटनमा समेत टेवा पुग्नेछ । यसैमा सारा भक्तपुरेहरूको कल्याण निहित छ ।