भोलीदेखि चार दिन विद्यालय बन्द
चैत १६, २०७७, सोमबार | विहान ०९:०६ बजे | 25
सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो ।
बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा.हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो । बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गर्नुभएको थियो । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्नुपरेको बताउनुभयो । बैठकले आज मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रदुषणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको थियो। मन्त्रालयले वायु प्रदुषणले जनस्वास्थ्यमा विभिन्न प्रभाव पर्ने भन्दै घरभित्र नै बस्न अनुरोध गरेको थियो।
मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न र घर बाहिर मर्निङ वाकमा नजान पनि सर्वसाधारणलाई अपिल गरेको थियो।प्रदुषणले काठमाडौं उपत्यकाबासीमा रूघाखोकी, दम, एलर्जी, आँखा पोल्ने र अन्य श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।