आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका कर छुटसम्बन्धी अन्तरक्रिया
असार १७, २०८३, बुधबार | राति ०९:१३ बजे | 145
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबार आर्थिक ऐन २०८३ मार्फत विभिन्न करमा गरिएका विशेष छुट र अन्य व्यवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका कर छुट बारे जानकारी गराउने उद्देश्यका साथ संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले कर करले होइन, रहरले तिर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले संघले हरेक वर्ष आर्थिक ऐनमा उपलब्ध छुट सुविधाहरुको बारे जिल्लाका करदाताहरुलाई जानकारी दिन आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग सहकार्य गरी अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका कर अधिकृत राजेन्द्र कोइरालाले आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका विशेष कर छुट, सहुलियत, राजश्वका नयाँ व्यवस्था, करदाताले प्राप्त गर्न सक्ने सुविधाका विषय, कर छुट प्राप्त हुने समयसीमा लगायतका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । साथै उनले समयमै कर विवरण तथा दायित्व पूरा गर्दा करदाताले प्राप्त गर्ने छुट सुविधाका बारेमा स्पष्ट पारे ।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी एवं करदाताहरुले कर छुट, जरिवाना मिनाहा, आफूहरुले भोगिरहेका व्यवहारिक समस्या बारेमा कर अधिकृत कोइरालासमक्ष प्रश्न तथा जिज्ञासा राखेका थिए भने ती प्रश्नहरुको कर अधिकृत कोइरालाले उत्तर दिई जिज्ञासा बारेमा स्पष्ट पारेका थिए ।
यसैगरी, कार्यक्रममा संघका उपाध्यक्ष एवं संघअन्तर्गतको राजश्व उपसमितिका संयोजक दिनेश गोसाई, उपसमितिकी सदस्य सन्ध्या श्रेष्ठ बुद्धाचार्यले आर्थिक ऐनमा व्यवस्था भएका प्रावधानको विषयमा कार्यक्रमबाट करदाताहरु थप स्पष्ट भएको विश्वास व्यक्त गर्दै उपलब्ध कर छुट सुविधाहरुको अधिकतम उपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा १०० भन्दा बढी भक्तपुर जिल्लाका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा करदाताहरु सहभागी भएका थिए ।
