नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको अधिवेशन श्रावण २ गते
असार १७, २०८३, बुधबार | साँझ ०६:५३ बजे | 55
नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाको अधिवेशन यहि आउँदो ने.सं.११४६ दिल्लाथ्व पञ्चमी श्रावण २ गते शनिवार हुँदैछ । काठमाडौं जिल्लाको अधिवेशन गर्न नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिव राजु नापितको संयोजकत्वमा सहसचिव प्रजित शाक्य र सुनिता महर्जन सम्मिलित तदर्थ समिति गठन गरी अधिवेशन गर्न लागिएको पत्रकार दबूका महासचिव केके मानन्धरले जानकारी दिनुभयो । दबूको केन्द्रीय महाधिवेशन भदौ १९ र २० गते गोरखा जिल्ला भिमसेन गाउँपालिका ५ मिलनवस्तीमा हुने निश्चित भएपश्चात सम्पूर्ण जिल्लाहरुलाई असार १५ गते भित्र जिल्ला अधिवेशन गर्न परिपत्र भएकोमा अन्य जिल्लाले अधिवेशन सम्पन्न गरिसकेको छ भने काठमाडौं जिल्लामा अधिवेशनको कुनै तयारी नभएको कारण केन्द्रले तदर्थ समिति गठन गरी अधिवेशन गर्न लागिएको हो । त्यसका लागि नयाँ दर्ता र नविकरण कार्य सुरु भइसकेको समेत महासचिव मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म पच्चीस जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने १२ देशमा विदेश विभाग गठन गरी संयोजकको समेत जिम्मेवारी दिइसकेको छ ।
