पक्राउ परेका एक प्रतिवादीको बयानका आधारमा दुई जना पक्राउ


असार १५, २०८३, सोमबार | राति ०९:१६ बजे | 90


पक्राउ परेका एक प्रतिवादीको बयानका आधारमा दुई जना पक्राउ

बनेपाबाट ६ हजार ७ सय ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ

भक्तपुर, असार १५ — लागू औषधसम्बन्धी कसुरमा पक्राउ परेका एक प्रतिवादीको बयानका आधारमा गरिएको थप अनुसन्धानका क्रममा प्रहरीले काभ्रेपलाञ्चोकको बनेपाबाट दुई जनालाई ठूलो परिमाणमा ट्रामाडोलसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार लागू औषध (ट्रामाडोल) सम्बन्धी मुद्दामा प्रतिवादी राज थापासँग सोधपुछ गर्दा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट लागू औषध खरिद गरी ल्याउने गरेको खुलेपछि प्रहरी वृत्त जगातीको टोलीले आइतबार उक्त स्थानमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–२ घर भई हाल बनेपा–८ मा बस्दै आएकी २३ वर्षीया ग्रीष्मा राई र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ स्थायी घर भई सोही स्थानमा बस्दै आएका २८ वर्षीय सहकुल बानियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको कोठाबाट ट्रामाडोल ६ हजार ७ सय क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जगातीमा राखी लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Comments