हान बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा बके
असार १५, २०८३, सोमबार | राति ०९:०६ बजे | 95
काठमाडौं : होटल संघ नेपाल (हान)ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ ।
होटल संघ नेपालको असार १४ गते सम्पन्न कार्यसमिति बैठकको निर्णयअनुसार बकेलाई सो जिम्मेवारी दिइएको हो । भक्तपुरको सूर्यविनायकस्थित रानीकोटमा रहेको भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक रहेका बकेलाई संघका अध्यक्ष विनायक शाहले मनोनयन पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
मनोनयन पत्रमा बकेको नेतृत्वमा बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरूलाई समेटेर प्रभावकारी, समावेशी र सुदृढ प्रादेशिक समिति गठन गरिने विश्वास व्यक्त गरिएको छ । नवनियुक्त अध्यक्षले संघको विधान र कार्यविधिको अधिनमा रही बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रतिनिधिहरूको सहभागितामा आवश्यक समन्वय गरी प्रदेश समिति गठन गर्नुपर्नेछ । साथै, समितिमा रहने पदाधिकारी तथा सदस्यहरूको नामावली संघको सचिवालयमा बुझाउन समेत अनुरोध गरिएको छ ।
प्रदेशस्तरमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायीहरूको पेशागत हित संरक्षण र संघको संगठनात्मक सुदृढीकरणमा बकेको सक्रिय नेतृत्व र योगदान रहने अपेक्षा होटल संघ नेपालले लिएको छ ।
