चाँगुनारायणमा गुन्जियो सय धिमे, सय नृत्य
असार १५, २०८३, सोमबार | विहान ११:४५ बजे | 60
दुई सयभन्दा बढी कलाकारको भव्य सांस्कृतिक प्रस्तुति
भक्तपुर, असार १५ । नेपालको इतिहास, संस्कृति, कला, सभ्यता र सम्पदाको अनुपम केन्द्र तथा विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायणमा आइतबार "चाँगुनारायणको जयः, हामी सबैको साझा गन्तव्य" भन्ने मूल नारासहित सामूहिक धिमे नृत्य तथा बाजा प्रस्तुति–२०८३ भव्य रूपमा सम्पन्न भएको छ।
दर्पण नेपालको आयोजनामा तथा बाला इभेन्ट्सको संयोजनमा सम्पन्न कार्यक्रममा सय धिमे, सय नृत्य र दुई सयभन्दा बढी नृत्याङ्गनाहरूको सामूहिक प्रस्तुतिले चाँगुनारायण क्षेत्रलाई सांस्कृतिक उत्सवमय बनाएको थियो। परम्परागत धिमे बाजाको गुञ्जनसँगै नेवारी सांस्कृतिक नृत्यको अनुपम दृश्यले स्थानीयवासी, आन्तरिक तथा बाह्य पर्यटकलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले विश्वसम्पदा क्षेत्र चाँगुनारायणलाई अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपालको मौलिक संस्कृति र परम्परागत धिमे बाजाजस्ता सम्पदालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो। यस्ता सांस्कृतिक अभियानले पर्यटन प्रवर्द्धनसँगै स्थानीय पहिचानलाई विश्वसामु स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
विशिष्ट अतिथि तथा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासमा निरन्तर लगानी गरिरहेको जानकारी दिनुभयो। चाँगुनारायणभित्र रहेका सम्पदाहरूलाई उत्कृष्ट धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न योजना अघि बढाइएको उहाँले बताउनुभयो।
वागमती प्रदेशका पर्यटन सचिव दीपेन्द्र सुवेदीले चाँगुनारायणजस्ता विश्वसम्पदा क्षेत्रको संरक्षणसँगै सांस्कृतिक गतिविधिको निरन्तरताले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा चाँगुनारायण नगरपालिका–४ का वडा अध्यक्ष रोजबहादुर तामाङले स्वागत मन्तव्य राख्दै स्थानीय समुदायको सक्रिय सहभागिताले मात्र सम्पदाको संरक्षण सम्भव हुने बताउनुभयो।
कार्यक्रम व्यवस्थापक विजयराम वनमालाले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै धिमे बाजा, नेवारी संस्कृति र मौलिक परम्परालाई पुस्तान्तरण गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
कार्यक्रमको सञ्चालन हरिसुन्दर छुकांले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता दर्पण नेपालका अध्यक्ष चण्डिका लामिछानेले गर्नुभएको थियो।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, विभिन्न धिमे खलः, दाफा खलः, भजन खलःका अग्रज तथा कलाकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त ऐतिहासिक कार्यक्रमलाई वागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोग तथा ताथली धिमे खलःको सहकार्य प्राप्त भएको थियो।
कार्यक्रममा खगां दाफा भजन खलः, कार्यविनायक धिमे खलः, देवी सांस्कृतिक बाजा खलः, माझी भैरव सांस्कृतिक समूह, वनदेवी बाजा खलः, चम्पक धिमे खलः, सिमल्टार बाजा खलः र निओफ्युजन बाजा खलःले बाजा प्रस्तुति दिएका थिए। त्यसैगरी चाँगुनारायण विकास समिति, देवी माध्यमिक विद्यालय, एसएस सदन सेकेण्डरी स्कुल, गणेश माध्यमिक विद्यालय तथा आरक्षण नेशनल एकेडेमी लगायतका विद्यालय तथा संस्थाहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
चाँगुनारायणको सांस्कृतिक गरिमा, सामुदायिक एकता र पर्यटन प्रवर्द्धनलाई एउटै मञ्चमा उभ्याएको यस कार्यक्रमलाई स्थानीयवासीले ऐतिहासिक तथा स्मरणीय सांस्कृतिक अभियानका रूपमा लिएका छन्।
