'द सोल अफ टिचिङ' पुस्तक लोकार्पण: बाबा सरको शैक्षिक योगदानको स्मरण
असार १५, २०८३, सोमबार | साँझ ०४:३२ बजे | 600
काठमाडौँ, असार – शिक्षा क्षेत्रमा आजीवन समर्पित, अनुकरणीय जीवनशैली र प्रेरणादायी शिक्षण पद्धतिका लागि परिचित बाबा सरको स्मृतिमा प्रकाशित पुस्तक 'द सोल अफ टिचिङ' (The Soul of Teaching) एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमको सुरुवातमा विद्यालयकी अङ्ग्रेजी शिक्षिका दीप्ती थापाले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथिहरूलाई स्वागत गर्नुका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन्।
सरस पाठशालाको प्रकाशन र इन्द्र प्रसाद खाइतूको पहलमा तयार पारिएको उक्त पुस्तकको लोकार्पण कार्यक्रम विद्या विकास विद्यालयमा सम्पन्न भएको हो। बाबा सरले दुई दशकभन्दा बढी समय अङ्ग्रेजी शिक्षकका रूपमा पुर्याएको योगदानको स्मरण गर्दै विद्यालयमा आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा बोल्दै इन्द्र प्रसाद खाइतूले बाबा सरसँग करिब २५ वर्ष सहकार्य गरेको अनुभव सुनाउँदै भने, "बाबा सरको जीवन र शिक्षण यात्राबाट म अत्यन्तै प्रेरित छु। उहाँको जीवनदर्शन र शिक्षण आदर्शलाई भावी पुस्तामाझ पुर्याउने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको हो।"
पुस्तकका सम्पादक तथा बाबा सरका सहकर्मी किरण थापाले पुस्तकमा बाबा सरको शिक्षण दर्शन, जीवन मूल्य, समर्पण र विभिन्न व्यक्तिहरूका अनुभव तथा संस्मरणहरू समेटिएको जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि सुनिल प्रजापतिले वर्तमान पुस्तालाई सिर्जनशील, आत्मनिर्भर र जिम्मेवार बनाउन बाबा सरजस्ता इमानदार र समर्पित शिक्षकहरूको आवश्यकता अझ बढी रहेको धारणा व्यक्त गरे। उनले बाबा सरको शिक्षण शैली र जीवनदृष्टि आजका शिक्षक तथा विद्यार्थीका लागि प्रेरणाको स्रोत भएको बताए। उक्त पुस्तकमा नेपालसहित फ्रान्स, इटाली, भियतनाम, जर्मनी, दक्षिण अफ्रिका, टर्की, ग्रिस र बेल्जियमका शिक्षाविद्, सामाजिक उद्यमी, विद्यार्थी, शिक्षक, पत्रकार, लेखक र प्राध्यापकहरूले आफ्ना धारणा साटासाट गरेका छन्। उनीहरूले लेखमार्फत बाबा सरको इमानदारी र समर्पणलाई उच्च कदर गरेका छन्। पुस्तकका सम्पादक किरण थापाले सहजीकरण गरेको उक्त कार्यक्रममा सहभागीहरूले पुस्तकले बाबा सरको शिक्षण यात्रा, मूल्य र आदर्शलाई भावी पुस्तामा पुर्याउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
