यस्तो बन्यो शारदा माध्यमिक बिद्यालय भबन
असार ५, २०८३, शुक्रबार | राति ०९:५४ बजे | 75
भक्तपुर । शारदा माध्यमिक विद्यालय यालाछें भक्तपुरको विद्यालय भबन निर्माण सम्पन्न गरिएको छ । निर्माण सम्भब विद्यालय भबनको शुक्रबार विद्यालयमा एक भव्य कार्यक्रम गरी उदघाटन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका केन्दिय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा भबन उदघाटन गरिएको हो ।
विद्यालय भबन परम्परागत रुपमा निर्माण गरी सम्पन्न गरिएको हो । भूकम्पबाट क्षति पुगेपछि पुनर्निर्माण गरिएको विद्यालय भबन वर्षाैपछि निर्माण सम्पन्न गरिएको हो । भबन इटा माटोको जोडाइबाट बनेको छ । यसको लागि झौखेल, फैढोका, नलिन्चोक, सिपाडोललगायतबाट माटो ल्याइएको जनाइएको छ । भबन दुई करोड ३६ लाख ६५ हजार चार सय २७ रुपैयाँं ८ पैसा रकमबाट सम्पन्न भएको जनाइएको छ ।
विद्यालय भबनको स्वरूप नेवारी कला, संस्कृति र परम्परागत वास्तुकलासँग मेल खाने गरी निर्माण गरिएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार भवन निर्माणका क्रममा पुरातात्विक महत्व, स्थानीय मौलिकता र सांस्कृतिक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिइएको थियो । भवनमा परम्परागत शैलीअनुसार इँटा, काठ तथा झ्यालढोकाको प्रयोग गरिएको छ । निर्माणका लागि प्रयोग गरिएका इँटामध्ये धेरैजसो उच्च भार क्षमता भएका इँटाको छनोट गरिएको थियो भने आवश्यक परिमाणमा नयाँ तथा पुराना काठको समेत प्रयोग गरिएको बताइएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य रोशनराज तुइतुईका अनुसार २०७२ सालको विनाशकारी भूकम्पपछि विद्यालय भवन प्रयोगविहीन बनेको थियो । त्यसपछि विद्यालय परिवार, स्थानीय बासिन्दा, अभिभावक तथा विभिन्न संघसंस्थाको सहयोगमा पुनर्निर्माण अभियान सुरु गरिएको थियो । निर्माण अवधिभर विद्यालय सञ्चालनलाई निरन्तरता दिन अस्थायी संरचनाबाट पठनपाठन सञ्चालन गरिएको प्राचार्य तुईतुईले जनाए ।
भवन निर्माणमा स्थानीय समुदायको उल्लेखनीय श्रमदान तथा सहयोग रहेको जनाइएको छ । निर्माण कार्यको विभिन्न चरणमा जनप्रतिनिधि, प्राविधिक, पुरातत्त्वविद् तथा शिक्षा क्षेत्रका व्यक्तित्वहरूले निरीक्षण गरी आवश्यक सुझाव दिएका थिए । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूको योगदानले निर्माण कार्य सफल भएको विद्यालयले जनाएको छ ।
निर्माणका लागि संघीय सांसद विकास कोष, प्रदेश सरकार, स्थानीय तह, कर्मचारी सञ्चय कोष तथा विभिन्न व्यक्ति र समूहबाट आर्थिक सहयोग प्राप्त भएको थियो । प्राप्त सहयोगबाट काठ, इँटा, माटो, सिमेन्ट, बालुवा, छड, ढलान तार, पानी, रङरोगनलगायतका सामग्री खरिद गरी भवन निर्माण सम्पन्न गरिएको विद्यालयको प्रतिवेदनमा उल्लेख छ ।
विद्यालयले निर्माण गरिएको भवन केवल शैक्षिक पूर्वाधार मात्र नभई स्थानीय संस्कृति र पहिचानको संरक्षण गर्ने सम्पदा पनि भएको जनाएको छ । परम्परागत नेवारी वास्तुकलाको झल्को दिने यस भवनले विद्यार्थीलाई आधुनिक शिक्षासँगै आफ्नै मौलिक संस्कृति र इतिहासप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ ।
स्थानीयवासीका अनुसार पछिल्लो समय कंक्रिट संरचनाको बढ्दो प्रभावबीच मौलिक शैलीमा विद्यालय भवन निर्माण हुनु भक्तपुरको सांस्कृतिक पहिचान जोगाउने महत्त्वपूर्ण प्रयास हो । यसले आगामी पुस्तालाई परम्परागत कला, संस्कृति र वास्तुकलाको महत्व बुझाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शारदा स्कुल भक्तपुरको लामो इतिहास बोकेको एउटा ऐतिहासिक स्कुल हो । यसको स्थापना २००९ सालमा भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
