बालकोट हनुमन्ते खोला किनारको सार्वजनिक जग्गा गायब पारेपछि......
असार ५, २०८३, शुक्रबार | राति ०८:०० बजे | 50
भक्तपुर । भक्तपुरको बालकोट–कौशलटार क्षेत्रमा रहेको हनुमन्ते खोला किनारको दुई कितामा कायम रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी प्लटिङ गरिएको आरोप लगाइएको छ । झण्डै ४५ रोपनी सार्वजनिक जग्गा किताकात गरी वेचविखन नै गरेको भन्दै त्यस्ता भूमाफीयालाई कारबाही गर्न माग गरिएको छ ।
स्थानीयले शुक्रबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्कामार्फत् प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयमा पठाउने गरी ज्ञापनपत्रसमेत पेश गरेका छन् । साथै यस्ता भूमाफीमाथि कारबाहीका लागि स्थानीय पुष्कर विष्टको अध्यक्षता शुक्रबार नै संघर्ष समिति पनि गठन गरिएको छ ।
स्थानीयले आफूहरुले पुस्तौपुस्तादेखि भोगचलन गरी लालपुर्जासमेत रहेको जग्गाको हालसाविक गर्न नापी र मालपोत कार्यालय पुग्दा यस्तो तथ्य फेला परेको जनाएका छन् । उनीहरुका अनुसार आफूहरुले भोगचलन गर्दै आएको जग्गा हालसाविक गर्न खोज्दा नापी र मालेपात कार्यालयले रोक लगाएका छन् । आफूहरुको जग्गा हनुमन्ते खोलाको मापदण्डमा परेको भन्दै नापी र मालेपातले जग्गा हालसाविक गर्न मानेका छैनन् । उनीहरुका अनुसार अहिले ती भूमाफीयाहरुले सार्वजनिक जग्गा निजी बनाई आफूहरुको जग्गालाई हराउने बनाउन खोजेको आरोप लगाए ।
स्थानीय एवं सघर्ष समितिका अध्यक्ष पुष्कर विष्टका अनुसार हनुमन्ते खोलाको प्राकृतिक बहाव परिवर्तन गरिएपछि खोलाले ओगटेको क्षेत्र तथा वरपरको सार्वजनिक जग्गा क्रमशः निजी प्रयोजनका लागि प्रयोग हुन थालेको थियो । खोलाको धार परिवर्तनसँगै त्यस क्षेत्रमा जग्गा विकास तथा प्लटिङ कार्य भएको दाबी उनले गरे । अहिले ती जग्गाहरु विभिन्न व्यक्तिहरुको नाममा पुगेको लालर्पुजा पनि उनले देखाए । तर उनीहरु जग्गाको भोगचलनमा नआएको स्थानीयसमेत रहेको उनले जनाए ।
उनीहरूले सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्ने सरोकारवाला सवै निकायहरू यस विषयमा मौन बसेको आरोप समेत लगाए । मध्यपुर थिमि नगरपालिका वडा नं ३, मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिका, मालपोत र नापी कार्यालय भक्तपुर सवैको मिलेमतोमा यो कार्य भएको आरोप उनीहरुको छ । यसकारण प्रमुख जिल्ला अधिकारीमार्फत् यो विषय प्रधानमन्त्रीसमक्ष पुरयाउन आफूहरुले ज्ञापनपत्र बुझाएको उनीहरुले बताए ।
स्थानीयवासीहरूका अनुसार त्यस वरपरको भौतिक विकासका क्रममा खोलाको पुरानो स्वरूपमा परिवर्तन आएको तथा सार्वजनिक क्षेत्रको उपयोगबारे प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । उनीहरूले हनुमन्ते खोलाको पुरानो बहाव, सार्वजनिक जग्गाको वास्तविक क्षेत्रफल तथा त्यस क्षेत्रमा भएका प्लटिङ गतिविधिबारे स्वतन्त्र प्राविधिक अध्ययन आवश्यक रहेको बताएका छन् ।
स्थानीय सरोकारवालाहरूले सार्वजनिक जग्गा तथा नदी–खोलाको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै हनुमन्ते खोलाको धार परिवर्तनसँग सम्बन्धित सम्पूर्ण तथ्य सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले यदि सार्वजनिक जग्गा निजीकरण गरिएको पुष्टि भए कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।
यही सार्वजनिक जग्गा खाने नियतले २०७४ सालमा हनुमन्ते खोलाको बहाब परिवर्तन गरेको स्थानीयको सम्झना छ । २०२१ सालमा भएको नापीनक्सा भन्दा अर्कै ठाउँमा रहने गरी हनुमन्ते खोलाको बहाब परिवर्तन गरेको स्थानीयहरुले बताए । फिल्डमा अहिले २०२१ सालमा हनुमन्ते खोला रहेको स्थानमा वस्ती नै छ । हनुमन्ते खोला फर्काएकै कारण पूर्ववत् सूर्यविनायक नगरपालिकाको बालकोटमा पर्ने यो क्षेत्र हाल मध्यपुर थिमि नगरपालिका वडा नं ३ मा पर्दछ ।
फाेटाेमा हेर्नुहाेस्...
