नगरकोट क्षेत्र प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था तथा सांस्कृतिक विविधताले सम्पन्न अनुपम भू–भाग


जेठ २९, २०८३, शुक्रबार | राति १०:०४ बजे | 45


नगरकोट क्षेत्र प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था तथा सांस्कृतिक विविधताले सम्पन्न अनुपम भू–भाग

नगरकोटको इतिहास, संस्कृति र सम्पदामा आधारित पुस्तक ‘नगरकोट’ विमोचन

भक्तपुर, जेठ २९ । चाँगुनारायण नगरपालिका वडा नं. ६ को पहलमा नगरकोटको इतिहास, संस्कृति, धार्मिक सम्पदा तथा पर्यटन सम्भावनालाई समेटेर तयार गरिएको ‘नगरकोट’ पुस्तक एक समारोहबीच विमोचन गरिएको छ।

पुस्तकको विमोचन वडा अध्यक्ष धनबहादुर लामा, वडा सदस्य हरिप्रसाद लामिछाने तथा शिक्षाविद् जीबी खड्काले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष लामा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने जीबी खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन वडा सचिव राजेन्द्र गणेशले गरेका थिए। पुस्तकका लेखक हरिसुन्दर छुकांले पुस्तकको उद्देश्य, तयारी प्रक्रिया तथा महत्वबारे प्रकाश पार्दै लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए।

विमोचन कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले नगरकोट क्षेत्र प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था तथा सांस्कृतिक विविधताले सम्पन्न अनुपम भू–भाग भएको बताए। उनले नगरकोटलाई केवल सूर्योदय र सूर्यास्त अवलोकन गर्ने पर्यटकीय गन्तव्यका रूपमा मात्र नभई जीवित सभ्यता, सांस्कृतिक चेतना र मौलिक पहिचानको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको उल्लेख गरे।

उनले भौतिक पूर्वाधार निर्माण मात्र नभई इतिहास, संस्कृति, धार्मिक सम्पदा, सामाजिक जीवन तथा पर्यटन सम्भावनाको संरक्षण र प्रवर्द्धनलाई समेत वडाले प्राथमिकता दिएको बताउँदै त्यसकै परिणामस्वरूप पुस्तक प्रकाशन गरिएको जानकारी दिए।

शिक्षाविद् जीबी खड्काले पुस्तकले नगरकोटलाई नयाँ ढंगले चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले चाँगुनारायण नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमका लागि समेत यो पुस्तक महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने बताए।

वडा सचिव गणेशले आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेटबाट प्रकाशित पुस्तकले ‘नगरकोट भ्रमण वर्ष २०८२’ लाई केन्द्रमा राख्दै स्थानीय इतिहास, मौखिक परम्परा तथा अमूर्त सांस्कृतिक सम्पदाको अभिलेखीकरण गरी भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रयास गरेको बताए।

लेखक हरिसुन्दर छुकांले “जहाँ प्रकृति छ, त्यहाँ संस्कृति छ, जहाँ संस्कृति छ, त्यहाँ सभ्यता छ” भन्ने भनाइ उद्धृत गर्दै पुस्तकमा चाँगुनारायण नगरपालिका तथा वडा नं. ६ को परिचयसँगै गंगादेवी मन्दिर, मुहान गणेश, जाल्पादेवी मन्दिर, शान्ति डाँडा, बुद्ध मूर्ति, ल्होडिम खास्योर छ्योर्तेन रिम्पोछे गुम्बा, महाँकाल मन्दिर, रत्नचुडेश्वर महादेव, कालिका मन्दिर, भँगेरी दरबार, नगरकोट टावर, रानीझुला, विभिन्न गुफा तथा पोखरीलगायत धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाबारे विस्तृत जानकारी समावेश गरिएको बताए।

उनका अनुसार पुस्तकमा ल्होछार, धान्य पूर्णिमा मेला, महादेव पोखरी मेला, बुद्ध जयन्तीलगायत नगरकोटका प्रमुख जात्रा, पर्व तथा सांस्कृतिक गतिविधिका साथै पर्यटकीय आकर्षण र सम्भावनाहरूलाई पनि समेटिएको छ। पुस्तकको मूल्य व्यक्तिगततर्फ ४५० रुपैयाँ तथा संस्थागततर्फ १,००० रुपैयाँ निर्धारण गरिएको छ।

छुकांले वडाभित्र रहेका मूर्त तथा अमूर्त सम्पदाको अभिलेखीकरण, किंवदन्ती, मौखिक इतिहास तथा उपलब्ध अभिलेखलाई पुस्तकमा समेटिएको जानकारी दिए।

कार्यक्रममा वक्ताहरूले नगरकोटको ऐतिहासिक तथा सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनका लागि यस्ता प्रकाशनहरू महत्वपूर्ण हुने उल्लेख गर्दै पुस्तकले अनुसन्धान, शिक्षा, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।

Comments

ताजा खबर