नेपालमा वायु प्रदूषणको मुख्य स्रोत सवारीसाधन, उद्योग र घरधुरी, सबै सचेत नबने भयावह संकट आउन सक्छ : वातावरणविद् डा गोसाईँ
जेठ २२, २०८३, शुक्रबार | विहान ०७:५७ बजे | 70
भक्तपुर । नेपालमा वायु प्रदूषणको प्रमुख स्रोत सवारीसाधन, उद्योगधन्दा र घरधुरी रहेको वातावरणविद् कमलराज डा. गोसाईँले बताएका छन्। विश्व वातावरण दिवसको अवसरमा रफत सञ्चार क्लबद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै डा. गोसाईँले हरेक व्यक्तिले आफ्नो क्षेत्रबाट वातावरण प्रदूषण न्यूनीकरणतर्फ ध्यान दिन नसके यसले भविष्यमा भयावह रूप लिन सक्ने चेतावनी दिए। उनले नेपालमा वातावरण संरक्षणसम्बन्धी सरकारी नीति सकारात्मक भए पनि प्रभावकारी कार्यान्वयनको अभावका कारण प्रदूषण नियन्त्रणमा अपेक्षित सफलता हासिल हुन नसकेको बताए। बढ्दो सहरीकरण, सवारीसाधनको संख्या वृद्धि, उद्योगबाट निस्कने धुवाँ, सडकको धुलो तथा प्लास्टिकजन्य फोहोरले वातावरणीय चुनौती थप गम्भीर बन्दै गएको उनको भनाइ छ। डा. गोसाईँले भावी पुस्ताका लागि स्वच्छ हावा, स्वच्छ पानी र सुरक्षित जमिन जोगाएर राख्नु वर्तमान पुस्ताको सबैभन्दा ठूलो दायित्व भएको उल्लेख गरे। “हामीले आगामी पुस्तालाई दिने सबैभन्दा मूल्यवान् उपहार स्वच्छ वातावरण हो,” उनले भने। वातावरण दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिए पनि त्यस्ता कार्यक्रम सञ्चालन गर्दा समेत वातावरणमैत्री अभ्यास अपनाउनुपर्नेमा उनले जोड दिए। आफूले गर्ने हरेक कामबाट वातावरणमा कस्तो प्रभाव परिरहेको छ भन्ने विषयमा सचेत बन्न सके मात्र प्रदूषण नियन्त्रणमा ठोस उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो। सबै नेपालीलाई कम्तीमा एउटा बानी सुधार्न सुझाव दिँदै उनले बजारमा अत्यधिक प्रयोग हुने प्लास्टिकका झोला प्रयोग गर्न छाड्न आग्रह गरे। प्लास्टिकको प्रयोग घटाउन सके मात्र पनि वातावरण प्रदूषण न्यूनीकरणमा उल्लेखनीय योगदान पुग्ने उनको विश्वास छ। डा. गोसाईँले विद्युतीय तथा वातावरणमैत्री सवारीसाधनको प्रयोग बढाउन, वैकल्पिक ऊर्जाको उपयोग विस्तार गर्न, कार्बनडाइअक्साइड उत्सर्जन नियन्त्रण गर्न तथा वन, पानी र जमिनको संरक्षणमा विशेष ध्यान दिन सबैलाई आग्रह गरे। उनले वातावरण संरक्षणलाई एक दिनको औपचारिक कार्यक्रमभन्दा पनि दैनिक जीवनशैलीको हिस्सा बनाउन सके मात्र स्वच्छ, स्वस्थ र दिगो भविष्य सुनिश्चित गर्न सकिने बताए।
