रास्वपा भक्तपुर जिल्ला अधिवेशनः कुनकुन पदमा कोकोबीच हुँदैछ भीडन्त ?


जेठ २१, २०८३, बिहीबार | राति ०९:४३ बजे | 380


रास्वपा भक्तपुर जिल्ला अधिवेशनः कुनकुन पदमा कोकोबीच हुँदैछ भीडन्त ?

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनलाई लिएर राजनीतिक माहोल तातेको छ । जिल्ला सभापतिदेखि विभिन्न पदाधिकारी र सदस्य पदसम्म आकांक्षीहरूको संख्या बढ्दै गएपछि अधिवेशन प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।
पार्टी स्रोतका अनुसार जिल्ला सभापति पदका लागि केही चर्चित नेताहरूबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । यद्यपि उम्मेदवारी दर्ताको अन्तिम प्रक्रिया सम्पन्न नभएकाले आधिकारिक उम्मेदवारहरूको सूची सार्वजनिक हुन बाँकी छ । सभापति पदमा आकांक्षा व्यक्त गर्ने नेताहरूले आफू पक्षका प्रतिनिधिहरूसँग छलफल तथा भेटघाटलाई तीव्रता दिएका छन् । 
सभापति पदका लागि वर्तमान सभापति रामेश्वर वस्नेतको नाम चर्चामा छ । यद्यपि उनी सर्वसम्मत होला कि प्रतिस्पर्धा त्यो भने हेर्न बाँंकी नै छ । पार्टीको जिल्ला अधिवेशन जेठ २३ गते शनिबार विहान थापा पार्टी प्यालेस सूर्यविनायक भक्तपुरमा हुँदैछ । 
उपसभापतिमा पनि वर्तमान उपसभापति स्मृति भटराईको नाम चर्चामा छ । उनी मध्यपुर थिमिबासी हुन् । यसअघिकी एमालेकोतर्फबाट सूर्यविनायक नगरपालिकाको उप्रमुखमा विजयी पूर्व उपमेयर जुना वस्नेतकी सुपुत्री भने विदेश भासिएकी छिन् । 
पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा पनि एकभन्दा बढी दाबेदार देखिएका छन् । पार्टीको सचिवका लागि राजेश शिल्पकार चर्चामा छन् । उनी पार्टीका संस्थापक हुन् । साथै संस्थापक भक्तपुर नगर सभापति हुन् । सांसद् रुकेश रञ्जित पनि सचिवमा आकांक्षा रहेको बताइएको छ । यद्यपि उनले मुख भने खोलेका छैनन् । रकेश वर्तमान पार्टी सचिव हुन् । उनी वर्तमान रहेको सचिवकै लागि राजेश शिल्पकारसँंग चुनावी मैदानमा जानु परे सचिवमा नभई सभापतिमै प्रतिस्पर्धामा जाने मनस्थितिमा रहेको बताइएको छ । रुकेशलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् अर्थात् टेलिफोन रिसिभ भएन । 
जिल्ला पार्टीका सहसचिवमा रामकृष्ण देउजाको नाम अगाछि छ । हाल पार्टीका सहसचिवमा कृष्णबहादुर तामांग रहेका छन् । 
पार्टीको विधान बमोजिम कोषाध्यक्ष भने निर्वाचित पदाधिकारीहरुबाट मनोनित गर्ने व्यवस्था रहेको छ । पार्टीको वर्तमान कोषाध्यक्षमा प्रल्हाद कार्की रहेका छन् । 
नेतृत्वमा पुग्न चाहने नेताहरूले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । अधिवेशनमा जिल्ला कार्यसमितिका सदस्य पदमा समेत उल्लेख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । नयाँ नेतृत्व चयनमार्फत पार्टीलाई थप सशक्त र सक्रिय बनाउने उद्देश्यका साथ कार्यकर्ताहरू अधिवेशनको तयारीमा जुटेका छन् ।
रास्वपा भक्तपुरका नेता तथा कार्यकर्ताहरूका अनुसार यसपटकको अधिवेशनले जिल्लामा पार्टीको भावी दिशा तय गर्ने भएकाले सबैको चासो बढेको छ । नेतृत्व चयनलाई लोकतान्त्रिक, पारदर्शी र निष्पक्ष बनाउनुपर्ने माग पनि कार्यकर्ताहरूले उठाएका छन् ।
उम्मेदवारी दर्ता र अन्तिम नामावली सार्वजनिक भएपछि कुन पदमा को–कोबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भन्ने स्पष्ट हुने भए पनि हालैदेखि विभिन्न समूहबीच समर्थन जुटाउने प्रयास तीव्र बनेको छ । त्यसैले रास्वपा भक्तपुरको जिल्ला अधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीभित्रको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ ।
अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा आगामी राजनीतिक रणनीति तय गर्ने जिम्मेवारी पाउने भएकाले कार्यकर्तादेखि आम समर्थकसम्मको ध्यान अहिले भक्तपुर जिल्ला अधिवेशनतर्फ केन्द्रित भएको छ ।
पार्टी जिल्ला समिति कुल १५ सदस्यीय हुनेछ । त्यसमा चार वटा नगरपालिकाबाट एकएकजना प्रतिनिधि रहेनेछ । त्यसकारण अधिवेशनबाट ११ सदस्यीय पदाधिकारी निर्वाचित भएर आउनेछ । 
पार्टी श्रोतका अनुसार सहमतिमा टुंगिएन भने सभापतिदेखि मुख्यमुख्य पदहरुमा चुनाव हुनेछ । 
 

Comments