जगाती चेकपोइन्टबाट कर छलीका सामान बरामद


जेठ १८, २०८३, सोमबार | राति ०७:५४ बजे | 95


जगाती चेकपोइन्टबाट कर छलीका सामान बरामद

राजस्व अनुसन्धान विभाग पठाइयो

भक्तपुर, १८ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगाती चेकपोइन्टबाट प्रहरीले भन्सार तथा कर छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार जेठ १४ गते साँझ ८:१५ बजे साँगाबाट भक्तपुरतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७१३३ नम्बरको माइक्रोबसमा कर छली गरी सामान ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा चेकजाँच गरिएको थियो। जाँचका क्रममा सामानसँग सम्बन्धित कुनै पनि बिल वा कागजात फेला नपरेपछि प्रहरीले सामान बरामद गरेको जनाएको छ।

बरामद गरिएका सामानमध्ये ४० केजी काजु, १०५ प्याकेट सुर्ती टोबाको र १०५ प्याकेट शिखर पान मसला रहेका छन्। ती सामानको अनुमानित मूल्य ८४ हजार २५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद सामानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जेठ १८ गते राजस्व अनुसन्धान विभाग पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

प्रहरीले भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि चेकजाँचलाई थप प्रभावकारी बनाउँदै जाने जनाएको छ।

Comments