प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध समाजवादी कम्युनिस्ट पार्टी नेपालको आपत्ति, राजीनामा माग


जेठ १८, २०८३, सोमबार | साँझ ०४:५२ बजे | 105


प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध समाजवादी कम्युनिस्ट पार्टी नेपालको आपत्ति, राजीनामा माग

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपाल ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ।

पार्टीका कार्यवाहक महासचिव अशोक सुवेदीद्वारा जारी प्रेस वक्तव्यमा प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन, गैरजिम्मेवार तथा कूटनीतिक मर्यादाविपरीत रहेको उल्लेख गरिएको छ। वक्तव्यमा सीमाजस्तो संवेदनशील विषयमा कुनै आधिकारिक निकायबाट सार्वजनिक नभएको धारणा प्रधानमन्त्रीबाट आउनु गम्भीर विषय भएको बताइएको छ।

पार्टीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतद्वारा हुँदै आएको अतिक्रमणबारे बोल्ने सन्दर्भमा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु आपत्तिजनक रहेको जनाएको छ। साथै उक्त अभिव्यक्ति तुरुन्त फिर्ता लिनुपर्ने र प्रधानमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिनुपर्ने माग गरिएको छ।

वक्तव्यमा राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता स्वीकार्य नहुने उल्लेख गर्दै भारतसँग भएका विभिन्न सम्झौता तथा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिविरुद्ध सम्पूर्ण नेपाली जनतालाई विरोधमा उत्रिन अपिल गरिएको छ। पार्टीले आगामी दिनमा थप संघर्षका कार्यक्रमसमेत ल्याउने चेतावनी दिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले हालै प्रतिनिधिसभामा नेपाल र भारतबीचको सीमा विवादबारे बोल्दै दुवै देशबाट सीमा अतिक्रमण भएका विषय उठाएका थिए। उक्त अभिव्यक्तिपछि विभिन्न राजनीतिक दल तथा नेताहरूले विरोध जनाएका छन् भने परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइ सीमा क्षेत्रमा देखिएका प्राविधिक तथा सीमापार भूमि प्रयोगसम्बन्धी सन्दर्भमा रहेको स्पष्ट पारेको छ।

Comments