भक्तपुरमा चार जना पक्राउ


जेठ १७, २०८३, आइतबार | साँझ ०५:१३ बजे | 185


भक्तपुरमा चार जना पक्राउ

भक्तपुर प्रहरीले विभिन्न स्थानबाट ठूलो परिमाणमा लागू औषध तथा नगदसहित चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जेठ १४ र १५ गते जिल्लाका विभिन्न स्थानमा गरिएको कारबाहीका क्रममा २ ग्राम ब्राउन सुगर, ४५ हजार ९०० ट्याबलेट विभिन्न प्रकारका औषधि तथा नगद १ लाख ५१ हजार रुपैयाँ बरामद गरिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका औषधिमा Tapentadol 100mg का ३६ हजार २०० ट्याबलेट, Tramadol 50mg का १ हजार ८०० ट्याबलेट, Antikof का ५ हजार ९०० ट्याबलेट र Spaspain का २ हजार ट्याबलेट रहेका छन्।

नियन्त्रणमा पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका–२ घर भई हाल सल्लाघारी बस्ने २६ वर्षीय दीपकराज भट्ट, जुम्ला कनकासुन्दरी गाउँपालिका–८ घर भई हाल राधेराधेमा बस्दै आएका ३४ वर्षीय धनप्रसाद भट्ट, बारा सिम्रौनगढ नगरपालिका–८ घर भई हाल कमेरोटार बस्ने १९ वर्षीय रोहित जैसवाल तथा बारा कलैया नगरपालिका–१४ घर भई हाल कमेरोटार बस्ने २१ वर्षीय दीपक यादव रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Comments