लिवाली क्षेत्रमा बच्चाहरुको सुन चोरी गर्ने दुई जना पक्राउ


बैशाख २८, २०८३, सोमबार | दिउँसो १२:०५ बजे | 145


लिवाली क्षेत्रमा बच्चाहरुको सुन चोरी गर्ने दुई जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–८ लिवाली क्षेत्रमा बच्चाहरुलाई चकलेट तथा खानेकुरा दिएर ललाई–फकाई कानमा लगाएको सुनको मुद्रा चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–३ ढुंखर्क बस्ने २४ वर्षीय लक्ष्मण भनिने सुनिल नगरकोटी र भारत पश्चिम बंगाल घर भई हाल काभ्रेपलाञ्चोक बनेपामा बस्दै आएका ३० वर्षीय सभंकर माजी रहेका छन् ।

प्रहरीका अनुसार मिति २०८३ वैशाख २७ गते साँझ करिब ६ः३० बजे लिवाली क्षेत्रमा बालबालिकालाई भेला गराई चकलेट तथा अन्य खानेकुरा दिँदै एक स्थानबाट अर्को स्थानमा लगेर कानमा लगाएको सुन चोरी गर्ने गरेको सूचनाका आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले सुनिल नगरकोटीलाई नियन्त्रणमा लिएको थियो ।

सोधपुछका क्रममा नगरकोटीले चोरी गरेको सुन सभंकर माजीलाई बिक्री गर्ने गरेको खुल्न आएपछि प्रहरीले माजीलाई समेत नियन्त्रणमा लिई चेकजाँच गर्दा १५ लाल बराबरको सुन बरामद गरेको जनाएको छ ।

दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Comments