शिक्षा रूपान्तरणको पुकार


बैशाख २४, २०८३, बिहीबार | राति ०७:२७ बजे | 45


शिक्षा रूपान्तरणको पुकार

रामकृष्ण प्रजापति
अध्यक्ष, अभिभावक संघ नेपाल, भक्तपुर जिल्ला समिति


निजि विद्यालयका ढोका अगाडि,
शुल्कका पर्खाल उभिएका छन्,
भर्ना, वार्षिक, मासिक भन्दै
अभिभावकका सपना रोइरहेका छन् ।

कापीभन्दा महँगो शिक्षा,
ज्ञानभन्दा ठूलो व्यापार,
गरिबको पढाउने चाहना
अधुरो भयो अधिकार ।

सरकार मौन बसेको छ,
ऐन किताबमै हराएको छ,
जनताको पीडा सुनिने ठाउँमा
सत्ताको कान थाकेको छ ।

शिक्षा सेवा हो, व्यापार होइन,
यो आवाज गुञ्जिरहोस् देशभरि,
बालबालिकाको भविष्य बेच्ने खेल
अब रोकिनुपर्छ सबैतिर भरि ।

नयाँ बिहानीको ढोका ढकढक्याउँदै
युवाको आवाजले राज्य हल्लायो,
कथित जेनजी आन्दोलनको हुंकारले
नयाँ बाटो खोज्न देशलाई जलायो ।

विद्यालयका आँगनमा अझै प्रश्न छन्,
किन कक्षा भरिँदैनन् सपनाका उज्याली ?
किन पढाइ आधा बाटोमै रोकिन्छ,
किन उज्यालो पुग्दैन गाउँका हरियाली ?

भर्नादर उक्लिए पनि गुणस्तर झरेको,
कापीमा अक्षर छन् तर अर्थ हराएको,
पचास प्रतिशत सिकाइले के भविष्य लेख्ला ?
जब बालमनमै आधार कमजोर बनेको ।

अब परिवर्तन कागजमा होइन, व्यवहारमा होस्,
नीतिका शब्द होइन, परिणामको आवाज होस्,
डिजिटल बाटोले शिक्षा उज्यालो पारोस्,
हरेक विद्यालयमा प्रविधिको प्रकाश होस् ।

सीपसँग जोडिएको पाठ्यक्रम बुनियोस्,
जीवनसँग मिल्ने ज्ञानको दीप बलियोस्,
कक्षा केवल किताब होइन, अनुभव बनोस्,
विद्यार्थीको सपना आफैं उज्यालो बनोस् ।

शिक्षक बनून् प्रेरणा, मार्गदर्शन सच्चा,
सिकाइ बनोस् सहयात्रा, निरन्तर र पक्का,
अनुगमन केवल औपचारिकता नहोस्,
उत्तरदायित्वले हरेक कदमलाई पक्का ।

कोही बालक नछुटोस् विद्यालयको बाटोबाट,
निःशुल्क शिक्षा नारा होइन, हक बनोस्,
आदर्श समाजको बलियो जग यही हो,
जहाँ हरेक मन उज्यालो भविष्य बनोस् ।

शिक्षा केवल पाठ होइन, परिवर्तन हो,
देश बनाउने आधार, चेतनाको आन्दोलन हो,
यदि आज हामीले सही बाटो रोज्यौं भने—
भोलिको नेपाल समृद्धिको स्वर्णिम कल्पना हो ।

उठ, अभिभावक ! समय यही बोल्छ,
शिक्षामा क्रान्ति ल्याऊ, इतिहास यही बोल्छ,
जहाँ ज्ञान बराबरीले सबैमा बग्छ—
त्यहीँबाट समृद्ध राष्ट्रको यात्रा सुरु हुन्छ ।

Comments