समीक्षाको समीक्षा
बैशाख २४, २०८३, बिहीबार | राति ०७:१८ बजे | 125
कृष्ण प्रजापति
आजभन्दा ४८ वर्षअगाडि नारायणमान बिजुक्छे रोहितले एउटा पुस्तक निकाल्नुभएको थियो ‘समीक्षाको समीक्षा’ । त्यो बेला साप्ताहिक पत्रिका ’समीक्षा’ मा लेखिएका लेख रचनाहरूको समीक्षालाई सङ्ग्रह गरी यो समीक्षात्मक पुस्तक तयार पार्नुभएको थियो । अधचालीस वर्षपछाडि आएर आज त्यसै गरी आफ्नो जीवनको समीक्षा गरिएको एक पुस्तक नै तयार भएको छ । त्यो हो ‘इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक’ ।
पुस्तक आफैँ बोल्छ कि यो समीक्षात्मक पुस्तक हो । त्यसमा पनि विभिन्न व्यक्तिले योगी, ध्यानी, साहित्यकार, वरिष्ठ अधिवक्ता डा. योगी इन्दुल केसीका विषयमा थरिथरिका धारणाहरू प्रस्तुत गरेका छन् । डा इन्दुल केसी परिचय दिइरहनुपर्ने नाम होइन । भक्तपुरवासीहरूमाझ मात्र होइन कि उहाँ आफ्नो सक्रिय जीवनशैलीका कारण व्यापक जनमानसले चिनेकै पात्र हुनुहुन्छ ।
विक्रम सम्वत् १९९८ मङ्सिर २७ गते भक्तपुरको मङ्गलाछेमा जन्मनुभएका उहाँ सफल शिक्षक, सरकारी कर्मचारी तथा विभिन्न सङ्घ– संस्थामा आबद्ध समाजसेवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । आजभन्दा ५८ वर्षअगाडि भक्तपुरबाट अत्यन्त कम मात्रै एसएलसी पास गरेका व्यक्तिहरू हुने समयमा उहाँ पनि एसएलसी पास गरी आफ्नो शैक्षिक यात्रा अगाडि बढाई समाजसेवाको थालनी गर्ने व्यक्ति बन्नुभयो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएका वरिष्ठ अधिवक्ता इन्दुल केसी तीस वर्षसम्म सरकारी सेवामा संलग्न भएका राष्ट्रसेवक कर्मचारीसमेत हुनुहुन्छ । उहाँले लामो शिक्षणसेवा, सरकारी सेवा, स्वास्थ्य उपचार सेवालगायत विभिन्न क्षेत्रका सेवाको अनुभव हासिल गर्नुभएको छ ।
आफ्नो जीवनलाई सरल र सहज बनाउने मात्रै होइन कि अप्ठ्यारो परेका अन्य व्यक्तिहरूलाई पनि विभिन्न खालका परामर्श दिएर जीवनयापन सहज बनाउने काममा पनि उहाँ अनवरत रूपमा लाग्नुभयो । उहाँ बेलायत र भारतबाट पनि शिक्षाशास्त्रमा पोस्ट ग्य्राजुएट र वैकल्पिक उपचारमा विद्यावारिधि (पीएचडी) हासिल गर्नुभएका एक सफल व्यक्तित्व हुनुहुन्छ । नेपालका साठी जिल्ला र भारतका सम्पूर्ण प्रान्तहरूको भ्रमण गरी अत्यन्तै प्रत्यक्ष रूपमा स्थानीय स्तरको ज्ञान हासिल गर्न सफल इन्दुल केसीले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्विटजरल्यान्ड, जापान, थाइल्यान्ड, हङकङ, कतार, इजरायल, ग्रीस, ताइपेई, चीनको तिब्बतजस्ता विश्वका नामुद देशहरूको भ्रमण गरिसक्नुभएको छ ।
विभिन्न सामाजिक सङ्घ संस्थाका अध्यक्ष, सल्लाहकार तथा कार्यसमिति सदस्य भएर समाजसेवामा व्यस्त रहन सक्ने थोरै व्यक्तिहरूमध्ये एक पर्नुहुन्छ इन्दुल केसी । उहाँ ‘पुनर्यौवन’ मासिक पत्रिकाका प्रधानसम्पादक तथा ‘राष्ट्रसंरक्षण’ साप्ताहिक पत्रिकाका सल्लाहकारसमेत हुनुहुन्छ । यस्ता अद्वितीय व्यक्ति डा. इन्दुल केसी उर्फ स्वामी इन्दुनाथ झा हाल भक्तपुर नासमनास्थित मुलाछेँ चोकमा आफ्नो सामान्य जीवन व्यतीत गर्दै हुनुहुन्छ । ८६ वर्षको आदरणीय उमेरमा पुगेर उहाँलाई चिन्ने– जान्ने र उहाँका बारेमा पढेलेखेका व्यक्तिहरूले उहाँका बारे केही शब्दहरू कोरेर एउटा अलग्गै पुस्तक नै तयार पारेका छन् । त्यसमा आफ्ना पनि केही रचना थपेर उहाँले १६१ पेज लामो ‘इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक’ नामक पुस्तक तयार पार्नुभएको छ । यस पुस्तकको समीक्षा गर्न बस्ता मलाई आजभन्दा ४८ वर्षअगाडि तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले समीक्षा गरी निकाल्नुभएको लेखसङ्ग्रह ‘समीक्षाको समीक्षा’ झलझल्ती याद भइरहेको छ ।
जसरी त्यो संग्रहमा ’समीक्षा’ भन्ने पत्रिकामा छापिएका लेखहरूलाई राम्रा र नराम्रो कोट्याएर रोहितले ’समीक्षाको समीक्षा’ नामक नयाँ पुस्तक तयार पार्नुभयो, अहिले विभिन्न क्षेत्र, तह र तप्काका तीसजना लेखक–साहित्यकारहरूले डा. इन्दुल केसीका विषयमा लेखेका लेख–रचनाहरू र धारणाबारे केही लेख्न बस्ता समीक्षाको पनि समीक्षा गर्नुपरेको बेलाकै झझल्को आइरहेको छ । त्यसै पनि यो पुस्तक एउटा व्यक्तिप्रतिको एक समीक्षा पुस्तक हो । अब त्यही समीक्षाको पनि केही शब्दद्वारा समीक्षात्मक टिप्पणी गर्न बसेको छु । पुस्तकको कभर पेजमा १९ वटा फल फलेको एक बुढो रूखको फेद देखाइएको छ । त्यसमा ठीक १९ वटा नै हरिया पात पनि देखाइएका छन् । त्यसैले पनि ८६ वर्षको उमेरमा पनि १९ वर्षको लक्का जवान र फल दिन सक्ने व्यक्तित्वका रूपमा इन्दुल केसीलाई प्रस्तुत गरेको भान पर्दछ । हुन पनि उहाँको हिँडाइ, कुदाइ र सक्रियता हेर्दा कुनै पनि १८ – १९ वर्षको लक्का जवानले भेट्टाउन सक्ने खालको भने छैन ।
१९ वटा फलजस्तो देखिने ती गोलागोला चीजलाई नियालेर हेर्दा त्यो त मानवीय दृष्टिकोण दिने आँखा पो रहेछ भन्नेसम्म अड्कल गर्न सकिन्छ । झट्ट हेर्दा बुढो रूखको फेदले केही दिन नसकेजस्तो लागे पनि त्यो फेदले सारा विश्वब्रह्माण्डको निरीक्षण गरिरहेको हुन्छ भन्ने सम्भाव्य कुरालाई आवरणकला डिजाइन गर्ने सृजना केसी पौडेलले बडो मिहिनेत गरी प्रस्तुत गर्न खोजेको देखिन्छ । हजार प्रति छापिएको सो पुस्तकको मूल्य ५०० राखिनु उचित देखिन्छ । अन्तर्राष्ट्रिय पुस्तक सूची नम्बरमा अङ्ग्रेजी अल्फाबेट नै प्रयोग गरी पुस्तकको मुद्रणकार्य गृष्मा ग्राफिक प्रेस बागबजारले गरेको देखिन्छ । पुण्यवती बलामीको कम्प्युटर लेआउट हेर्दा अत्यन्तै आकर्षक देखिन्छ । प्रकाशित मिति २०७४ राखी छापिएको भए पनि लेखरचनाहरू पढ्दै जाँदा अलि अगाडि नै तयार भएका लेख देखिन्छन् ।
जीवनी तथा व्यक्तित्व परिचयका रूपमा रहेको यो पुस्तक आफैँ पनि व्यक्तिप्रति समीक्षा गरेको पुस्तक भएकाले अन्य लेखहरूलाई कोट्याएर पुनः समीक्षात्मक रचना तयार पार्नु धृष्टता नै हो भन्दा फरक नपर्ला । श्रीमती सावित्री केसी (राणा) प्रकाशक बनेर प्रकाशनमा ल्याएको हो । यस्ता पुस्तकले व्यक्तित्वको उच्च मूल्याङ्कन हुने मात्रै होइन, यसको अध्ययनबाट पाठकहरूले आफ्नो पनि त्यसैअनुरूपको पुस्तक तयार पार्न हौसला प्रदान गर्ने देखिन्छ । यो पुस्तक वितरण र प्रचारप्रसारका लागि श्रीमती रजनी केसी (मानन्धर) लाई सम्पर्क व्यक्तिका रूपमा किटान गरिएको भए पनि पुस्तकमा शताब्दीपुरुष सत्यमोहन जोशीले डा. इन्दुल केसीजस्ता उच्च व्यक्तित्वका लागि रचना गरेको कवितालाई प्राथमिकतासाथ अग्ररचनाका रूपमा राखी सो रचनाको नाम ने ‘दुई थुंगा फूल’ भनी राखेबाट पनि पुस्तकको मानमर्यादा अत्यन्त उच्च रहेको पाइन्छ । संस्कृतिविद् सत्यमोहन जोशीले ‘मेरो नजरमा डा. इन्दुल केसी’ भनी ‘दुई थुंगा फूल’ शीर्षकको कवितामा इन्दुल केसीलाई विविध भाषाका ज्ञाता र मातृभाषाका पुजारी भनी प्रशंसा गरेका छन् ।
प्रशंसा गर्न योग्य व्यक्तिको प्रशंसा गर्ने काम उचित नै मानिन्छ । तर बनावटी रूपमा कसैलाई उचाल्नु, प्रशंसा गर्नु त भाते लेखकहरूको काम नै हुन जान्छ । विद्वान् लेखक इन्दुल केसी समाजमा स्वच्छ छवि भएका एक असल व्यक्ति हुनुहुन्छ । त्यसैले पनि ‘राष्ट्रसंरक्षण’ साप्ताहिक वर्ष ९ अङ्ग २६ मा सत्यमोहन जोशीले डा. इन्दुल केसीलाई बहुप्रतिभाका धनी र सच्चा समाजसेवी भनी सह्राहना गर्नुभएको छ । सत्यमोहन जोशीले लेख्नुभएअनुसार व्यक्ति एक प्रतिभा अनेक भएका एक अनन्य भक्त साधकका रूपमा सबैले डा. इन्दुल केसीलाई मान्दै आइरहेका छन् । डा. इन्दुल केसी आफैँले रचना गर्नुभएका एक दर्जन कविता, गीत र लेखहरूमार्फत पनि उनी कस्ता लेखक र कुन दर्जाका साहित्यकार हुन् भन्ने कुरा स्पष्ट गरेको छ । आफ्नै मनको धारणाका रूपमा अन्तिम रचना ‘नुगः खँ’ मा उल्लेख भए उहाँ विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीका एक होनहार भाषिक कार्यकर्ता पनि हुनुहुन्छ, जसबाट उहाँले धेरै रचना प्रस्तुत गर्ने र सिक्ने पनि अवसर पाउनुभयो । आज यो रचना तयार पार्दासम्म मैले उहीँ विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीले नेपाल भाषाको प्रचारप्रसारका लागि ठाउँठाउँमा पुगेबापत र पत्रकारिता क्षेत्रमार्फत भाषासेवामा रही काम गरेबापत मलाई विराट सम्मान चढाएको कुरालाई सम्झिरहेको छु ।
चुनावी भैलो, व्यापारी, पशुपति आर्यघाटमा उठेका प्रश्न, सम्पत्ति विवरण जस्ता रचनाहरूले पनि आफूलाई आफैँ चिन्ने र अरूलाई चिनाउने काममा इन्दुल केसीको प्रयास जारी रहेको पाइन्छ । योगका विविध आयामबारे उहाँको विशेष अध्ययन नै रहेको पाइन्छ । पुस्तकमा समीक्षा गरिएका ती कुराहरू अत्यन्तै सरल र मननयोग्य छन् । वाराहीपीठ विकास समितिमा लामो समयसम्म रही पीठ विकास समिति र भक्तपुरको सङ्क्षिप्त इतिहास नै तयार पारी उहाँले आफ्नो सफल कार्यकालको परिचय तयार पार्नुभएको छ । ‘शारदा’ पत्रिकाबाट साभार लिएर ‘इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक’ पुस्तकमा हुबहु छापिएको रचनाले पाठकलाई २०७२ सालको वैशाख १२ गते आएको भूकम्पको इत्तिवृत्तान्त अरूलाई सुनाउन हतार गराउँछ । यो पुस्तकमा उल्लेख गरिएका डा. इन्दुल केसीका रचनाहरूको माझमा उहाँकै छोरी श्रीमती रजनी केसीले उल्लेख गर्नुभएको ‘मेरा बुबा डा. इन्दुल केसी’ पनि पाठक वर्गलाई उहाँका बारे थप समीक्षा गर्न काफी गराउँदछ । त्यसमा पनि पृष्ठ ९८ मा उल्लेख गरिएको विस्तृत रूपको जन्मकुण्डलीको कुरा र पेज ९७ मा उल्लेख गरिएको वंशावलीले डा. इन्दुल केसी को हुन् र कस्तो परिवेशबाट आएका व्यक्तित्व हुन् भन्ने कुरा स्पष्ट देखिन्छ । वास्तवमा उनी मैथिली समुदायका भा बाहुन परिवारबाट आएका व्यक्ति पो रहेछन् भन्ने कुरा यस वंशावली तालिकाले स्पष्ट देखाउँछ । नवौँ पुस्तासम्मको वंशावलीमा डा. इन्दुल केसी सातौँ पुस्तामा देखापर्दछन् । यसबाट पनि उपत्यकाका मैथिल ब्राह्मणहरूको पङ्क्तिमा डा. इन्दुल केसी यहाँ बसेर नेवार हुन पुगेका वा भाषाको हिसाबले मात्रै नेवारी समुदायको सदस्य हुन पुगेका मिथिलाञ्चलकै सदस्य हो भन्ने स्पष्ट देखाउँछ ।
सङ्गीतमय आध्यात्मिक भक्तिसंसार, मेरो जीवनको एक दिन, महाभूकम्पको अनुभव, मेरो यस धरामा प्रवेश जस्ता उहाँका आत्मपरक लेखले पनि इन्दुल केसी नभएको भए यो सहर कस्तो हुन्थ्यो होला भनी सोच्न बाध्य पार्दछ । वास्तवमा संसारलाई उज्यालो छर्नेहरू जताबाट पनि जहिले पनि उपस्थित भइरहन्छन् भन्ने कुरा त्रेतायुगदेखि नै देखापरेकै हो । आधुनिक युगमा पनि यस्ता व्यक्तिहरूको कमी नभएका कारण त्यो बेला भगवान् कृष्णले सही नै वाणी प्रस्फुटन गरी जानुभएको भाव हुन्छ । जब– जब संसारमा अन्याय–अत्याचार बढ्छ, त्यो बेला म जन्म लिनेछु भनी भन्नुभएको कुरा आज सिद्ध हुने गरेको छ । यस्तो अवस्थामा ‘मेरा सहयात्री डा. इन्दुल केसी’ भनी त्रिफला राष्ट्रिय पुस्तकालय झापाका केन्द्रीय अध्यक्ष प्रेमप्रकाश फलाहारो बाबाले आफ्नो रचना तयार पारी समर्पण गर्नु, बहुआयामिक व्यक्तित्व डा. इन्दुल केसी भनी धुलाबाली झापाकै विनोद खनालले आफ्नो रचना तयार पारिदिनुका साथै दौडेर नथाक्ने इन्दुल भनी उहाँको सही मूल्याङ्कन गरी आफ्नो रचना तयार पारी उहाँलाई थप हौसला प्रदान गर्ने नेपालका विख्यात सीमाविद् तथा मदन पुरस्कारविजेता बुद्धिनारायण श्रेष्ठले लेख्नुभएको रचना पढ्दा निरन्तर लाग्ने व्यक्ति जहिले पनि सफल नै हुने गर्दछ भन्न बाध्य हुन जान्छ ।
भरत जङ्गम, महेन्द्रगोपाल कर्माचार्य, राजुमृगेन्द्र जोशी जस्ता विद्वान् लेखक तथा साहित्यकारहरूले उहाँका बारे लेख्नुभएको पाठ पढदै जाँदा दोहो¥याउन कर लाग्दछ । विश्वशान्ति ध्यान केन्द्रका महासचिव रामप्रसाद शर्मा, पाशुपत योगका संस्थापक अध्यक्ष महात्मा सुशीलदेखि कथावाचक, साहित्यकार तथा कलाकार पण्डित हृदयप्रसाद मिश्रले ‘डा. इन्दुल व्यक्ति एक रूप अनेक’ भनी गर्नुभएको मूल्याङ्कन सबै उहाँको जीवन समीक्षा नै लाग्दछ । साथै त्यहीँ हृदयप्रसाद मिश्रले रचना गर्नुभएको रचनालाई नै मिलाएर शीर्षक दिएर यो पुस्तक तयार पारेको जस्तो देखिन्छ । भजनका रचयिता प्रेमकृष्ण ताम्राकार, पर्यटन बोर्डका प्रचण्डमान श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, साहित्यकार परशु प्रधान, स्वामी धर्म महारस, वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले गर्नुभएका विश्लेषणहरू पठनयोग्य छन् । साथीका नाताले चन्द्रमान प्रधान, प्रा. श्रीराम आचार्य, टीकाराम अर्याल, टीका ढुङ्गेल र भक्तपुर विकास सहयोग सङ्घमा लामो समय अध्यक्ष रहनुभएका कृष्णलाल प्रधानले गर्नुभएका टिप्पणीहरू पनि सह्राहनीय नै छन् । यस्ता एक सफल व्यक्तिका बारे आचार्य ओशो पथिक, युवा संस्कृतिविद् ओम धौभडेल, केबी सम्राट, स्वामी कल्याणमित्र र केशवराज राजभण्डारीले गर्नुभएका समीक्षात्मक टिप्पणीलाई यहाँ पुनः कोट्याइरहनु उपयुक्त देखिन्न । आफ्ना स्वर्गीय पिता केदारनाथ झा र ममतामयी माता स्वर्गीय शेरकुमारी (कान्छी) झा केसीप्रति समर्पण गरिएको यस पुस्तकमा जति पनि उल्लिखित कुराहरू छन्, यसले भक्तपुरभित्रको एक उच्च दर्जाको व्यक्तिका रूपमा डा. इन्दुल केसीलाई चिन्न बाध्य गराएको छ ।
