सम्पादकीय संकलन र एकक्षण नामक दुई पुस्तक बजारमा
बैशाख १९, २०८३, शनिबार | साँझ ०६:५६ बजे | 110
भक्तपुर । भक्तपुरबाट प्रकाशित भइरहेको श्रमिक साप्ताहिक पत्रिकाका सम्पादकीयहरुको संकलन गरिएको सम्पादकीय संकलन (तेश्रो खण्ड) र एकक्षण (समसामयिक टिप्पणी संकलन) नामक दुई वटा पुस्तकको शनिबार भक्तपुरमा सार्वजनिक गरिएको छ । श्रमिक साप्ताहिक (वर्ष २९, २०७८ माघदेखि वर्ष ३०, २०८० माघसम्म) प्रकाशित सम्पादकीयहरुको संकलन र सोही पत्रिकाको अन्तिम पृष्ठमा प्रकाशित एकक्षण स्तम्भमा प्रकाशित हुने विचारहरुको संकलन गरी दुई वटा पुस्तक विमोचन गरिएका हुन् । पहिलो पुस्तकको मूल्य ४ सय र दोश्रोको ३ सय राखिएको छ । पहिलो पुस्तक ३०२ पृष्ठको छ भने दोश्रो पुस्तक १६० पृष्ठको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छँेले मिडियाले जहिले पनि प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले सरकारले गर्ने हरेक कामलाई हेरेर त्यसमा भएका कमीकमजोरीहरुलाई मिडियाले औंल्याउनुपर्नेमा विशेष जोड दिए ।
विजुक्छेंले वर्तमान समयमा आलोचनात्मक दृष्टिकोण राख्ने घटदै गएको भन्दै चिन्ता व्यक्त गरे । त्यसकारण युवाहरुमा आलोचनात्मक दृष्टिकोणको भाबना वढाउनुपर्ने खाँंचो उनले औल्याए । सरकारका हरेक गल्ती कमजोरीहरुलाई युवाहरुले औंला ठड्याउनुपर्ने आवश्यकता पनि उनले औंल्याए ।
फरक प्रसंगमा उनले आफनो पार्टी अन्तर्राष्टियवादी पार्टी भएको दावी गरे । त्यसकारण पार्टीका प्रकाशनहरुले पनि अन्तर्राष्टिय विषयमा विशेष जोड दिने गरेको उनले बताए । त्यसकारण भक्तपुरबाट प्रकाशित हुने भए पनि पार्टीको प्रकाशनहरुमा अन्तराष्टिय मुद्धाहरुले विशेष प्राथमिकता पाउने गर्दै आएको उनले जनाए ।
कार्यक्रममा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले भक्तपुरले देशलाई नै दिशा दिइरहेको बताए । पार्टीहरु विचार र सिद्धान्तमा अडिग रहेर देशको भविष्यप्रति चिन्ता गर्दै दिशानिर्देश गर्नेहरुको समूह हुने भन्दै नेपाल मजदुर किसान पार्टीले त्यो काम गरिरहेको उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैंजू, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, श्रमिक साप्ताहिकका सम्पादक अनुराधा थापामगर, भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छें, श्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशी, ख्वप कलेज अफ ल की प्रिन्सिपल अनिता जधारीलगायतले प्रकाशित पुस्तकका विविध पक्षहरुबो चर्चा गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
